गुजरात– भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले लोकसभा निर्वाचनको नतिजालाई 'हिन्दूस्तानको राजनीतिक जीवनकै महत्त्वपूर्ण घटना' भनेका छन्।
चुनावमा पार्टीको अभूतपूर्व सफलतापछि गुजरातको बडोदरामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले 'राम्रा दिन आएको' बताए।
मोदीकाे सम्बोधनका अंश –
देशभरका टेलिभिजन तथा सञ्चारकर्मीहरू आज बिहानैदेखि मैले केही बोलोस् भन्ने चाहन्थे। तर केही बोलें भने बडोदरा गएर नै बोल्नेछु भन्ने मलाई लागेको थियो। बडोदराकै समर्थकहरू यसको पहिलो हकदार हुन्।
तपाईंहरु भन्नुहोस्– आजको दिन कस्तो लाग्यो? राम्रो दिन आयो। तपाईंहरु सबैलाई धन्यवाद दिन म यहाँ आएको हुँ।
यो चुनावमा दुई ठूलो कुरा भए। मनोनयन दर्ता गरेपछि मैले बडोदराका लागि मुस्किलले ५० मिनेट समय दिन सकेँ र तपाईंहरुले मलाई पाँच लाख ७० हजार मत दिनुभयो। म यहाँका जनतालाई शिर झुकाएर नमन गर्दछु– तपाईंहरुले जुन प्रेम दिनुभयो र प्रत्येकले स्वयं नरेन्द्र मोदी बनेर काम गर्नुभयो।
दोस्रो कुरा, सायद हिन्दूस्तानको इतिहासमै पहिलोपटक कुनै पनि उम्मेदवारले आफ्ना मतदातासँग संवाद गर्ने अवसर नपाएको होस्। बनारसले मोदीको मौनमाथि मोहर लगायो। बनारसमा एक उम्मेदवारको नाताले मैले कुरा राख्ने सौभाग्य पाइनँ। यसका बाबजुद मोदीको मौनलाई बनारसबासीले जुन ढंगले मोहर लगाए, यो दुई घटना हिन्दूस्तानको राजनीतिक जीवनका महत्त्वपूर्ण घटना हुन्।
एक नागरिकका नाताले म बडोदराका भिन्नभिन्न संगठनलाई बधाइ दिन्छु। देशको निष्पक्ष सञ्चारमाध्यम, चुनाव आयोग र निष्पक्ष गैरसरकारी संस्थाहरुको अभिनन्दन गर्दछु। मतदातामा जागरणको जुन काम यहाँ भए, यसले पूरै हिन्दूस्तानलाई दिशानिर्देश गर्नेछ।
यो चुनावमा गुजरातले अभुतपूर्व कीर्तिमान बनाएको छ– २६ सिटमा २६ सिट। यसअघि हामीले यही कुरा भन्दा हाम्रो खिल्ली उडाइन्थ्यो। म गुजरातका जनताप्रति आभार व्यक्त गर्दछु, उहाँहरुले २६ मा २६ सिट दिएर भाजपाको समर्थनमा ६० प्रतिशत मतदान गरे। यो हिन्दूस्तानको लोकतन्त्रको कोसेढुंगा हो।
अहिलेसम्म लोकसभाका लागि जति पनि चुनाव भएका छन्, पाँच लाख ७० हजारको कीर्तिमान कसैले बनाएको छैन। जितको अन्तर पाँच लाखभन्दा बढी दिएर बडोदराले इतिहासमा आफ्नो नाम लेखाएको छ। यो कीर्तिमानका लागि बडोदराका दाजुभाइ तथा दिदीबहिनीहरुलाई बधाइ दिन्छु। अभिनन्दन गर्दछु।
हिन्दूस्तानको स्वतन्त्रताका लागि मर्ने–बाँच्ने अवसर नमिले पनि स्वराजका लागि बाँच्ने सौभाग्य अवश्य पाइएको छ। देशका लागि जीवन उत्सर्ग गर्ने सभौग्य नपाए पनि देशका लागि बाँच्ने अवसर मिलेको छ। आज देशका लागि मर्ने समय होइन, बाँच्ने समय हो। यदि सवा सय करोड नागरिकले देशका लागि बाँच्न संकल्प गर्छन्, एक एक कदम मात्रै अगाडि बढ्छन् भने देश सवा सय करोड अगाडि बढ्नेछ। यो जनशक्तिको विश्वासबाट नै भारतको भविष्य निर्माण हुनेछ।
ममाथि तपाईंहरुको विश्वास छ। मेरो विश्वास तपाईंहरुमाथि छ। यो विश्वासले भारतका सामान्य मानिसको सपना पूरा गर्ने सामार्थ राख्दछ। हामीले यसैको आधारमा अगाडि बढ्नुछ।
देशका जनताले आज तेहेरो शतक लगाएका छन्। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई जनताले तीन सयभन्दा बढी सिट दिएका छन्। जनताप्रति म असाध्यै आभारी छु।
म सधैं भन्ने गर्छु– सरकार कुनै दलको हुँदैन। सरकार देशको हुन्छ। सरकार सवा सय करोड नागरिकको हुन्छ। सरकारका लागि न कोही आफ्नो हुन्छ, न कोही पराई। सवा सय करोड देशबासीहरु हाम्रा आफ्ना हुन्। उनीहरुकै कल्याण, सुख र उनीहरुकै जीवनमा परिवर्तन ल्याउनु सरकारको प्राथमिकता हुनेछ। सरकार कुनै एक भूभागको हुँदैन। सरकार हिमाचलदेखि लिएर कन्याकुमारीसम्म कच्छदेखि पूरा हिन्दूस्तानको हुन्छ।
चुनावको सरगर्मी सकिइसकेको छ। जनताले आफ्नो फैसला दिएका छन्। यो जनमतले भनेको छ– हामीले देशलाई अगाडि लैजानुछ। सवा सय करोड जनताको सपना पूरा गर्नका लागि परिश्रमको पराकाष्ठामा पुग्नु जरुरी छ।
म तपाईंहरुलाई एउटा प्रश्न गर्छु– परिश्रम गर्ने मेरो जुन क्षमता छ, प्रतिबद्धता छ, पराकाष्ठा छ, यसमा कसैलाई कुनै शंका छ ? म त मजदुर नम्बर एक हुँ। आगामी ६० महिनामा यो देशलाई मजस्तो मजदुर उपलब्ध हुनेछैन।
मैले चुनावी अभियानमा मजदुर कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेँ। यो बेग्लै कुरा हो कि मेरा विपक्षीहरूले यसमा पनि अौला उठाए। मेरा कट्टरविरोधी सञ्चारकर्मीले पनि यसबारे प्रश्न उठाउँदैनन्। उनीहरू मान्दछन्– म असाध्यै कडा मेहनत गर्ने मान्छे हुँ। तपाईंहरुले मलाई चारपटक मुख्यमन्त्रीको हैसियतमा जिम्मेवारी दिनुभयो। मैले एक दिन पनि छुट्टी लिइनँ। किनभने म मान्दछु तपाईंहरुले मलाई जुन जिम्मेवारी दिनुभएको छ, त्यसलाई पूरा गर्न मेरो शरीरका प्रत्येक कण, समयका प्रत्येक क्षण सवा सय करोड देशबासीमा समर्पित छ।
यसकारण म तपाईंहरुलाई विश्वास दिलाउँछु, देशवासीलाई विश्वास दिलाउँछु– हामीले जुन 'स्प्रिट'लाई बाँचेर देखाएका छन्, त्यसलाई लागू गर्नेछौं। हाम्रो नारा छ– सबैको साथ, सबैको विश्वास। यी कोरा शब्द मात्र होइनन्, हाम्रो आत्मा हो। हाम्रो काम संस्कृतिको डिएनए हो।
यो चुनाव अनेक कारणले महत्त्वपूर्ण छ। देश स्वतन्त्र भएपछि धेरैजसो कांग्रेस पार्टीको सरकार बन्यो। जहिले गैरकांग्रेसी सरकार आयो, एकप्रकारले गठबन्धन सरकार नै बन्यो। हिन्दूस्तानको इतिहासमा शुद्धरुपले गैरकांग्रेसी सरकार पहिलोपटक बन्दैछ। अहिलेसम्म देशको चुनावको नेतृत्व तिनीहरुसँग थियो, जो स्वतन्त्र भारतमा जन्मिएका थिएनन्।
यो पहिलो चुनाव हो, जसको नेतृत्व भारत स्वतन्त्रता भएपछि जन्मिएका व्यक्तिको हातमा थियो। चाहे कांग्रेस होस् या भाजपा। अब देश स्वतन्त्र भारतमा जन्मिएका व्यक्तिको नेतृत्वमा चल्नेछ।
प्रकाशित: २ जेष्ठ २०७१ ०८:०६ शुक्रबार





