हिनामिना मुद्दामा दोषी ठहरिए जियालाई आजीवन कारावाससम्म सजाय हुनसक्छ। दुईपल्ट प्रधानमन्त्री भइसकेकी जियाले सुनुवाइ रोक्न गरेको आग्रह उच्च अदालतले अस्वीकार गरेको छ। उनले ६ लाख ५० हजार अमेरिकी डलर हिनामिना गरेको भन्दै उनीविरद्ध मुद्दा दायर भएको थियो। मुद्दाको सुनुवाइ सोमबार हुने अनुमान छ।
उपमहान्यायाधीवक्ता मोहमद सलिमका अनुसार जियाले गरेका दुवै पुनरावेदन खारेज भएका र उनीविरुद्ध दुई मुद्दामा सुनुवाइ अघि बढाउन अदालतले आदेश दिएको बताए। दुई न्यायाधीशको इजलासले जियामाथि लगाइएको अभियोगमा सुनुवाइ अघि बढाउने निर्णय गरेको छ। मुद्दाको सुनुवाइ राजधानी ढाकास्थित भ्रष्टाचारविरोधी विशेष अदालतमा हुनेछ।
जियाका वकिलहरूले यी अभियोग राजनीतिक रूपमा अभिप्रेरित भएको र बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लाई नष्ट गर्न लक्षित रहेको आरोप लगाएका छन्। बीएनपीले प्रतिद्वन्द्वी प्रधानमन्त्री सेख हसिनाको सरकारलाई पतन गराउने दृढता व्यक्त गरेको छ।
प्रधानमन्त्री हसिना पुनः निर्वाचित भएको दुई सातामा जियामाथि अभियोग लगाइएको हो। जनवरी ५ मा भएको आमनिर्वाचनलाई बीएनपी तथा उसका १८ सहयोगी दलले बहिष्कार गरेका थिए।
जियाका वकिल सानाउल्लाह मियाले यस विषयमा सर्वोच्च अदालतमा पुनरावेदन दिइने बताउनुभयो। यो सुनुवाई रोक्ने अन्तिम उपाय हो। उहाँले सरकारले जियालाई कारागारमा राख्ने स्पष्ट भएको र आफूहरूले अब कुनै पनि अदालतबाट न्याय पाउन नसक्ने पनि दाबी गर्नुभयो।
सरकारी वकिलहरूले जिया तथा अन्य तीन व्यक्तिले उहाँका स्वर्गीय पति जियाउर रहमानको नाममा स्थापना भएको लोककल्याणकारी संस्थाबाट तीन करोड १५ लाख टाका लिएको आरोप लगाएका छन्। पूर्व राष्ट्रपति जियाउर रहमानको सन् १९८१ मा हत्या भएको थियो।
उहाँ, उहाँका जेठा छोरा तारिक रहमानसहितको पाँच व्यक्तिले उहाँको पतिको स्मृतिमा स्थापना हुने अनाथालयका लागि छुट्याएको दुई करोड १५ लाख टाका पनि हिनामिना गरेको आरोप लगाइएको छ।
प्रकाशित: १० वैशाख २०७१ २२:०४ बुधबार





