बोस्टन म्याराथनको बेवसाइडमा उल्लेख भएअनुसार सोमबार सम्पन्न ११८औं संस्करणको म्याराथन स्वरुपाले ३ घन्टा ४ मिनेट ०५ सेकेन्डमा पार गरिन। म्याराथन पूरा गर्नेमध्ये समग्रमा ३ हजार ५५औं स्थानमा आएकी स्वरुपा महिलातर्फ १ सय ९३औं स्थानमा रहिन्।
१६ वर्षदेखि अमेरिकामा रहेकी ३६ वर्षीया स्वरुपाले गत वर्ष यसै म्याराथन ३ घन्टा ०५ मिनेट ०५ सेकेन्डमा पूरा गरेकी थिइन्। उनले गत कात्तिकमा सिकागो म्याराथनबाट सात वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। त्यति बेला उनले २ घन्टा ५७ मिनेट १० सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
काठमाडौंको चाबहिल मैंजुबहालमा जन्मेकी स्वरुपाको सेन्ट मेरिज पढ्दादेखि एथलेटिक्ससँग नाता जोडिएको थियो। स्कुले जीवनमा १ सय, २ सय, ४ सय र १ सय मिटर हर्डल्स उनको रुचिको इभेन्ट हुन्थे। १९९५ एसएलसीपछि उनले सेन्ट जेभियर्सबाट आइएस्सी गरिन्। आइएस्सी सकेलगत्तै उनी १९९७ मा उच्चशिक्षाका लागि अमेरिका पुगेकी हुन्।
२ घन्टा १८ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै केन्याकी रिता जेप्टुले बोस्टन म्याराथन जितिन्। उनको यो समय कोर्स कीर्तिमान हो। पुरुषतर्फ अमेरिकाका मेब केफ्लीजिही (२ घन्टा ८ मिनेट ३७ सेकेन्ड) विजयी भए। १९८३ यता मेब बोस्टन म्याराथन जित्ने पहिलो अमेरिकी हुन्।
प्रकाशित: ९ वैशाख २०७१ २०:२९ मंगलबार





