५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

थाइल्यान्डका नेपाली कैदीलाई भाषा समस्या

काठमाडौं-थाइल्यान्डका जेलमा रहेका नेपाली नागरिकले बाँकी सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन अनुरोध गरेका छन्।नेपाली कैदीको अवस्था बुझ्न जेलमा पुगेका नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएन) र थाइल्यान्डका प्रतिनिधिसँग उनीहरूले भाषा नबुझ्दा दैनिक जीवन कठिन भएको गुनासो गरे। एनआरएन थाइल्यान्डले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली कैदीले सजाय आममाफीका लागि दूतावासमार्फत पहल गरिदिन पनि अनुरोध गरेका थिए। 
नेपाली कैदीको अवस्था बुझ्न थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्याल र एनआरएन थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकाललगायतको टोली विभिन्न जेलमा पुगेको थियो। 
दूतावासबाहेक नेपाली सघसंस्थाका व्यक्तिलाई थाइल्यान्डस्थित नेपाली कैदी भेट्ने अनुमति मिलेको यो पहिलोपटक हो। टोलीले नेपाली क्यालेन्डर, नेपाली–अंग्रेजी डिक्सनरी, केही ज्ञानवर्द्धक नेपाली पुस्तक र नेपालीमा उल्था गरिएको जेल निर्देशिकालगायत सामग्री कैदीलाई हस्तान्तरण गरेको थियो। 
टोलीले बांग क्वांग केन्द्रीय जेल र केन्द्रीय महिला जेलमा रहेका नेपालीलाई भेटेको थियो। बांग क्वांग केन्द्रीय जेलमा हाल २१ जना नेपाली पुरुष र केन्द्रीय महिला जेलमा ९ नेपाली महिलाले बन्दी जीवन बिताइरहेका छन्। एनआरएन थाइल्यान्डका अनुसार हाल बोम्बाट जेल, क्लोंग प्रेम जेल र च्यान्ग्राईमा समेत गरेर ७० जना नेपाली छन्।
टोलीले केन्द्रिय महिला जेलका निर्देशक सिरिपकन चुटिगुलाङसँग पनि भेट गरी नेपालीलाई भाषालगायतका केही समस्या रहेको जानकारी दिँदै आवश्यक सहयोग गरिदिन आग्रह गरेको थियो। 
थाई सरकारले हालसम्म विभिन्न २४ राष्ट्रसँग कैदीसँग सम्बन्धित देशमा हस्तान्तरण गर्ने सन्धि गरेको छ। नेपाल भने यो सूचीमा छैन। दुई देशबीच कैदी आदनप्रदान गर्ने सुपुर्दगी सन्धि नहुँदा नेपालीले थाइल्यान्डमै बन्दी जीवन बिताउन बाध्य भएको एनआरएन थाइल्यान्डले जनाएको छ। ‘सुपर्दगी सन्धि गर्न अत्यन्त जरुरी छ। सरकारले यथाशीघ्र पहल गर्नुपर्छ,' विज्ञप्तिमा अध्यक्ष ढकालले भनेका छन्। ढकालका अनुसार एनआरएन थाइल्यान्डले दूतावाससँग समन्वय गरी कैदीलाई वर्षमा तीनपटक भेट्ने कार्यतालिका तय गरेको छ।

प्रकाशित: ६ वैशाख २०७१ १९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App