६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

पूर्वी युक्रेनमा भिडन्त, एक युक्रेनी अधिकारी मारिए

स्लाभिन्स्क (युक्रेन), (रोयटर्स)– युक्रेनी सुरक्षाकर्मीले पूर्वी भूभागस्थित सहर स्लाभिन्स्कको प्रहरी मुख्यालयबाट रुस समर्थक पृथकतावादीलाई हटाउन आइतबार गरेको कारबाहीमा एक जना सुरक्षा अधिकारी मारिएका छन्।युक्रेनका गृहमन्त्री आर्सेन अभाकोवले पृथकतावादी हटाउने क्रममा गोली हानाहान भएको र सुरक्षाकर्मी–पृथकतावादी दुवैतर्फ घाइते भएको आइतबार राजधानी किभमा जानकारी दिए। रुस समर्थक सशस्त्र पृथकतावादीले शनिबार स्लाभिन्स्कलगायत पूर्वी युक्रेनका चार सहरका प्रहरी मुख्यालय कब्जा गरेका थिए। 
शनिबार रुस समर्थक सशस्त्र पृथकतावादीले स्लाभिन्स्क, क्रमाटोर्स्क र ड्रुझ्कोभ्कास्थित प्रहरी कार्यालय र सरकारी कार्यालय कब्जा गरेका थिए। बेलायती सञ्चारमाध्यम बिबिसीले अपुष्ट रिपोर्ट उद्धृत गर्दै पूर्वी युक्रेनका अरु दुई सहरका सरकारी कार्यालयसमेत पृथकतावादीले कब्जा गरेको आइतबार जनाएको छ। बिबिसीले स्लाभिन्स्कमा आएका सशस्त्र समूहले संगठित र सुव्यवस्थित रुपमा एकदम छिटै सहर कब्जा गरेको जनाएको छ। 
शनिबार बसमा आएका छद्मभेषी सशस्त्र पृथकतावादीले स्लाभिन्स्क र क्रमटोर्स्कका प्रहरी कार्यालय कब्जा गरेका थिए। अघिल्लो साता पूर्वी युक्रेनका क्षेत्रीय राजधानी डोनेस्कस्थित सबै जसो क्षेत्रीय सरकारी कार्यालय पृथकतावादीले एक साता नियन्त्रणमा लिएका थिए।
युक्रेनको सुरक्षा निकायले सशस्त्र पृथकतावादीलाई हटाउन सुरक्षा कारबाही गर्न बाध्य भएको जनाएको छ। युक्रेनले सरकारी कार्यालयबाट सशस्त्र पृथकतावादी हटाउन आतंकवादविरोधी कारबाही गर्नु परेका जनाएको छ। युक्रेन र अमेरिकाले युक्रेनमा अस्थिरता निम्त्याउन यस्ता घटना रुसले योजनाबद्ध रुपमा गराइरहेकेा आरोप लगाएका छन्। रुसले भने युक्रेनमा भइरहेका कुनै पनि घटनामा आफ्नो कुनै हात नरहेको बताउँदै आएको छ। 
अमेरिकाले युक्रेनको पूर्वी भूभागमा सुरक्षा निकायमा शनिबार गरिएका कब्जामा रुसको उक्साहट र सहयोगमा सशस्त्र पृथकतावादीको हात रहेको आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री जोन केरीले युक्रेनमा अस्थिरता उत्पन्न गर्न नछोडे र सीमाबाट आफ्ना सेना नहटाए रुसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 
उता रुसका विदेशमन्त्री सर्गेई लाभ्रोवले भने युक्रेन आफ्नो दायित्व पूरा गर्न र देशमा स्थायित्व कायम गर्न असक्षम भएको आरोप लगाएका छन्। लाभ्रोवले पूर्वी भूभागमा पृथकतावादीविरुद्ध युक्रेनले बल प्रयोग गरे स्थिति अझै बिग्रने र युक्रेन समस्याबारे यसै साता हुने बहुपक्षीय वार्तामा असर पर्ने चेतावनी दिए। 
स्विजरल्यान्डको राजधानी जेनेभामा बिहीबार युक्रेन समस्याबारे अमेरिका, रुस र युरोपेली संघसहित युक्रेनबीच वार्ता हुँदैछ।

प्रकाशित: ३० चैत्र २०७० २२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App