१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

पत्रकार महासंघ यूके अध्यक्षमा अर्याल

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भए ।  

निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मात्र मत पाए । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।  

त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत मात्र पाए । महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे ।  

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्ये १ भोट बदर भएको थियो ।  

पाँचौं कार्यसमितिको अध्यक्ष निर्वाचित अर्याल शाखाका पहिलो निर्वाचित अध्यक्ष बनेका छन् । यसअघिका चार वटै कार्यकालका अध्यक्ष सहमतिमै चयन भएका थिए ।  

यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यसअघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन् ।  

नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् । लण्डनबाट प्रकाशन हुने नेपाली लिंकका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन् । यसअघि उनले बेलायतबाटै सञ्चालित नेपाली टिभी र युरोपको नेपालीपत्रमा लामो समय काम गरेका थिए । डेढ दशकअघि नेपालमा एबिसी टेलिभिजिनबाट पत्रकारिता शुरु गरेका उनी त्यसयता कयौं राष्ट्रिय मिडियाहरु समेतमा आबद्ध रहेर पत्रकारितामा निरन्तर सक्रिय छन् ।  

पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।  

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । अधिवेशन केन्द्रीय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।  

शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए ।  

शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App