७ वैशाख २०८१ शुक्रबार
प्रवास

गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन विभेद नगरिने

नेपालका सांसद तथा पूर्व मन्त्रीले संविधानले तोकेको अधिकार प्राप्त गर्नमा गैर आवासीय नेपालीहरुलाई कुनै बाधा नरहेको जनाएका छन्। 

सत्तारुढ नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्च बेलायतद्वारा आइतबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाको न्याय, कानून तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आर्थिक, सांस्कृतिक एवं सामाजिक अधिकार उपभोग गर्नमा गैर आवासीय नेपाली नागरिक तथा अन्य नेपाली नागरिकबीच कुनै विभेद नहुने स्पष्ट पारे।

उनले उक्त विधेयक अहिले कानून मन्त्रालयमा छलफलको अवस्थामा रहेको र आउदो बजेट अधिवेशन वा निर्वाचन भयो भने नयाँ आउने संसदमा पेश हुने आफूले अपेक्षा गरेको बताए। उनले प्रवासी नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र पूँजी नेपालमै आएर लगानी गर्न आग्रह पनि गरे।

पूर्व कानून मन्त्री तथा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गैरआवासीय नेपालीप्रति सम्मान व्यक्त गर्दै ऐनका लागि कुनै पनि बाधा नभएको बताए। उनले कहीं कतै बाधा भए सुझाव दिन अनुरोध पनि गरे।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले नेपाल सरकारले आगामी बजेट सत्रमा उक्त विधेयक पारित गरिने भन्दै सबै गैर आवासीयलाई ढुक्क रहन आग्रह गरे।

एनआरएनए केन्द्रीय महासचिव डा. हेमराज शर्माले सांसदमा दर्ता भएको ऐनबारे बुंदागत रूपमा ब्याख्या गर्दै आफ्नो सुझाव दिएक थिए।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पूर्जा र नेपाललाई पौडी स्वर्ण पदक दिलाउने खेलाडी गौरिका सिंहलाई सम्झंदै नेपालले प्रवासमा बसेका नेपालीहरुलाई समेट्नु पर्ने आग्रह गरिन्।

कार्यक्रममा अमेरिका, जापान, हङकङ, इजरायल, अष्ट्रेलिया, यूएई, बेल्जियम, पोर्चुगल, अष्ट्रिया, डेन्मार्क, पोल्यान्ड, चेक रिपब्लिक आदि देशबाट पनि एनआरएनए राष्ट्रिय समिति अध्यक्ष एवम् प्रवासी नेपाली एकता मञ्चका प्रमुखहरु सहभागी थिए।

उनीहरुले आआफ्ना सुझावहरु दिए। कार्यक्रममा बेलायतमा रहेका सामाजिक अगुवाहरुको पनि उपस्थिति थियो।

प्रवासी एकता मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो कार्यक्रमका लागि महासचिव सुरेश जङ्ग साहले कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए। अन्तर्क्रिया कार्यक्रमका संयोजक एवं उपमहासचिव डा. मुकुन्द बस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: ३० चैत्र २०७७ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App