भर्जिनिया — वाशिंगटन डिसी महानगर क्षेत्रमा रहेका नेपाली संघ तथा संस्थाहरुको संयुक्त आयोजनामा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने महिला दिदीबहिनीहरुको लागि बिशेष लक्षित गरिएको तीज गीति नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ।
नेपाली महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तीजलाई अझ मनोरञ्जकबनाउने, संस्कृति, परम्परालाई प्रबर्धन गर्ने उद्देश्यले सयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम खुला मञ्चमा आयोजना गरिएको थियो l बिभिन्न देशका नागरिक तथा अमेरिकनहरु छड्के पहेलो र हरियो तिलहरी र रातो पहिरनमा सजिएका महिलाहरुको नाचगान रुचिपूर्वक अवलोकन गरि रहेका थिए lसो कार्कय्रमको प्रतियोगितात्मक गीति तीज नृत्य प्रतिस्प्रधामा ईन्दु पोखरेलको समुह प्रथम,सुजु गुरुङको समुह द्वितीय तथा ईक्षा पोखरेलको समुह तृतीय भएको थियोl उक्त प्रतियोगितामा २० भन्दा बढी प्रतियोगीहरु सहभागी भएका थिए lप्रतियोगितात्मक कार्यक्रम पश्च्यात अप्रतियोगीहरुले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गराएका थिए l कार्यक्रमलाई मसलादार बनाउन मीरा राणा, नेपाल थापा, प्रेम सङ्रौला ,मंजु संग्रौला तथा समुहले सामुहिक राष्ट्रिय गीत गाएका थिए भने आनन्दु लामाले बासुरी बजाएका थिए भने संचारकर्मी विश्वराज थापाले साथ दिएका थिए l
उक्त प्रतियोगिताका निर्णायकहरुमा गायिका मीरा राणा, लोक गायक राम प्रसाद खनाल, अभिनेता सरोज खनाल, अभिनेत्री अनुपमा प्रसाई तथा साहित्यकार बसन्त श्रेष्ठ रहनु भएको थियो l कार्यक्रम सन्चालन बिनय अर्याल ,गोमा संग्रौला र कोपिला संग्रौला सयुक्त रुपमा गरेका थिए। डिसी दुताबासका उपनियोग प्रमुख नारायण मैनाली प्रमुख अतिथि थिए।
प्रकाशित: १९ भाद्र २०७० ०४:५१ बुधबार





