coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएईका नेपाली श्रमिकको सारथि बन्दै नेपाल एसोसिएसन

परदेशमा रहेका नागरिकले त्यहाँ समस्यामा परे झट्टै आफ्नो देशको दूतावास सम्झने गर्दछन।   दूतावासप्रतिको आस्था र भरोसाका कारण हरकोहीले अप्ठ्यारोमा दूतावासको ढोका ढकढकाउने गर्दछ्न। तर कहिलेकाँही दूतावासको खोजी गरेर मात्र हुँदैन। परदेशमा रहेका समाजिक संस्थाको पनि मानिसहरुले खोजी गर्ने गर्छन् जसले आफ्नो दु:खमा सहायता गरोस्। युएईमा रहेको त्यस्तै एउटा संस्था हो नेपाल एसोसिएसन।  

अबुधाबीमा रहेको नेपाली दूतावासका कर्मचारीहरु सेवाग्राही मैत्री नबनेको,  कर्मचारीहरुले फोन नउठाएको, पीडित नेपालीहरुको सहयोग एवं उद्दारमा उदासिन बन्ने गरेको जस्ता आरोप लागिरहेको बेला एसोसिएसनले देखाएको सक्रियताका कारण अहिले  युएईमा समस्यामा परेका नेपालीहरु  दूतावास भन्दा अघि नेपाल एसोसिएसनका पदाधिकारी गुहार्न थालेका हुन्।  युएईको स्थानीय कानुन अनुसार स्थापित नेपाल एसोसिएसनले विगतमा एनआरएनएसँग मिलेर सामाजिक गतिविधि संचालन गरिरहेको भएपनी एनआरएनए आर्थिक घोटालामा मुछिएपछि अहिले एक्लै काम गरिरहेको छ।  

कोभिड १९ को महामारीका बेला नेपालीहरुको उद्दार तथा घरफिर्तिमा उल्लेखनीय भूमिका खेलेका एसोसिएसनका भोलेन्टियरहरु अहिले रोजगार गुमाएर विचल्लिमा परेका, दलालबाट ठगिएका एवं विभिन्न कारण अप्ठ्यारोमा परेका नेपालीहरुको सहयोग तथा उद्दारमा खटिएका छन्।  

अबुधाबीमा रहेको नेपाली दूतावासले समेत विचल्ली परेका कोहि नेपाली दूतावास पुगे एसोसिएसनका पदाधिकारी बोलाएर बासस्थानको व्यवस्था गर्न लगाउने गरेको छ।  केहि समय अघि घर मालिकबाट कुटिएर निकालिएकी स्याङ्जाकी कमला गिरि (नाम परिवर्तन) शरण खोज्दै दूतावास पुग्दा एसोसिएसनका महासचिव नरेश सेनले बासस्थानको व्यवस्था गरेका थिए।  सेन जस्ता दर्जनौं भोलेन्टियर अहिले नेपालीहरुको सहयोगमा खटिएका छन्।  

नेपाल एसोसिएसनले युएईको  कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर अहिले दूतावासबाट प्रदान गरिने सेवाहरुमा समेत सहजीकरण गरिरहेको छ।  एसोसिएसनले दूतावाससँगको सहकार्यमा सित्तैमा एमआरपी फारम भरिदिने, फोटो खिच्ने, प्रिन्ट गर्ने, दूतावासमा फारम बुझाउनेदेखी लिएर शैक्षिक प्रमाणपत्र, विवाह दर्ता लगायत श्रमका अन्य कागजातहरु दर्ता तथा   प्रमाणीकरणका लागि समेत निशुल्क सहयोग गरिरहेको एसोसिएसनका अध्यक्ष रमेश  श्रेष्ठ बताउँछन्।  एसोसिएसनले हरेक शुक्रबार युएईका सबै ईमिटेट्सहरुमा घुम्ती शिविर संचालन गरिरहेको उनले बताए कोरोनाका कारण दुबईबाट अबुधाबी जान महंगो र झन्झटिलो हुने भएकोले एसोसिएसनले कुरियर कम्पनीसँग सम्झौता गरेर शिविरमा संकलन गरिएको कागजात दूतावाससम्म पुर्याोउने गरिएको श्रेष्ठले जानकारी दिए।  

दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि दूतावासले प्रत्यक्ष फारम भर्ने काम बन्द गरेर अनलाइन फारम भर्ने ,  कुरियर गरेर दूतावासमा पठाएको फारम पनि मान्य हुने बताएको छ।  तर फारम भर्ने निश्चित मापदण्ड भएकाले आम श्रमिकले सजिलै फारम भरेर दूतावाससम्म पुर्यानउन सकेनन्।  त्यसैले यहाँ कार्यरत धेरै नेपालीले समयमै राहदानी नवीकरण गर्न नसक्ने भएपछि नेपाल एसोसिएसनले घुम्ती सेवा सुरु गर्न तत्परता देखाएको हो।  

एसोसिएसनले ११ मार्चमा दुबईमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा २५ जनाको पासपोर्ट नवीकरणका लागि फारम भर्ने र संकलन गर्ने काम गरेको थियो।  त्यस्तै गएको शुक्रबार पनि दुबईमा रहेको एसोसिएसनको कार्यालयमा १ सय १० जना नेपालीको फारम भर्ने र नवीकरणका लागि फारम दूतावाससम्म पुर्यािएको थियो।  

एसोसिएसनले आगामी २६ मार्चमा  फूजेरा राज्यमा, २ अप्रिलमा अजमान र दुबई, ९ अप्रिलमा रसअल खेमामा, १६ अप्रिलमा अलऐनमा र २३ अप्रिलमा सारजाह राज्यमा घुम्ति सेवा संचालन गर्दैछ।  दूतावासबाट उपलब्ध हुने सेवाहरुका बारेमा बुझ्न र सहायताका लागि सेवाग्राहीहरुले एसोसिएसनका पदाधिकारीहरुसँग सिधा सम्पर्क गरेर समेत परामर्श र सहायता लिन सक्ने एसोसिएसनका महासचिव नरेश सेनले बताए।  

 

प्रकाशित: ११ चैत्र २०७७ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App