१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

माओवादी आक्रमणमा कांग्रेसका मुख्य नेता सहित १७ को मृत्यु

रायपुर (भारत) - छत्तीसगढ प्रान्तको बस्तर जिल्लामा कांग्रेसको परिवर्तन यात्रामा माओवादीले आक्रमण गर्दा कांग्रेस नेता महेन्द्र कर्मा सहित १७ जनाको मृत्यु भएको छ। आक्रमणमा कांग्रेसका पूर्व लोकसभा सदस्य मुदलियार तथा गोपी माधवानी समेत मारिएका छन्। छत्तीस गढ प्रदेशका कांग्रेसका अध्यक्ष नन्दकुमार पटेल तथा उनका छोरालाई माओवादीले अपहरण गरी लगेका छन्।

छत्तीसगढका पूर्व मुख्यमन्त्री विद्याचरण शुक्लको पेट र खुट्टामा गोली लागेको छ। घाइतेहरुलाई जगदलपुरको अस्पता भर्ती गरिएको छ। कांग्रेसका वरिष्ठ नेता विद्याचरण शुक्ल सहित सयौं घाइते भएको बीबीसीले जनाएको छ।

छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले पत्रकारलाई सम्बोधन गर्दै घटनामा १७ को मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले जानकारी दिए।

कसरी भयो आक्रमण?

वरिष्ठ प्रहरी अधिकारीहरुका अनुसार बस्तर जिल्लास्थित जीरम घाटी नजिकै माओवादीले कांग्रेसको परिवर्तन यात्रामा हमला गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको थियो। यात्रामा छत्तीसगढका कांग्रेस अध्यक्ष नन्दकुमार पटेल, पूर्व केन्द्रीयमन्त्री विद्याचरण शुक्ल, पूर्व मुख्यमन्त्री अजीत जोगी तथा विधानसभाका पूर्व प्रतिपक्षी नेता महेन्द्र कर्मा समेत लगभग १ सय २० जना सहभागी थिए। आक्रमण हुनु केही छिन अघि अजित जोगी भने हेलिकोप्टरबाट रायपुर फर्केएका थिए।

बीबीसीका अनुसार २० सवारी साधनको परिवर्तन यात्रालाई जिरम घाटीमा रुख ढालेर रोकिएको थियो। गाडी रोकिना साथ सवारी साधनमाथि अन्धाधुन्द गोली प्रहार सुरु गरिएको थियो। छत्तीसगढका अतिरिक्त प्रहरी महानिरीक्षक मुकेश गुप्ताका अनुसार आक्रमणमा झन्डै २ सय ५० माओवादी सहभागी थिए। आक्रमणमा माइन विस्फोट गराइएको प्रहरीको भनाइ छ।

चुनावलाई ध्यानमा राख्दै १२ दिन अघि कांग्रेसले छत्तीसगढमा परिवर्तन यात्रा सुरु गरेको थियो। माओवादी विरोधी नेताको रुपमा चिनिएका महेन्द्र कर्मा सहभागी हुने यात्रा रोक्न उनीहरुले चेतावनी दिएका थिए। कर्माको विषयलाई छत्तीसगढमा माओवादीको कांग्रेससँग पुरानो दुस्मनी थियो।

कांग्रेस अध्यक्ष सोनियाँ गान्धीले नेतामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै 'माओवादी हमला लोकतान्त्रिक मूल्यविरुद्ध' रहेको बताएकी छिन्। छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले तीन दिनसम्म राजकीय शोक मनाउने घोषणा गरेका छन्। आक्रमणका घाइते भेट्न कांग्रे उपाध्यक्ष राहुल गान्धी अहिले रायपुर आइपुगेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७० २०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App