उच्च अदालतले प्रहरी महानिरीक्षकलाई यस विषयलाई मुलुकका सबै सम्पत्ति अभिलेख अधिकारीहरुलाई जानकारी दिन र भवन मालिकका सम्पत्ति हस्तान्तरण गर्न तथा बिक्री गर्न नपाउने व्यवस्था गर्न आदेश दिएको छ। यस विषयमा मे ८ मा थप आदेश दिइने भनी मिति तोकिएको डेली स्टार समाचारपत्रले उल्लेख गरेको छ। भवन–मालिक सोहेल राणालाई आइतबार जेसोरको बेनापोलमा भारततर्फ भाग्न खोजेको अवस्थामा पक्राउ गरिएको थियो। यसबीच अधिकारीहरुले राणालाई भाग्न सहयोग गरेको आरोपमा एक व्यक्तिलाई पनि पक्राउ गरेका छन्।
यस सुनुवाइमा अदालतले बङ्गलादेश बैङ्कलाई आरोपित व्यक्तिका सबै बैङ्क खाता रोक्का गर्न तथा यी खाताबाट बङ्गलादेश तयारी पोसाक निर्माता तथा निर्यातक सङ्घमार्फत तयारी पोसाक कारखानाका कर्मचारीको तलब तथा सुविधा दिन आदेश दिएको छ। अदालतले प्रहरी महानिरीक्षक तथा केन्द्रीय बैङ्कलाई यस विषयमा एक प्रतिवेदन सात दिनभित्र अदालतमा प्रस्तुत गर्न पनि आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश मिर्जा हुसेन हैदर तथा मुहम्मद खुर्शिद आलम सरकारले इन्फ्यान्ट्री डिभिजनको 'जनरल अफिसर कमान्डिङ'को नेतृत्वमा राणा प्लाजाका पीडित व्यक्तिहरुलाई कसरी क्षतिपूर्ति दिने तथा पुनर्स्थापना गर्ने विषयमा उपाय पत्ता लगाउन एक समिति गठन गर्नुभएको छ। यस समितिलाई एक महिनाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन अदालतमा बुझाउन आदेश दिइएको छ।
अदालतले अप्रिल २५ मा दिएको आदेशअनुसार आरोप लगाइएका पाँच व्यक्तिलाई अदालतमा प्रस्तुत गरेपछि यो आदेश आएको हो। अदालतले आरोपित व्यक्तिलाई उक्त भवन भत्केको विषयमा उनीहरुको भूमिकाका विषयमा जानकारी दिन अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो। पाँचवटा तयारी पोसाक कारखाना, ब्राक बैङ्कको एक शाखा तथा पसलहरुको समूह रहेको आठ तले उक्त भवन बुधबार भत्केको थियो। हालसम्म ३८६ व्यक्तिको यस दुर्घटनामा मृत्यु भएको देखिएको छ भने दुई हजार ४३७ व्यक्तिलाई यहाँबाट उद्धार गरिएको छ।
प्रकाशित: १८ वैशाख २०७० ०२:२८ बुधबार





