२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

'सेक्स एडिक्सन' मानसिक विकृति

मंसीर १७, (एजेन्सी)- अमेरिकामा भएको एक अनुसन्धानले 'सेक्स एडिक्सन' अर्थात यौन सम्पर्कको लत एक मानसिक विकृति भएको देखाएको छ।
'सेक्स एडिक्सन' स्वास्थ्यका लागि हानिकारक त छ नै, यसबाट ग्रसित व्यक्तिको करियरमात्र नभएर सामाजिक सम्बन्ध समेत बर्बाद हुनसक्छ। अनुसन्धानकर्ताले सेक्सका मामिलामा आफूमाथि नियन्त्रण राख्न नसक्ने व्यक्तिहरूले आफ्नो र अरुको जीवनसमेत बर्बाद पार्छन्। मनोवैज्ञानिकहरू भने अहिलेसम्म 'सेक्स एडिक्सन'लाई मानसिक असन्तुलन मान्न हिच्किचाउने गर्थे।
क्यालिफोर्निया विश्वविद्यालयको एक समूहले 'सेक्स एडिक्सन'लाई मानसिक दशाका रुपमा हालै परिभाषित गरेको छ। अनुसन्धानकर्ताले 'सेक्स एडिक्सन'ग्रस्त व्यक्तिको लक्षण बताएका छन्। उनीहरूका अनुसार 'सेक्स एडिक्सन'ग्रस्त व्यक्ति 'सेक्स फ्यान्टासी'मा मस्त भइरहन्छ। छ महिनासम्म ऊसको 'सेक्स फ्यान्टासी'मा मस्त हुने क्रम बन्द नभएर उस्तै रहन्छ भने उक्त व्यक्ति 'सेक्स एडिक्सन'को रोगी भएको अनुसन्धानकर्ताले बताएका छन्।
अनुसन्धानकर्ताका अनुसार 'सेक्स एडिक्सन' पीडित व्यक्ति आफूलाई मानसिक रुपमा तनावग्रस्त र व्याकुल अनुभव गर्छ। तनावमुक्त हुनका लागि 'सेक्स एडिक्सन'ग्रस्त व्यक्ति बारम्बार सेक्स गर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।
'सेक्स एडिक्सन'बाट प्रसिद्ध व्यक्तित्त्व समेत उम्किन सकेनन्। यस्तै केही व्यक्तित्त्व हुन्- अमेरिकाका विख्यात गल्फ खेलाडी टाइगर उड्स, हलिउड स्टार माइकल डगलस र बेलायती अभिनेता रसल ब्रान्ड।
'सेक्स एडिक्सन'बाट ग्रसित उड्सले दुई वर्षअघि यसका लागि सार्वजनिक रुपमा क्षमायाचना गरेका थिए। उनले यसबाट मुक्ति पाउन छ साता आफ्नो उपचारसमेत गराएका थिए। सेक्स स्क्यान्डलकै कारण उनको पत्नीसँग सम्बन्धविच्छेद भएको थियो।
बेलायती अभिनेता ब्रान्डले पनि उनलाई 'सेक्स एडिक्सन' भएको स्वीकारेका छन्। त्यस्तै हलिउड स्टार डगलसले 'सेक्स एडिक्सन' लतबाट छुटकारा पाउनकै लागि एरिजोनाको एक क्लिनिकमा भर्ना भएका थिए।
अनुसन्धानमा संलग्न प्रोफेसर ररी रीडका अनुसार यो अनुसन्धानले सेक्स-लत लागेका मानसिक रोगीको उपचारमा मद्दत पुग्नेछ। उनको भनाइमा 'सेक्स एडिक्सन'ग्रस्त व्यक्तिको स्वास्थ्य, सामाजिक सम्बन्ध र जीवनका महत्त्वपूर्ण पक्षमा नकारात्मक असर पर्छ।
मानसिक उपचार केन्द्रमा उपचाररत दुई सय सात बिरामीको अध्ययन गरेपछि अनुसन्धानकर्ताले यस्तो नतिजा निकालेका हुन्। केन्द्रमा उपचाररत ती सबै बिरामी आफ्ना अनियन्त्रित यौन व्यवहार र अवसादजस्ता मानसिक रोगग्रस्त थिए। यो अनुसन्धानको रिपोर्ट जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ।

प्रकाशित: १६ मंसिर २०६९ २३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App