१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

बेइजिङ शक्तिसन्तुलन

पूर्ण बस्नेत- छोङकिङ नगर पार्टी प्रमुख बो सिलाइ प्रकरण चीनको २० वर्षयताकै ठूलो राजनीतिक घटना थियो। बेइजिङ र सांघाईमा पार्टी प्रमुख भएर काम गरिरहेको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्य चेन सिटोङ र चेन लियन्जुलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको घटनासँग यसलाई तुलना गरिन्छ। तर छोङकिङबाट निर्माण भएको बोको चामत्कारिक छवि र पार्टीका दुई समूहबीचको द्वन्द्वका कारण १९८९ को तियानमेन घटनायता चीनमा यही प्रकरणले ठूलो तनाव सिर्जना गर्‍यो। पार्टी महासचिव तथा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओले चुनौतीको सामना गरी संकटबाट पार्टीलाई निकालेको सन्देश दिन खोजेका छन्।

बो सिलाइ प्रकरणले चिनियाँ कम्युनिस्ट पार्टी निकै बदनाम भयो, तर महाधिवेशनको मुखमा शक्तिसंघर्षमा फसेको नेतृत्वका लागि यो मामिला राजनीतिक सुधारको एजेन्डामा नयाँ समझदारी निर्माण गर्ने अवसर पनि बन्यो। हु-वेन नेतृत्वले पार्टीलाई उग्र राष्ट्रवादी माओवादी धारबाट जोगाएर राजनीतिक सुधारको आकांक्षा सुरक्षित बनाएको ठानिएको छ। बो प्रकरणले पार्टीको आन्तरिक संरचना काम नलाग्ने भएको प्रस्ट भएको संकेत गर्दै प्रधानमन्त्री वेनले पार्टी पत्रिका 'क्युसी' मा प्रकाशित लेखमा यो अवसर सुधारका लागि उपयोग गर्न नसके सत्तामाथि पार्टीको पकडै गुम्नसक्ने चेतावनी दिएका छन्।
छोङकिङ नगर प्रहरी प्रमुख वाङ लिजुनले ६ फेब्रुअरीमा चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावासमा शरण लिने प्रयास गरेको खबरसँगै बो सिलाइको राजनीति धरापमा परेको थियो। त्यही कारण १३ मार्चमा छोङकिङ पार्टी प्रमुखबाट बर्खास्त गरिएका बोलाई अप्रिल १० मा पोलिटब्युरो र केन्द्रीय समितिबाट निलम्बन गरियो। शक्ति दुरुपयोग तथा अनुशासन उल्लंघन अभियोगमा अहिले बोमाथि छानबिन भइरहेको छ। उनकी श्रीमती गु केलाइ बेलायती व्यापारी निल हेउडको हत्या अभियोगमा प्रहरी हिरासतमा छिन्। बो परिवारको पैसा विदेशमा लगेर राख्न सहयोग गर्ने क्रममा हेउडले हिस्सेदारी नदिए गोप्यता खोल्ने धम्की दिएपछि पाँच महिनाअघि गु केलाइको निर्देशनमा उनी मारिएको बताइएको छ। पूर्व प्रहरी प्रमुख वाङ यही रिपोर्ट लिएर दूतावास आएको सूचना अमेरिकी अधिकारीहरूले दिएका छन्।
शक्ति दुरुपयोग तथा अनुशासन उल्लंघनको अभियोगमा जेल जाने निश्चित भएका बोको छोङकिङबाट बनेको चामत्कारिक नेताको राष्ट्रव्यापी छवि समाप्त भएको छ। उनी विरोधाभासपूर्ण कम्युनिस्ट नेता थिए। छोङकिङमा अपराध र भ्रष्टाचारविरुद्ध चलाएको अभियानले उनलाई लोकप्रिय त बनायो तर माओवादी मूल्य-मान्यता पुनर्जीवित गर्ने अभियानअन्तर्गत 'सांस्कृतिक क्रान्ति' को दर्दनाक सम्झना गराएर उनले आधुनिक चीनको नेतृत्वलाई त्रसित तुल्याए। चीनभरि आर्थिक असमानता बढिरहेका बेला छोङकिङमा बेग्लै अनुभूति गराएर नागरिक समर्थन पाए पनि बोमाथि क्रुर शासनको आरोप लाग्यो।
बोको 'छोङकिङ मोडल' हु-वेन नेतृत्वले अगाडि बढाइरहेको राजनीतिक सुधार र बजार अर्थनीतिअन्तर्गत 'चिनियाँ शैलीको समाजवादी व्यवस्था' लाई चुनौती थियो। तीन करोड जनसंख्या भएको चीनकै ठूलो नगर छोङकिङलाई बोले आफ्नै शैलीमा चलाउन खोजेका थिए। देङ सियाओपिङको खुलापन र सुधारको बाटोमा हिँडेर तीस वर्षमा विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनमा बोले 'एक राष्ट्र दुई प्रणाली' कै शैलीमा छोङकिङमा माओवादी व्यवस्था लागू गरे। 'सांस्कृतिक क्रान्ति' शैलीको पार्टी नीतिलाई चुनौती दिने बोको शैलीबाट बेइजिङ नेतृत्व चिन्तित थियो।
बोका प्रहरी प्रमुखको अमेरिकी दूतावासमा शरण लिने प्रयास र बेलायती व्यापारीको हत्यामा उनकी श्रीमतीको संलग्नता सनसनीपूर्ण थियो तर यसले पार्टी नेतृत्वबीचको मतभेद पनि पर्दाफास गरिदियो। उदीयमान नेता एकाएक समाप्त हुँदा चीनमा ठूलै राजनीतिक झड्का महसुस भयो जसलाई सामान्य बनाउन बेइजिङले निकै मिहिनेत गर्नुपर्‍यो। कम्युनिस्ट पार्टीको साप्ताहिक अंग्रेजी पत्रिका 'ग्लोबल टाइम्स' मा बिहीबार प्रकाशित एक टिप्पणीमा बो प्रकरणप्रति संकेत गर्दै भनिएको छ, 'यस्तो झड्काको प्रभाव अस्थायी हुन्छ। उच्च पद वा व्यक्तिगत प्रभाव दोषी अधिकारीमाथि कारबाही रोक्ने अस्त्र बन्न सक्दैन। यद्यपि, केही उच्च अधिकारीले यो वास्तविकता नबुझेर जुवा खेलिरहेका छन्।'
३० वर्षको अभ्यासले सुधार र खुलापनलाई चीनको आधारभूत राष्ट्रिय नीतिका रूपमा स्थापित गरिदिएको छ। छोङकिङमा बोको प्रभाव क्षेत्रीय स्तरको मात्र हो तर त्यसलाई राष्ट्रिय स्तरमा विस्तार गरी चीनको राजनीतिक परिदृष्य बदल्ने सपना सायद उनले देखेका थिए। उनले चलाएको माओकालीन सांस्कृतिक अभियान चीनको अहिलेको राजनीतिक अन्तर्द्वन्द्वकै हिस्सा थियो र त्यो स्थानीय प्रयासले राष्ट्रिय नीतिलाई भ्रमित तुल्याएको थियो। पश्चिमा जगतले बोको निजी प्रभावबारे अति मूल्यांकन गरेको टिप्पणी गर्दै उनी चीनको राष्ट्रिय नीतिको विपक्षमा उभिएको ठहर गरी ग्लोबल टाइम्सले लेखेको छ- 'ऐतिहासिक पाठ र विश्व परिस्थितिको आधारमा चीनले आफ्नो दिशा निर्धारण गरेको छ, कुनै पनि आन्तरिक मामिलाले यसलाई चुनौती दिन सक्दैन।'

चीनमा भ्रष्टाचार र शक्ति दुरुपयोगको आरोप लागेका बो पहिलो उच्च अधिकारी होइनन्। तर उनको मुद्दालाई अनियन्त्रित र अपारदर्शी अधिकारीहरू भ्रष्टाचार र शक्ति दुरुपयोगको कति उचाइसम्म जान सक्छन् भन्ने प्रमाण बनाउन खोजिएको छ। यो मुद्दा एकदलीय कम्युनिस्ट शासन भएको चीनमा राजनीतिक शक्ति र भ्रष्टाचारको गाढा सम्बन्ध देखाउने उदाहरण बनेको छ। 'चीनमा कम्युनिस्ट पार्टीको शासन छ, कानुनको होइन' भन्ने मान्यता परिवर्तन गर्न बेइजिङले बोको मुद्दालाई आधार बनाउन सक्नेछ।
आफ्नै महŒवाकांक्षा बोको पतनको कारण बन्यो। २००७ को १७ औं महाधिवेशनमा पोलिटब्युरो सदस्य र उपप्रधानमन्त्रीको दाबी गरेका बोले दुई गठबन्धनबीच सम्झौता हुँदा पहिलो पदमात्र हात पारे। आफूलाई कमजोर बनाउन छोङकिङ पठाइएको भनेर सुरुमा असन्तुष्ट बो पछि उक्त नगरलाई चीनकै मोडल बनाउन मात्र लागि परेनन्, आफ्नै स्वतन्त्र राज्यजसरी त्यहाँ शासन गर्न थाले। नौ सदस्यीय नयाँ स्थायी समितिका त उनी एक दाबेदार थिए नै, समर्थकहरूले उनलाई भावी प्रधानमन्त्रीका रूपमा समेत प्रस्तुत गर्दैथे। बोलाई माओ र छोङकिङका मेयर हुवाङ सुफाङलाई चाउ एनलाइको रूपमा प्रचार गरेर उनको महŒवाकांक्षा झन् बढाइएको थियो।
बो प्रकरणले चिनियाँ कम्युनिस्ट पार्टीका दुई समूहबीच शक्ति, प्रभाव र नीतिनिर्माणमा हुने लडाइँलाई पर्दाफास गरेको छ। पार्टीभित्र प्रस्ट रुपमा दुई समूह छन्, जसलाई चिनियाँ विश्लेषक ली चेङले 'एक पार्टी दुई गठबन्धन' भनेका छन्। पूर्व राष्ट्रपति ज्याङ जेमिनद्वारा संरक्षित संघाई गुटको नामले परिचित समूहले एउटा गठबन्धनको नेतृत्व गर्छ। यो गठबन्धनमा प्रायः पूर्व उच्च नेताका छोराछोरी छन्। पूर्व उपप्रधानमन्त्री बो इबोका छोरा बो सिलाइ तिनैमध्येका एक थिए। महासचिव तथा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओले नेतृत्व गर्ने अर्को गठबन्धनमा कम्युनिस्ट युथ लिगका नेताहरू छन्।
बेइजिङको शक्ति हत्याउन संघर्ष भए पनि पार्टी इतिहासमै कलंकित छोङकिङ घटनापछि बोलाई कारबाही गर्ने मामिलामा दुई गठबन्धन समझदारीमा पुगे। स्थायी समितिका नौमध्ये बोको पक्षमा भोउ योङकाङमात्र देखापरे। बो सिलाइ प्रकरणमा हु-वेन नेतृत्वको विजय भएको छ, तर यसले नयाँ स्थायी समितिमा उनीहरूको समूहले बढी सिट सुरक्षित गर्छ नै भन्ने छैन। पाँच महिनापछि हुने अठारौँ महाधिशनले अनुमोदन गर्ने अर्को स्थायी समिति पनि दुई गठबन्धनबीचको सम्झौतामै बन्नेछ। बेइजिङको यो शक्ति सन्तुलन त्यति सजिलै परिवर्तन हुने देखिँदैन। त्यसैले 'एक पार्टी दुई गठबन्धन' को संरचना मानेर एकता कायम राख्नुको विकल्प रहनेछैन।
बोको ठाउँमा छोङकिङ पार्टी प्रमुख बनाएर ज्याङ गठबन्धनकै उपप्रधानमन्त्री झाङ डेजिङलाई पठाइएको छ जुन मेलमिलापको संकेत हो। स्थायी समितिमा बोले लिने स्थान पनि ज्याङ संरक्षित गठबन्धनकै झाङ वा तिन्जियान र सांघाईका पार्टी प्रमुख झाङ गाओली र यु झेङसेङमध्ये एकले लिने अनुमान गरिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीका उत्तराधिकारी सि जिनपिङ र ली कसियाङबाहेक स्थायी समितिमा आउने सात नयाँ सदस्यमा को को पर्छन् भन्ने अझै प्रस्ट भइसकेको छैन। तर चीनको शासनको बागडोर सम्हाल्ने पार्टीको नौ सदस्यीय स्थायी समितिमा दुई गठबन्धनमध्ये एउटाले पाँच र अर्कोले चारमा सम्झौता गर्ने परम्परा तत्काल परिवर्तन हुने सम्भावना देखिँदैन। महाधिवेशनका प्रतिनिधिले चुनावबाटै नेतृत्व छान्ने व्यवस्था गरियो भने त्यो ९० वर्षीय चिनियाँ कम्युनिस्ट पार्टीका लागि आन्तरिक लोकतन्त्रको नयाँ अभ्यास हुनेछ।

प्रकाशित: १० वैशाख २०६९ २१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App