गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९१औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) आइतबार भर्चुअल माध्यमबाट आइसल्यान्डमा गठन भएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सुभाससिंह थापाको अध्यक्षतामा तदर्थ कार्यसमिति घोषणा गरेको हो । भेलाले आगामी एक साताभित्र पूर्ण समिति प्रस्ताव गर्न थापालाई जिम्मेवारीसमेत दिएको छ।
सभालाई सम्बोधन गर्दै डा. केसीले एनआरएनएलाई 'विदेशमा बस्ने नेपालीहरूको साझा चौतारी' भन्दै नवगठित समितिलाई आइसल्यान्डस्थित नेपालीहरूको समस्या नेपाल सरकारसम्म पुर्याउन, आपसी सद्भाव सुदृढ गर्न तथा परोपकारी र लगानीमुखी पहल अघि बढाउन निर्देशन दिए। उनले 'नेपालीका लागि नेपाली' मूल नारासहित २००३ देखिको संघको परोपकार, आर्थिक र सीप–लगानीका उपलब्धि उल्लेख गरे।
उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली अभियानमा लगानी, शिक्षा र परोपकारका क्षेत्रमा ठूला सम्भावना रहेको बताए। संस्थाभित्र कहिलेकाहीँ देखा पर्ने विवादलाई उनले विशाल समुन्द्रभित्रका स्वाभाविक छाल भन्दै ग्लोबल सञ्जालमा आइसल्यान्डको संलग्नता स्वयं उपलब्धि भएको टिप्पणी गरे।
महिला उपाध्यक्ष रोजिना प्रधान राईले नयाँ समितिलाई शुभकामना दिँदै महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरिन्। महासचिव गौरीराज जोशीले केन्द्रीय कार्यालयसँग नियमित समन्वय गरी संस्थागत सुशासन बलियो बनाउन सुझाव दिए।
कार्यक्रम युरोप संयोजक चिरञ्जीवी खड्काको संयोजकत्वमा र एनआरएनए युरोप सचिव भुवन अर्यालको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिमखडा, महिला संयोजक परसुना कँडेल, सहसंयोजक राजु अर्याल, केन्द्रीय सदस्य तथा पार्षदहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रकाशित: ५ जेष्ठ २०८२ ०७:४१ सोमबार





