१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
प्रवास

विपिन जोशी बेखबर अवस्थामा, युक्रेनी सेनामा अझै ७ जना नेपाली युद्धबन्दी

'राष्ट्रपति जेलेन्स्कीसँग रिहाइको लागि आग्रह गर्ने तयारी'

विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको विषयमा चिन्ता व्यक्त भइरहँदा, युक्रेनी सेनाले कब्जामा रहेका नेपाली युद्धबन्दीको स्थिति भने नेपाल सरकारका लागि अझै बेखबर जस्तै छ। रुसी सेनामा भर्ना भएर युक्रेनसँगको लडाइँमा होमिदा पक्राउ परेका ७ जना नेपाली नागरिक अझै युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन्।

नेपाली दूतावास जर्मनीका अनुसार, रुसी-युक्रेनी युद्ध सुरु भएदेखि युक्रेनी सेनाको कब्जामा रहेका ती नेपालीहरूको सकुशल रिहाइका लागि पहल चालिएको छ।

यसअघि, युक्रेनले २०२३ को मार्च महिनामा नेपालसहितका अन्य देशहरूलाई रुसी सेनामा आफ्ना नागरिकहरूको भर्ती रोक्न आग्रह गर्दै, आफ्नो नियन्त्रणमा रहेका पाँच नेपाली नागरिकहरूको पहिचान सार्वजनिक गरेको थियो।

नेपाली दूतावासका अनुसार, युक्रेनी सेनामा युद्धबन्दी रहेका नेपालीहरूमध्ये चितवनका सुजन सुवेदी, बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, गोर्खाका ईश्वर लामिछाने, र गोर्खाका मदन कुमाल रहेका छन्।

स्रोतका अनुसार, जर्मनीमा नेपाली राजदूत तथा युक्रेनको लागि गैर-आवासीय नेपाली राजदूत डा. शैल रुपाखेतीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन जाँदा, युक्रेनी सेनामा रहेका नेपाली युद्धबन्दीहरूको उद्धारको विषय उठाउने तयारी गरेका छन्। स्रोतले भन्यो, 'रुसको तर्फबाट रुसी सेनामा भर्ती गरिएका नेपालीहरूलाई युक्रेनले रुसी सेनाकै नजरमा हेर्छ। यो रुस र युक्रेन बीचको द्वन्द्व हो, तर नेपालीहरूलाई प्रलोभनमा पारेर रुसको सेनामा पठाइएको र उनीहरू निर्दोष छन् भन्ने विषयमा हामी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग छलफल गर्ने तयारीमा छौं।'

राष्ट्रपतिसँगको भेटको मिति हालसम्म तय नभए पनि, दुई देशका कूटनीतिक छलफलमार्फत भेटको मिति तय गर्न दूतावास सक्रिय छ। राजदूत डा. रुपाखेतीले जर्मनस्थित नेपाली दूतावासको नेतृत्व सँगै युक्रेनमा रहेका नेपालीहरूको उद्धारमा सक्रिय भूमिका खेलेका छन्। उनका सक्रिय प्रयासमा, गत हप्तामात्र ९ महिनादेखि युक्रेनको डिटेन्सन केन्द्रमा रहेका तेह्रथुमका फुर्वा शेर्पा र दोलखाका शेर साम्बो शेर्पा नेपाल फर्किएका थिए।

सन् २०२२ को फेब्रुअरी अन्तिम साता देखि जारी युद्धमा करिब दुई दर्जन नेपालीहरूले ज्यान गुमाएका छन् र सयौँ नेपालीहरू विभिन्न कारणले युक्रेनमा अलपत्र भएका छन्।

प्रकाशित: ३० माघ २०८१ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App