नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषय ब्रिटिस मन्त्रीहरूसँग उठाउने बताएका छन्।
नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल सरकारले संविधानको व्यवस्था अनुसार गैर आवासीय नागरिकता प्रदान गर्न सुरु गरेता पनि त्यो कागजको खोस्टो भएको भन्दै आलोचना भै रहेको छ। यसमा सुधार गर्नु पर्ने जरुरी रहेको भन्दै उनले नेपालमा सुशासन नभएका कारण यो समस्या आएको बताए।
उनले बेलायत नेपालको सबै भन्दा पुरानो मित्र भएकाले नेपालको वस्तु स्थिति क्षेत्रीय तथा विश्व रंगमंचमा उठाउन आग्रह गर्नु पर्ने बताए। उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नु परिरहेको समस्यामा सहयोग गर्न पनि बेलायतलाई आग्रह गर्नु पर्ने जनाए। नेता कोइरालाले संसदले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित गरेको भएता पनि आयोगमा कस्ता पदाधिकारीहरू नियुक्ति गरिन्छन् भनेर अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए।
उनले नेपाललाई कसरी अगाडि बढाउने भन्ने बारे प्रवासी नेपालीहरूमा चिन्ता रहेको भन्दै आफूसँग रहेको सीप र श्रोत नेपालको विकासमा लगाउन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले बेलायतको नेपाली डायस्पोरा बलियो, शिक्षित र गौरव गर्न लायकको भएको बताए। उनले यहाँ बसोबास गरिरहेका नेपालीहरू नेपालको कुनै पनि विषयमा योगदान गर्न इच्छुक रहेको आफूले पाएको जनाए। उनले बेलायतमा बस्ने सबै नेपाली नेपालका मानार्थ राजदूत हुन् भन्दै आफूसँग रहेको ज्ञान, सीप र पहुँच राज्यको हितमा सदुपयोग गर्न आग्रह पनि गरे।
नेता कोइराला एक साता लामो भ्रमणमा बिहीबार बेलायत आइपुगेका हुन्। बिहीबार राति लन्डन हिथ्रो विमानस्थलमा उनलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।
आइतबार उनले जनसम्पर्क समिति बेलायत तथा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् भने सोमबार (१३ जनवरी) बेलुका बेलायती संसद्को एक कक्षमा गर्न आयोजना गर्न लागिएको एक बैठकमा भाग लिने छन्।
बेलायतका उद्योग व्यापार राज्य मन्त्री ग्यारेथ थोमस तथा परराष्ट्र सहायक मन्त्री क्याथराईन वेष्टद्वारा आयोजित उक्त बैठकमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरूलाई पनि आमन्त्रण गरिएको छ।
प्रकाशित: २७ पुस २०८१ ०६:३८ शनिबार