२ आश्विन २०८१ बुधबार
image/svg+xml
प्रवास

किन ढिला हुन्छ साउदीबाट नेपालीको शव आउन?

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको छ। श्रमका लागि विभिन्न देश पुगे पनि साउदी अरबमा कसैको मृत्यु भए शव ल्याउन निकै ढिला हुने गरेको हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका नेपालीको मृत्यु भए सबैभन्दा चाँडो शव मलेसियाबाट आउने गरेको छ।

कुनै कारणले नेपाली श्रमिकको साउदी अरेबियामा मृत्यु भए शव आउन चार महिनासम्म लाग्ने गरेको बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए । साउदीमा नेपाली कामदारको मृत्यु हुँदा सबैभन्दा चाँडो भनेको २२ दिनमा शव नेपाल आएको रेकर्ड रहेको उनले बताए।

‘वैदेशिक रोजगारीमा मृत्यु भएको अवस्थामा अहिलेसम्म सबैभन्दा ढिला शव आउने देश भनेकै साउदी अरेबिया हो,’ उनले भने, ‘त्यहाँबाट नेपाली कामदारको शव आउन चाँडोमा डेढ महिना लाग्ने गर्छ। त्यहाँको कानुन धेरै कडा छ। कानुनी प्रक्रिया सकेर मात्र सम्बन्धित देशमा शव पठाउने भएकाले बढी समय लाग्ने गरेको हो।’

साउदीमा मृत्यु भएका नेपाली श्रमिकको ६ महिनादेखि वर्षौं बित्दा पनि शव नआएको रेकर्डसमेत बोर्डमा रहेको प्रवक्ता ढकालले बताए । यसमा साउदीस्थित नेपाली राजदूतावासका श्रम सहचारी देवेन्द्र कार्कीसमेत सहमत छन्।

‘विदेशमा मृत्यु भएका कामदारको शव सबैभन्दा ढिलो साउदीबाट नेपाल जान्छ,’ कार्कीले नागरिकसँग भने, ‘त्यो साउदी सरकारको प्रक्रियाको कारणले हुन्छ । यहाँ मृत्यु भएका कामदारलाई साउदी सरकारले एक्जिट भिसा दिनुपर्ने हुन्छ। जिउँदो मान्छेलाई त एक्जिट भिसा दिनुपर्छ भने मरेको मान्छेलाई पनि एक्जिट भिसा चाहिन् । त्यसका लागि धेरै लामो प्रक्रिया छ। साउदीबाट कामदारको शव नेपाल फर्काउन आठ चरण पार गर्नुपर्ने हुन्छ। कार्कीका अनुसार एउटा निकायमा शव नेपाल कम्तीमा चार दिन लाग्छ। आठ वटा निकायले त्यही गतिमा काम गर्दा पनि ३२ दिन त यसै लाग्छ। त्यसरी त्यो आठ चरण पार गरेपछि मात्रै साउदी सरकारले शव नेपाल फर्कन एक्जिट भिसा दिने गरेको छ।’

एक्जिट भिसा पाइएसँगै शव नेपाल पठाउन पुनः अन्य काम हुने गरेको कार्कीले बताए। ‘एक्जिट भिसा पाएपछि शव पठाउन चिसो पारिराखेको कार्गोलाई ट्रिटमेन्ट गर्न तीन/चार दिन लाग्छ। त्यसपछि उनीहरूले फ्लाइट बुकिङ गर्न एयरलाइन्सलाई भन्नुपर्छ,’ उनले भने, ‘एयरलाइन्स पनि न्यारो बडीले हुँदैन, वाइड वडी नै चाहिन्छ । वाइड बडीको तालिकाअनुसार मात्रै शव पठाउने गर्छन् । त्यसैका लागि पनि चार–पाँच दिन लाग्छ। आत्महत्या र हत्या मुद्दालगायत शंकास्पद मृत्यु भए अध्ययनमा प्रहरीको संलग्नता रहने भएका कारण झन् समय लाग्छ।’

उनले साउदीमा गर्मी तथा सुक्खा हावापानी भएकाले प्रशस्त पानी पिउनुपर्ने र कसैको पानी पिउने बानी नै नहुनाले सुतेकै अवस्थामा मृत्यु हुने गरेको उनले बताए। ‘दिनभरि घाममा काम गरेर एकैचोटि धेरै चिसो एसीमा बस्ने, चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्दा पनि मृत्यु हुनेको संख्या धेरै बढेको हो,’ उनले भने।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता काकीृका अुनसार साउदी अरब आएका कतिपय नेपाली कामदारलाई हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवासुविधा र सेवाशुल्क, कामदार छनोट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्चलगायत विषयमा जानकारी नहुदा विभिन्न समस्या नेपाली कामदारले झेल्नुपरेका थुप्रै घटना छन्। विशेष गरी साउदी अरबमा पुग्नासाथ काम र अन्य कुराहरूमा समायोजन हुन नसक्दा कतिपय कामदारले घर फर्कन याचना गर्ने गरेको, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिँड्ने गरेको र त्यस्तो अवस्थामा ज्यानसमेत गएको अवस्था धेरै छन्।

कार्कीका अनुसार साउदी अरेबिया पानी नपर्ने र अत्यधिक गर्मी हुने देश हो । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ। नेपालको हावापानीमा रमेका कामदार मरूभूमि र अत्यतै खुक्खा देश साउदी अरेबियामा पुगेपछि धेरै नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु हुने गरेको छ।

साउदी अरब एक इस्लामिक राष्ट्र हो। पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन्। यस मुलुकमा अनेकौ ठुला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकाले विभिन्न देशबाट त्यहाँ कामदार जाने गरेका छन्। त्यहाँको न्याय प्रणाली पूर्णतः इस्लामिक कानुन (सरिया कानुन) मा आधारित छ।

यो मुलुकको भिसा पद्धति स्पोन्सर सिस्टममा आधारित छ। स्पोन्सर (रोजगारदाता) को अनुमतिबिना उक्त देशभित्र प्रवेश गर्न, स्वदेश फर्कन, काम गर्न, व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति रहेको साउदीस्थित नेपाली राजदूतावासले जानकारी गराएको छ। रोजगारदाताले भिसा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कोही पनि व्यक्ति काम गर्ने हिसाबमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन नसक्ने कार्कीले बताएका छन्। रोजगारदाताको अनुमतिबिना तोकिएभन्दा फरक काम गर्न, फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नवीकरण गर्न नसकिने उनले बताए।

कामदारको मृत्यु भए वा स्पोन्सर कम्पनी कानुनी समस्यामा परे कामदार पनि समस्यामा पर्ने हुन्छ । यसले गर्दा वर्षौंसम्म पनि साउदी अरबमै बस्न बाध्य हुनुपर्ने अवस्था हुन्छ। यस किसिमका जटिल समस्याबाट धेरै नेपाली पीडित रहेको पाइएको छ। उनका अनुसार रोजगारदाताले कामदारलाई तीन महिनासम्म सेवासुविधा वा अकामा नदिए वा नवीकरण नगरे र कम्पनी समस्याग्रस्त भए श्रम कार्यालयको स्वीकृतिमा स्पोन्सरसिप ट्रान्सफर गर्न सकिन्छ।

प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने भएका कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइँदैन। यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा कम्पनीले छोडाउने हुन्छ, जसबाट कामदार अल्याङमल्याङ भई अझ ठुलो समस्यामा पर्ने गरेको उनको अनुभव छ। साउदी अरबमा आउने गरी योजना बनाउँदै गरेको महिलाले झन् धेरै विचार गरेर मात्र पाइला चाल्नुपर्ने कार्कीले बताए। ‘महिलाहरूका समस्या धेरै आएकाले सप्लाई र कन्ट्र्याक्टिङ कम्पनीबाट महिलाहरू ल्याउन बन्द गरिएको छ। घरेलु कामदारमा साउदी आउन बन्देज छ । अवैधानिक रूपमा थुप्रै नेपाली महिला साउदी अरेबिया आउने गरेका छन्,’ उनले भने।

विशेष गरी महिला कामदारलाई कुवेत, युएई र भारतको बाटो हँुदै भिजिट भिसामा साउदी अरब ल्याउने गरेको पाइएको छ। यसरी साउदी आउने महिलाहरू वर्षौंसम्म बिनापारिश्रमिक रोजगारदाताको चरम शोषणमा परेसँगै मृत्युसम्म हुने गरेको उनले बताए। कुनै पनि विदेशी कामदारले आफ्नो रोजगारदाता/स्पोन्सरसँग कम्तीमा एक वर्ष काम गरिसकेपछि निश्चित सर्तहरू पूरा गरेर पछि स्पोन्सर परिवर्तन गर्न, छुट्टीमा घर जान र सम्झौता अवधि समाप्त भएपछि स्वदेश फर्किन पाउने व्यवस्था साउदीमा छ।

साथै रोजगारदाता परिवर्तन गर्न साउदी श्रम मन्त्रालयको अनलाइन पोर्टलमार्फत गर्नुपर्ने हुन्छ भने रिइन्ट्री तथा फाइनल एक्जिटका लागि एब्ससर एपको प्रयोग गर्नुपर्ने हुन्छ। तसर्थ साउदी अरबमा आइसकेपछि उल्लिखित मोबाइल एप्लिकेसन चलाउन जान्नु उपयोगी हुने सूचना साउदीस्थित नेपाली दूतावासको जानकारी छ। सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ। जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधाबापत साउदी रियाल तीन सय तोकिएको छ।

साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गरेर फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउन सकिने उनको सुझाव छ। ‘कुनै फाइदा नहुने भए बिचौलिया र म्यानपावरलाई खर्च गर्ने पैसाले नेपालमै सिपअनुसारको केही पेसा, व्यवसाय गर्न सकिन्छ। परिवारसँग बसेर आनन्दसँग नेपालमै काम गर्न सकिन्छ। यो सकारात्मक पक्षलाई पटकपटक मनन गर्नुपर्छ,’ उनले भने।

साउदी अरबमा मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागुपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी कार्य हो । स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना नगर्दा कानुनी कारबाही हुने गरेको छ । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते भएर नेपाल फर्कने पीडित थुप्रै छन्। तसर्थ बाटो काट्न तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। त्यसरी ट्राफिक नियमको उल्लंघन गरी बाटो काटेर निधन भएका कामदारका परिवारले समेत क्षति नपाउने साउदीको नियम रहेको श्रम सहचारी कार्की बताउँछन्।

उनका अनुसार साउदी अरबमा कामदारका रूपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ। स्वास्थ्य कमजोर वा कुनै बिरामी भएसँगै औषधि सेवन गरिरहेका कामदार कामका लागि साउदी नआएको राम्रो हुनेछ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार ३ हजार ६ सय ९३ जना नेपाली कामदार साउदीमा मृत्यु भएर स्वदेश फर्किएका हुन्।

प्रकाशित: २५ श्रावण २०८१ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App