२३ भाद्र २०८१ आइतबार
image/svg+xml
प्रवास

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।

बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् । ‘पार्कमा रहेको सुन्दर र आकर्षक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ’, स्थानीय मनबहादुर घलेले भने, ‘बारपाक आएका पर्यटक बुद्ध पार्क नपुगी शायदै कोही फर्कंदैनन् होला ।’

बुद्ध पार्कले बारपाकमा पर्यटकको आकर्षण थपिएको उनको भनाइ छ । ‘बारपाक आफैँमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ हो,’ उनले भने, ‘यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकको संस्कृतिलाई थप उजागर गरिदिएको छ ।’ बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको घलेले बताए।

बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ । त्यस्तै, पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृश्यावलोकनसँगै बारपाकहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्’, उनले भने, ‘त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।’

बुद्ध पार्क ढुङ्गगैढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । ‘यो पार्क बारपाकभित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ,’ उनले भने, ‘प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका बिरगजे घलेको गाउँ बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र विन्दु पनि हो ।

प्रकाशित: २ श्रावण २०८१ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App