५ श्रावण २०८१ शनिबार
image/svg+xml
प्रवास

नेपालमा हामीले गरेको कामको कहिले पनि कदर भएनः मोनिका साह (भिडियोसहित)

बारामा जन्मिएकी मोनिका साहको परिवार अहिले काठमाडौंमा बस्छ तर उनी भने गत सेप्टेम्बरदेखि क्यानाडामा बस्दै आएकी छन्। नेपालमा नर्सको जागिर छाडेर क्यानाडा पुगेकी उनले यो दश महिनाको अवधिमा भोगेका अनुभव प्रवासीको पत्रको आजको अंकमा...

 

नमस्कार,  

म मोनिका साह । म अहिले क्यानडाको नर्थ योर्क भन्ने स्थानमा बसोबास गर्दै आइरहेको छु । नेपालमा मेरो पुख्र्यौली घर बारा जिल्ला हो भने मेरो परिवार भने अहिले काठमाडौंमा बसोबास गर्दै आइरहनु भएको छ । म भने हाल क्यानाडामा विद्यार्थी भिसामा रहेको छु र गत सेप्टेम्बरमा क्यानाडा आएको हुँ ।  

पक्कै पनि देश छाड्दा जब एयरपोर्टबाट भित्र छिर्यौ हामी, आँखाबाट सबै जना टाढा हुँदै गएको त्यो क्षण पक्कै पनि सजिलो भने थिएन । परिवारको मायामा हुर्किरहेको हामी, घरको एक्लो छोरा, एक्लो छोरी भएर बसिरहेको मान्छे । त्यसमा आउँदाखेरीको क्षण पक्कै पनि सजिलो भने हुँदैन र रहदैन पनि ।  

यहाँ आउँदाको नौलो संस्कृति, नौलो बसोबास, बस्ने तरिका, नीति नियमहरुले हामीलाई पक्कै पनि सहज हुँदैन । यहाँ आएर सुरु गर्नुपर्दा पनि नेपालको एडुकेशन सिस्टम र यहाँको सिस्टममा धेरै नै फरक छ । त्यहाँ (नेपालमा) कापीकलम बोकेर कलेज जान पर्छ । ब्याचलरमा पढ्दा पनि त्यसरी नै जान पर्छ । यहाँ (क्यानाडा)मा भने इलेक्ट्रोनिक मिडियमबाट सबै कुरा हुन्छ । सबै कुरा ल्यापटपबाट जान्छ । प्रोफेसरबाट साइन गर्नु पर्यो भने कलेजको सफ्वेर हुन्छ । त्यसबाटै गर्नुपर्छ । अब हामीले यहीँ सिस्टम पनि नेपालमा लागु गर्न पाउने हो भने धेरै नै राम्रो हुने थियो भन्ने जस्ता लाग्छ ।  

अब यहाँ हुँदा ज्यान यता भएपनि मन भने आफ्नै घरमा हुने रैछ । उता घरमा केही मिठो खानेकुरा पकाउँदा, ममी आज के पकाउनु भयो भन्दा ममीले आज यो पकाएको, तेरो मन पर्ने खानेकुरा पकाएको भन्दा कस्तो मन कटक्कै खान्छ ।  

हामी गत सेप्टेम्बर इन्टेकमा क्यानाडा आएको हो । तर अक्टोबर नोभेम्बर भनेको त नेपालमा महान चाडपर्वहरु दशैं, तिहार र छट हुने समय थियो । त्यो समयमा हामीलाई यहाँ भने पक्के पनि सजिलो भने भएको थिएन । किनकी उता परिवारमा रमझम भइरहेको बेलामा हामी भने यता दिनदिनै आफ्नै काममा व्यस्त थियौं । भौतारिरहेका थियौं । जागिरदेखि लिएर कलेज । यो कसरी मिलाउने, त्यो कसरी मिलाउने ? भनेर आफ्नै दुनियाँमा व्यस्त थियौं । कतिजना साथीहरु त घरमा फोन गर्दै रोएका पनि होलान् । नरुने भन्ने नै हुन्न । बच्चाबेलादेखि मनाउँदै आएको चाडपर्व एक्कासी घरबाट अलग हुँदा नरमाइलो लागिहाल्छ ।  

अब यहाँ भने सबैकुरा नौलो हुँदा, नौलानौला मान्छेहरु नै एउटा परिवार भएर बसिरहेका छौं । एउटा बेसमेन्टमा, एउटा घरमा वा एउटा फ्लोरमा वा एउटा अपार्टमेन्टमा नेपालीहरु ५-६ जना एउटा परिवार भएर मिलेर बस्दाखेरी सबैजनाको दुःखसुख बाड्ने भनेको त्यहीँ मान्छेहरु नै हुनुहुन्छ ।  

अब आफ्नो देश छाड्दाखेरी पक्कै पनि गाह्रो त सबैलाई नै हुन्छ । एउटा सुटकेशमा आफूले २२ वर्ष विताएको समयबाट २३ केजीमा केके कुरा चै समाएर लिएर आउनु ? त्यो २३ केजीमा जेजे सामान अँटाएर लिएर आयौं, सम्हालेर लिएर आयौं, त्यो भने एकदमै महत्त्वपूर्ण छ जिन्दगीको लागि ।  

अब हामीले देशमा गरेअनुसारको फल चै त्यती पाएनौं जस्ता लाग्छ । तर यहाँ भने फरक छ । म पनि स्वास्थ्यकर्मी हो । म नर्स हो । अब नेपालमा हामीले गरेको कुराको कहिले पनि कदर भएन । मैले दुई ठाउँमा दिन रात नभनी काम गर्दा पनि मात्र २५ हजार महिनामा कमाउँथे भने त्यति कमाइ भने यहाँ एकै दिनमा पनि कमाउन सकिन्छ ।  

अब नेपालमा केही कुराको कदर छैन । बिरामीलाई केही हुँदा डाक्टरको लापरवाही भयो । डाक्टरलाई नै कुटपिट गर्ने । सीपीआर दिन खोज्दा छातीमाथि चढेर पुसअप गरेको भनेर भन्ने । तर यहाँ भने कामको कदर हुन्छ । यहाँको राम्रो कुराहरु उता नेपालमा पनि भइदिएको भए, पक्कै पनि हामीले नेपाल छाड्न पर्ने अवस्था आउदैन थियो भन्ने लाग्छ ।  

ज्यान यता भएपनि मनमुटु भने नेपालमा नै रहिरहेको छ । अहिले नेपाल जे छ आजको भन्दा भोलि राम्रो भइदिओस । पर्सि राम्रो भइदिओस भन्ने चाहाना छ । हामी यहाँ भएपनि मन त मेरो नेपाली नै हो । अस्ति भरखर क्रिकेट हेर्दाको क्षणमा, राति ११ बजेको समयमा थियो यहाँ खेल । भोलि बिहान ६ बजेको समयमा कसरी काममा जाने भन्न चिन्ता थियो । तर सबै छाडेर हामीले यहाँ क्रिकेटहरु हेर्यौ । देशले विश्वकप खेल्दैछ भनेर नै हामीले सपोर्ट गरेको । यो हामीले गरेको भनेको त जुन माटोबाट हामी आएका हौं त्यो माटोप्रतिको लगाव हो ।  

धन्यवाद ।  

प्रकाशित: १९ असार २०८१ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App