तनहुँ दुलेगौडाकी मनीषा तिमिल्सिना विगत नौं महिनादेखि क्यानडामा बस्दै आएकी छन् । उनी विद्यार्थी भिसामा त्यहाँ पुगेकी हुन् । क्यानडा बसाइका क्रममा उनले भोगेका र देखेका अनुभव यस्तो छः
नमस्कार,
मेरो नाम मनीषा तिमिल्सिना हो । म विगत ९ महिनादेखि क्यानडामा बसोबास गर्दै आएको छु । म विद्यार्थी भिसामा क्यानडा आएको हूँ । केही रहर र केही बाध्यताहरुलाई दुईवटा सुटकेसभित्र प्याक गरेर वैदेशिक यात्रा तय गर्नु भन्ने कुरा सजिलो थिएन । सजिलो नहुँदा नहुँदै पनि आफूले लिएको निर्णयलाई अगाडी बढाउँछु भन्ने आशाका साथ म सेप्टेम्बर इन्टेकमा क्यानडा आएको थिए ।
यहाँ आउने वित्तिकै यहाँ चै गर्छु भन्दाभन्दै पनि अवसरहरु नपाउने अवस्था भइसकेको रहेछ । जब म यहाँ आएको थिए । मान्छेले म भाडा नै धुन्छु है, म ट्वाइलेट नै सफा गर्छु है भन्दा पनि नपाउने अवस्था थियो । नेपालमा चै एक विदेशमा ट्वाइलेट सफा गर्ने काम पाउछ रे, ए भाडा सफा गर्ने काम पाउछ रे भन्ने जस्तो होहल्ला थियो । त्यस्तो भने जस्तो कुनै पनि कुरा यहाँ छैन । एउटा संघर्ष गर्नुपर्छ ।
संघर्ष गर्दैगर्दा पनि कहिँले काहीँ भाग्यले साथ दिँदैन । अहिलेको अवस्था राम्रो भएता पनि सुरुका दिनहरुमा फरक भाषा, फरक संस्कृति, फरक रीतिरिवाजसँग घुलमिल हुनु, यहाँको नीतिनियम थाहा पाउनु, यहाँ यस्तो हुदो रैछ भनेर बुझ्नलाई समय लाग्यो ।
गाडी चढे पनि हराउने । केही किनेर खाउँ भने पनि मैले ल्याएको पैसा सकिने हो कि । भोलि जागिर नपाएर घरबाट मगाउनु पर्ने हो कि भन्ने एउटा पीरले सताउने । यस्ता धेरै कुराहरु थिए ।
यस्ता धेरै स्ट्रेस हुँदाहुँदै पनि, फेरि एउटा विद्यार्थी भिसामा भएको मान्छेलाई पढाइको प्रेसर पनि एकठाउँमा छुट्टै नै हुने । अनि केही गर्न पाए त मेरो परिवारलाई मैले सपोर्ट गर्न सक्थें ।
दुई रुपैयाँ नै किन नहोस् मेरो परिवारलाई मैले पढाउन पाए हुन्थ्यो भन्ने टेन्सन वा स्ट्रेसले सधैं सताइनै रहन्थ्यो । मन भुल्दैछ, जब खोज्दैछ केही गर्दैछ तर चाढपर्व आइदिने । यहीँबीचमा कोही झ्याप्प नेपाल गइदिने । अनि आफ्नो परिवारको याद आइदिने । नेपाल जाउँजाउँ हुने । जान पाए नि हुने भन्ने कुराहरु धेरै हुँदाहुँदै पनि, गाहे हुँदा हुँदै पनि मेहेनत गरेअनुसारको पेब्याक पाउँदा भने ओहो मैले गरे भने चै नेपालमा काम गर्दाभन्दा यहाँ धेरै पाउने रैछु ।
यहाँ मेरो मेहनतको कदर हुने रैछ भन्ने भावना चै मेरो मनमा पैदा भएको छ । मैले नेपालमा पनि काम गर्थे । दिनरात भनेर नेपालमा दुई ठाउँमा काम गर्दा बल्लतल्ल २० २५ हजारभन्दा बढी कमाउन सक्दिन थिए । मैले चाहाना भएर पनि परिवारलाई दिन सक्दिन थिए ।
यहाँ मैले एक दिनमात्र काम गरे भने पनि त्यति पैसा कमाउन सक्ने रैछु । महिनाभरी मैले काम गरे भने छब्बिसौ गुणा बढी कमाउन सक्ने रैछु है । मेरो मेहेनतको कदर हुने रैछ है । तैले घरको याद गरे पनि, नेपाल सम्झिए पनि तेरो भविष्य राम्रो हुँदै छ है । त मेहेनत गर्न आएको हो है भन्ने एउटा मोटिभेसन मलाई मिल्छ ।
जति जे भए पनि आफ्नो देश, आफ्नो परिवार भन्ने कुरा मनमा हुन्छ । जति नै झुत्रेझाम्रे भएपनि आफ्नै आमा राम्रो लागेजस्तो आफ्नो नेपाल सधैं प्यारो लाग्छ ।
कोही पनि वैदेशिक यात्रामा भएका मान्छेहरुले म यतै बस्तु, के छ र नेपालमा भन्ने सोच आउनु अगाडी नै मेरो देश राम्रो होस्, मेरो देश विकसित होस् भन्ने सोच पलाओस् ।
धन्यवाद ।
प्रकाशित: १८ जेष्ठ २०८१ १२:०९ शुक्रबार