६ पुस २०८१ शनिबार
image/svg+xml
कला

ध्यान : आनन्दमार्गको सोपान

विश्व ध्यान दिवस

सनातन परम्पराअनुसार आजको दिनदेखि सूर्य उत्तरायण हुन्छ र शीतकालको सुरुवात हुन्छ। विश्व योग दिवसको ठिक ६ महिनापछि विश्व ध्यान दिवस मनाइन्छ।

प्राचीनकालदेखि नै मान्छेको सधैं आन्तरिक कामना रहन्छ– सुख, शान्ति र आनन्द। उपनिषद्मा भनिएको छ– आनन्दबाट हामी जन्मेका छौं, आनन्दका लागि बाँचेका छौं र अन्तमा आनन्दको महासागरमा विलीन हुनेछौं। बच्चाहरू जन्मपश्चात् तीन वर्षसम्म प्राकृतिक आनन्दित रहन्छन्। यस बेलासम्म बच्चाले मानसिक आनन्दको ८० प्रतिशत उपयोग गर्छन्। सात वर्ष पुग्दा आनन्दमा ५० प्रतिशत कमी आउँछ। त्यसपछि बिस्तारै मान्छे आनन्दबाट टाढा हुँदै जान्छ।

भगवान बुद्ध भन्नुहुन्छ– जीवनमा दुःख छ, दुःखको कारण छ र दुःखको निवारण पनि छ। आर्य अष्टाङ्गिक मार्ग दुःख मुक्तिको बाटो हो। अष्टाङ्गिक मार्ग भगवान् बुद्धको दर्शनको सार तत्व हो। यस मार्गको आठौं सूत्र ध्यान साधना हो। जुन सबैभन्दा महत्वपूर्ण हो। शान्ति, स्वास्थ्य र सफलताका लागि ध्यान साधना बडो उपयोगी हो। हाम्रो दुईवटा कामना हुन्छ। पहिलो समृद्धि र दोस्रो परम आनन्द। ध्यानको अभ्यास एकदम सरल हो। जसले पनि गर्न सकिन्छ।

कसैले भनेको छ कि कुनै पनि कुराको धेरै चर्चा परिचर्चा गर्नुभयो भने मन प्यारालाइसिस हुन थाल्छ। कुनै कुरालाई हामी यति धेरै पटक सोच्छौ कि त्यो कुरा झन् जटिल बन्छ र मन अशान्त बन्न थाल्छ। वर्तमान समयमा धेरै सोचाइका कारणले पनि थरीथरीका रोग जन्मिरहेका छन्। सोचाइको प्रभावले गर्दा नै मस्तिष्कमा शुद्ध र अशुद्ध हार्मोन बन्छ। एउटा उखान पनि छ– वनको बाघभन्दा मनको बाघ शक्तिशाली हुन्छ। अहिले डाक्टरहरू औषधिको साथसाथ यो पनि सल्लाह दिनुहुन्छ कि फाल्तु सोचाइ नियन्त्रण गर्नका लागि ध्यान र प्राणायाम गर्नुहोस्।

धेरै पटक हाम्रो विचार नै हामीलाई अँध्यारो गुफामा धकेलिदिन्छ। अत्यधिक चिन्तन–मननले दिमागको स्नायुको रगत सञ्चरणलाई असन्तुलित गर्छ। जसले गर्दा स्नायुले राम्रो तरिकाले काम गर्दैनन्। किनकि रगत सञ्चरणमा असन्तुलन भएको कारण हाम्रा तन्त्रीहरूले राम्रो काम गर्दैनन्। दुःख, अशान्ति, तनाव र पीडामा नकारात्मक हार्मोन निस्कन थाल्छ। आनन्द, खुसी र शान्तिमा सकारात्मक हार्मोन निस्किन्छ।

कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।

हाम्रो शरीरको सम्पूर्ण कार्यको सञ्चालन मस्तिष्कद्वारा भइरहेको हुन्छ। यसमा मनको प्रमुख भूमिका हुन्छ। पहिला कुनै कार्य गर्ने इच्छा हुन्छ। त्यसपछि शरीरले उक्त कार्य गर्न सुरु गर्छ। शारीरिक कार्यका साथमा मन रह्यो भने मानसिक सन्तुष्टि प्राप्त हुन्छ। यदि शारीरिक क्रिया गरिरहेको बेलामा मन अन्तै गएमा मन अतृप्त रहन्छ। जबसम्म मन शान्त हुँदैन, तबसम्म केही पनि सम्भव हुँदैन। मनोविश्लेषक भन्छन्– मनका सात प्रकार हुन्छन्। तर हामीलाई विशेष रूपमा तीनवटाबारे जान्नु आवश्यक छ। चेतन, अचेतन र अर्धचेतन। चेतन भाग तार्किक हुन्छ, आलोचक हुन्छ। वस्तुहरूको निरीक्षण गर्छ। यो मस्तिष्कको कुल भागको १० प्रतिशत हुन्छ। मस्तिष्कको कुल भागको ९० प्रतिशतको अनुपातमा रहेको अचेतन भाग हो। यसले चित्त र भावको भाषा बुझ्छ र आफैंमा असीमित ज्ञान र सम्पूर्ण मानव विकासका लागि ज्ञान र शक्ति एकत्रित गरेको हुन्छ। तेस्रो, जुन अर्धचेतन हो यसलाई अवचेतन मस्तिष्क पनि भनिन्छ। यसमा जन्मका प्रमुख घटना हार्ड डिस्कमा रहेको जस्तै जम्मा हुन्छन्। यस्ता कुरा सम्मोहन शक्तिबाट जान्न सकिन्छ।

स्वामी विवेकानन्दले भन्नुभएको छ– एकाग्रताबिना कोही पनि सफल हुन सक्दैन। यसकारण हामीले पहिला मनलाई एकाग्र गर्नुपर्छ। हाम्रो मनमा लगातार विचारहरूको यान्त्रिक प्रवाह चलिरहन्छ। मनोवैज्ञानिक भन्छन्– २४ घण्टामा ५० देखि ६० हजार विचार हाम्रो मनमा आउँछन् तथा हामी आवश्यकताभन्दा बढी बोल्ने गर्छौं। दैनिक चार हजार शब्द बोल्छौं। सात घण्टाको सुताइमा १४ वटा सपना देख्छौं। मस्तिष्कको सम्पूर्ण शक्तिको १० प्रतिशत मात्र हामी उपयोग गर्छौं र बाँकी ९० प्रतिशत शक्ति ह्रास भएर जान्छ। यसैकारण– अधैर्य, असफलता, निराशा, डर, तनाव, मानसिक असन्तुलन र कलहको स्थिति पैदा हुन्छ।  

अध्यात्मअनुसार मनका तीन स्तर छन्– शान्त, चञ्चल र आलसी। कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्। यस्ता मान्छे नै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ। कोही मान्छेको मन चञ्चल हुन्छ। यस्ता मान्छे लगभग ८० प्रतिशत हुन्छन्। यस्तो प्रकृतिका मान्छे सधैं असन्तुष्ट रहन्छन्। उनीहरूले कार्य गर्न धेरै समय लगाउँछन्। नकारात्मक भावले यिनीहरूलाई छिटै प्रभावित गर्छ। जाडोमा गर्मीको चाहना गरिरहन्छ र गर्मीमा जाडोको इच्छा गरिरहन्छ। यस्ता व्यक्तिमा रजस तत्व बढी हुन्छ। यस्ता व्यक्ति सानो कुरामा सुखी पनि हुने र दुःखी पनि हुने गर्छन्।

आलसी प्रवृत्तिका मान्छे लगभग १० प्रतिशत हुन्छन्। यस प्रवृत्तिका मान्छे अकर्मी हुन्छ। आफूलाई अशक्त ठान्छन्। उनीहरूमा कुनै पनि कार्य गर्ने आँट हुँदैन। उनीहरूको आकांक्षा ठुला हुँदैनन्, साथै निराशा, दुःख र हीन भावनाका सिकार हुन्छन्। यिनीहरूमा कार्यलाई समयभन्दा पर सार्दै जाने प्रवृत्ति हुन्छ।  

मानसिक शान्तिका लागि समझ र ध्यानको आवश्यकता हुन्छ। समझ भन्नाले विवेक हो। ८० प्रतिशत मानिस बुद्धिमान् हुन्छन्। बुद्धिमान् मान्छे अर्काको विचारधाराबाट चल्छन्। यिनीहरूको नयाँ गर्ने क्षमता कम हुन्छ। बुद्धिमान् मान्छे अकारण पक्ष वा विपक्षमा रहन्छन्। गलत तर्क दिएर सधैं आफ्नो प्रभाव बनाउन खोज्छन्। दुःखी मान्छेलाई हेरेर दुःखी हुन्छन् तर सुखी मान्छेलाई हेरेर इर्ष्यालु बन्छन्। अर्काको सोचलाई भावबाट प्रेरित भएर कार्य गर्छन् र अनावश्यक जिम्मा लिइरहन्छन् तथा जीवनलाई अशान्त बनाउँछन्। २० प्रतिशत मान्छे विवेकवान् हुन्छन्। विवेकवान् मान्छे अकारण पक्ष वा विपक्षमा रहँदैनन्। क्षमताअनुसार मात्र कार्य गर्छन्। विवेकवान् मान्छे प्रज्ञाको आँखाबाट हेर्ने गर्छन्। अनावश्यक जिम्मा लिँदैनन्। असफलतालाई पनि विकासका लागि सहयोगी ठान्छन्। निराशा र अशान्ति यिनीहरूको जीवनमा आउँदैन। यस्तो व्यक्ति नै नयाँ विचारधारा पैदा गर्छन्।

ध्यान  

ध्यान मानसिक शान्ति प्राप्तिको उपाय हो। थुप्रै प्रकारका ध्यानका क्रिया छन्। त्यसमध्ये कुनै एउटा ध्यान विधिको प्रयोग गरेर मनलाई शान्त गर्न सक्नुहुन्छ। ध्यान गर्दा पदमासन, सिद्धासन वा सुखासनमा बस्नुपर्छ। शरीरमा खुकुल्लो लुगा लगाएर एकान्तमा बस्नु राम्रो हुन्छ। ध्यानका लागि ब्रह्म मुर्हूतको बेला धेरै उपयोगी हुन्छ। यसबाहेक प्रातःकाल र सन्ध्याकालमा पनि ध्यानको साधना गर्न सकिन्छ।

पहिलो ध्यानविधि

प्रातःकाल नित्यक्रियासित निवृत्त भएर सुखासनमा बस्नुहोस्। स्थिर भएर लगातार १५ मिनेट बसिराख्नुहोस्। यसमा बसेर २१ पटक ओमको उच्चारण गर्नुहोस् र बाँकी समय चुप लागेर बस्नुहोस्। अनि लामो र गहिरो सास बिस्तारै बिस्तारै लिनुहोस् र छोड्नुहोस्।  

दोस्रो ध्यानविधि

ध्यानको आसनमा बसेर शरीरलाई शिथिल बनाउने। आँखा बन्द गरेर पूर्णिमाको चन्द्रमालाई सम्झिने। लगातार १० मिनटसम्म सम्झिराख्ने। यो गर्न बेला लामो र गहिरो साँस लिने र बिस्तारै–बिस्तारै छोडने। यसमध्ये कुनै पनि एउटा ध्यान गरेर तपाईं २१ दिनमा यसको प्रभाव र लाभ हेर्न सक्नुहुन्छ। मनको चचञ्लता हटाउन, परमशान्ति र एकाग्रता बढाउन हामीलाई ध्यान गर्न जरुरी छ। सामान्य रूपमा हाम्रो मनमा शान्तिको स्थिति हुँदैन। सधैं उथलपुथल भइरहन्छ। एउटा विचार सयौं पटक आइरहन्छ। कहिले निराशा, कहिले दुःखको विचार आइरहन्छ। यस्ता समस्यासित मुक्तिका लागि ध्यानबाहेक कुनै उपाय छैन।

ध्यानसाधनाका क्रममा सुरुसुरुमा धेरै विचार आउँछन्। यसका लागि चिन्ता गर्नुपर्दैन। विचार राम्रो छ वा नराम्रो भनेर पनि सोच्नु हुँदैन। यसरी सोच्दा विचार हराएर जान्छन्। ध्यान गर्ने बेला कम्बलको आसनमा बस्नु राम्रो हुन्छ। अभ्यास गर्दा बिस्तारै बिस्तारै विचार नै नरहने बेला पनि आउँछ। मन शान्त भएर जान्छ र निर्विचारको स्थिति उत्पन्न हुन्छ। पाँच वर्षभन्दा माथिका सबैले ध्यान अभ्यास गर्न सक्छन्।  

धेरै मान्छे सोध्छन् कि ध्यानको लाभ के हो ? यसको उत्तर जान्नका लागि छब्बीस सय वर्ष पहिला भगवान् बुद्धको समयमा जानुपर्छ। ध्यान साधनामा धेरै प्रयास र परिश्रमपछि जब भगवान् बुद्ध आत्मज्ञानी हुनुभयो, त्यसपछि उहाँको गुरु भाइ र अरू साधकहरू जम्मा भएर प्रश्न सोधे– भगवान् ! ध्यानसाधनाबाट तपाईंले के पाउनुभयो ? भगवान् बुद्ध लामो सास लिएर मुसुमुसु हाँस्नुभयो र भन्नुभयो– ध्यान साधनाबाट मैले केही पाएको छैन। बरु मैले धेरै कुरा गुमाएको छु। सबै जना पूर्ण एकाग्रता र उत्सुकताका साथ उहाँको कुरा सुनिरहेका थिए।  

बुद्धले भन्नुभयो– मैले आफ्नो मनको अशान्ति र चञ्चलता गुमाएको छु। आफ्नो मनको बेचैनी र डर गुमाएको छु। अपेक्षा र उपेक्षाबाट जन्मेको मनको दुःख र पीडा गुमाएको छु। आफ्नो मनका निराशा र कामना गुमाएको छु। यी सबै कुरा सुनेपछि भक्तहरू सोच्न थाले, जब सबै थरीका नकारात्मक कुरा नष्ट भइहाल्छन्। त्यसपछि परमशान्ति र आनन्द मात्र बाँकी रहन्छ। सामान्य रूपमा कुनै पनि कार्य गर्न हामीलाई गाह्रो लाग्छ। तर राम्रो तरिकाले सिक्ने हो भने काम गर्न सजिलो हुन्छ। ध्यानसाधनामा पनि यही कुरा लागु हुन्छ। जब तपाईं राम्रो तरिकाले सिकेर ध्यान अभ्यास प्रारम्भ गर्नुभयो भने ध्यानसाधना अति सहज र अनिवार्य लाग्ने गर्छ।

प्रकाशित: ६ पुस २०८१ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App