५ महिनापहिले साउदी अरब गएका पाल्पा कोलडाँडा–५ बिस्कुन डाँडाका ३१ वर्षीय मेजरसिंह रानाको वैशाख २३ गते मृत्यु भएको थियो। साउदीस्थित नेपाली दूतावासले सहयोग नगरेका कारण उनको शव २८ दिनदेखि साउदीकै अल्लिफ नेशनल अस्पतालमा छ।
अस्पतालमा दैनिक लास कुरेर बसेका गाउँले छिमेकी जितबहादुर गाहाले दूतावासले लास पठाउन वास्ता नगरेको बताए। 'दूतावासले नगरी क्यै काम हुँदो रैनछ तर पटक्कै चासो दिएका छैनन्', गाहाले नागरिकसित टेलिफोनमा भने- एक सातामै लास नेपाल पठाउने भनेका थिए तर फर्केर आएनन्। उनले साउदीस्थित नेपाली दूतावासमा आफू पटकौं धाएको बताए। 'उहीँ गए एक हप्तामा सबै काम हुन्छ भन्छन् र फर्काउँछन्। पछि मोवाइलमा फोन हान्दा पनि उठाउँदैनन्। कार्यालयको फोन जति हाने पनि उठ्दैन'- उनले भने।
राना काम गर्ने नेशनल प्राउन कम्पनीले दूतावासबाट आवश्यक कागजात पूरा भए कार्गोमार्फत् तुरुन्तै शव नेपाल पठाउने भन्दै आएको तर दूतावासले ढिलाई गरेको गाहाले बताए। मृतक राना प्राउन कम्पनीमा माछालाई आहार खुवाउने नोकरी गर्थे।
अस्पतालमा लास कुरेर बस्नुपरेकाले गाहाले नोकरी गर्न पनि नपाएको गुनासो गरे। 'धेरै बिदा लिँदा मेरो पनि जागिर खोस्लान् जस्तो गरेका छन्, काममा हाजिर हुन पाएको छैन'- उनले नेपालबाट पठाएको कागजातका आधारमा साउदी प्रहरीको स्वीकृति लिई कार्गो गरी पठाउने प्रक्रियामा दूतावासले सहयोग नगरेका कारण लास रोकिएको बताए।
नेपालतर्फबाट मृत्यु भएको ३ दिनमै आवश्यक कागजातको प्रक्रिया पूरा हुँदा पनि लास अहिलेसम्म नेपाल ल्याइएको छैन। परिवार लासको दाहसंस्कार गरेरमात्र किरिया बस्ने भनेर कुरिबसेका छन्। याममायाले किरिया बस्न पनि नपाउँदा पीडा झन् बढी भएको बताइन्।
रानाका बुबा प्रेम रानाले छोराको लास ल्याइदिन आग्रह गरे। 'कहाँ गुहार माग्न जाने हामी केही जान्दैनौं। आज आउला, भोलि आउला भन्दै कुरेका छौं।'
जीवन साथीको बियोगको पीडामाथि याममायालाई विदेश जाँदा साहूबाट लिएको १ लाख ५ हजार रुपैयाँ ऋण अब कसरि तिर्ने भन्ने चिन्ता पनि आइलागेको छ। गाउँमा सयकडा ३ ब्याजमा ऋण काढेको उनले बताइन्। 'जग्गा जमिन छैन, भएको एउटा घर बेचेर कहाँ जाने ?'- उनले भनिन्। पतिको मृत्युपछि काखे छोरीको लालनपालन र साहूको ऋण चुक्ता गर्ने जिम्मा २३ वर्षीया एक्ली यममायाको काँधमा आएको छ।
प्रकाशित: १८ जेष्ठ २०६७ ०६:३१ मंगलबार





