१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

हङकङ नेपाली महासंघमा प्रदिप विजयी

हङकङ, वैशाख २७ (नागरिक) - हङकङका नेपालीहरूको छाता संगठन हङकङ नेपाली महासंघको अध्यक्षमा प्रदिप थापामगर विजयी भएका छन्। आइतबार भएको अधिवेशनले धरान-हङकङ मञ्चका अध्यक्ष थापालाई महासंघको अध्यक्षमा चुनेको हो। नेपाली काँग्रेस समर्थक थापाले ३० मत प्राप्त गरेका थिए।

  अध्यक्षका प्रत्यासीद्वय एमाले समर्थक भक्तबहादुर गुरुङले २५ र जनमुक्ति पार्टी समर्थक एमबी थापामगरले १३ मत ल्याएका थिए। महासंघको अध्यक्षमा पूर्वी नेपालका प्रतिनिधि मात्र चुनिँदै आएकाले यसपटक पश्चिमको प्रतिनिधित्व होस् भनेर सर्वसम्मत गराउने कोशिश गरिए पनि सम्भव भएन। अध्यक्षका प्रत्यासी स्याङ्जा-हङकङ मञ्चका अध्यक्ष गुरुङ र नेपाल मगर संघ हङकङका अध्यक्ष थापामगर पश्चिमका हुन्।


महासंघको उपाध्यक्षमा तामाङ घेदुङबाट विष्णु पाख्रिन, महासचिवमा तमू ट्हो ह्यूलबाट निता गुरुङ, सचिवमा किरात याक्थुङ चुम्लुङबाट नन्द चंग्सु, र कोषाध्यक्षमा मोरङ समाज हङकङका लोकराज लिम्बु चुनिएका छन्। उनीहरू सबै जनजाति हुन्। समितिमा गैर जनजाति समुदायबाट प्रतिनिधित्व गराइएको छैन।


सन् १९९८ मा स्थापना भएको हङकङ नेपाली महासंघको यो सातौँ अधिवेशनले पूर्व अध्यक्ष गणेश इजमको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ। सय भन्दा बढी नेपाल संघसंस्था रहेको हङकङमा करिब २५ वटा महासंघसंग आवद्ध छन्।

नेपाली समुदायको हकहितमा क्रियाशील महासंघको अगुवाईमा गत वर्ष दिलबहादुर लिम्बुको हत्याविरुद्ध नेपालीहरूले ठूलो प्रदर्शन गरेका थिए।


प्रकाशित: २७ वैशाख २०६७ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App