१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

सगरमाथा आरोही हरिबुढा मगर बेलायतमा सम्मानित

सगरमाथा आरोही हरि बुढा मगर बेलायतमा चर्चित व्यक्तिको रुपमा सम्मानित भएका छन्।

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच उनलाई २०२३ का चर्चित व्यक्तित्वको पहिलो सूचिमा राखिएको हो।

आइतबार स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्य, ले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाई रहेको पहिलो पुस्ताको योगदान महत्त्वपूर्ण रहेको बताए।

उनले विश्वव्यापीकरणको आजको युगमा हामी सबै एक अर्कासँग सम्बन्धित छौ भन्दै अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले नेपालमा बसेका नेपाली र बेलायतमा बसेका नेपाली र ब्रिटिशहरुलाई सुसूचित गर्ने पत्रकारिताको भूमिका अवसर र चुनौती पनि रहेको बताए।

'तपाईँहरूको आर्थिक मात्रै हैन, सीप, शिक्षा, नेटवर्क र अनुभव पनि योगदान हो। तपाईँहरूको अनुभव, सीप, नेटवर्क र पहुँच पनि महत्त्वपूर्ण छ' उनले भने।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए।

एनआरएनएका एक जना संस्थापक रहेका प्रा सुवेदीले २०१५ देखि आफू सक्रिय नरहे पनि आफूले जन्माएको संस्थाको माया लाग्ने बताए। कम्बोडिया, इराक र इजिप्टको उदाहरण दिँदै उनले मुलुक अगाडि बढी रहेको बताए। त्यसैले निराश नहुन र आशा वादी हुन उनले सुझाव दिए।

एनआरएनए आइसीसीका उपाध्यक्ष डा. हेमराज शर्माले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा बारे गहन छलफल भइरहेको बताए।

सो अवसरमा सन् २०२३ का चर्चित व्यक्तित्वहरू बीबीसी मास्टर सेफ विजेता सन्तोष साह, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, शनिबारमात्रै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक (डबल एम्पुटी अबोभ नी) हरि बुढा मगर, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, बेलायतको टोटेनह्याम फुटबल क्लबसँग आबद्ध खेलाडी अस्मिता आले,  चर्चित नेपाली चित्रकार गोविन्द साह 'आजाद' ब्रिटिश आर्मीका सेवानिवृत्त  मेजर जुदबहादुर गुरुङ, बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा. प्रियंवदा पौड्याल, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका अध्यक्ष, भूतपूर्व गोर्खा सैनिक, कमल पुर्जा, एवम् कलाकार तथा नायक ध्रुव दत्तलाई सम्मान गरिएको थियो।  

त्यस्तै बेलायतमा कार्यरत सामाजिक संघ संस्थाहरुमध्येबाट नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको टिमलाई सम्मानित गरिएको थियो।

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभकामना बीबीसी नेपाली सेवाकी पूर्व प्रस्तोता संगीता मरहट्टाले पढेर सुनाएकी थिइन्।

प्रकाशित: ८ जेष्ठ २०८० १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App