coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

संविधानले परिकल्पना गरेअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउँछन्: परराष्ट्रमन्त्री साउद

एनआरएनए नागरिकतामा सबै दलको एउटै प्रतिबद्धता

एनपी साउद

संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषयमा नेपालका प्रमुख दलका नेताहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरुले गैरआवासीय नेपालीहरुका मुद्धाका एक मत जाहेर गरेका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए। चेक रिपब्लिकमा जारी १५ औँ यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने  भनी  स्पष्ट व्यवस्था रहेकोले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भने, 'गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा १५ /१६ वर्षदेखि बहसको विषय बनिरहेको छ अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु।'

गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै उनले भने, 'संविधान सम्मानित छ र परिवर्तनशील पनि छ। संविधान परिवर्तन नहुन्जेल चाहिँ हामी संविधानको दायराभित्र बस्नुपर्छ। तपाईहरुका समस्यालाई कानूनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ।'

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषय नेपाली कांग्रेस सकरात्मक रहेको बताए। उनले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पती अधिकार, मताधिकारका विषयमा बिभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए। लेखकले आगामी दशैँ तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गरे।  नेम्वाङले भने,  'नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनु पर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ।'

उनले समयअनुकुल आवश्यकता अनुसार संविधानलाई संसोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए। उनले  गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गरे। उनले  नेपालका राजनीतिक दलहरुलाई थप जिम्मेवारी दिन समेत  गैरआवासीय नेपालीहरुलाई आग्रह गरे।

नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान, सम्पतिको सुरक्षा र सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रियामा बोल्दै नेकपा माओवादीका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीहरुको मागप्रति प्रतिबद्धता व्यक्त गरे। संस्थाका अध्यक्ष कुल आचार्यको सभापत्विमा सम्पन्न तेस्रो दिन आइतबारको  कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा. हेम राज शर्मा, आरके शर्माले नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान, सम्पतिको सुरक्षा र सामाजिक सुरक्षा लगायतका विषयमा कानूनी अड्चन तथा चुनौतीका बारेमा संस्थागत धारणा प्रस्तुत गरेका थिए। 

संघका उपहासचिव रामशरण सिम्खडाले सञ्चालन गरेको कार्यक्रममा सरोज दाहाल, योगेन क्षेत्री लगायतले आ–आफ्ना सुझाव दिएका थिए। शुक्रवारदेखि सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ।  सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।  

प्रकाशित: २४ वैशाख २०८० १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App