६ वैशाख २०८१ बिहीबार
प्रवास

राष्ट्रिय हित र स्वार्थका लागि काम गर्छु: नवनियूक्त राजदूत सुवेदी

लन्डन-  बेलायतका लागि नवनियुक्त राजदूत दुर्गा बहादुर सुवेदीले आफ्नो ४ बर्षे कार्यकालमा नेपालको हित र स्वार्थका लागि काम गर्ने बताएका छन्।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरुसँग शुक्रवार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सुवेदीले नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध अझ सुमधुर, फलदायी र प्रगाढ़ बनाउनु नै आफ्नो मूल दायित्व भएको बताए। सुवेदीले बेलायतस्थित नेपाली डायस्पोरासँग पनि निकटतम सम्बन्ध स्थापित गरेर अघि बढ्ने बताए।  

सुवेदीले दूतावास भित्र कुनै पनि अनिमियता हुन नदिने प्रतिबद्धता जनाउदै दूतावासबारे सेवाग्राहीबाट सुनिने गरेका गुनासाहरूको सम्बोधन भइसकेको र छिटोछरितो एवं निष्पक्ष सेवाप्रवाहको व्यवस्था सुरु गरिएको जानकारी दिए।

उनले दूतावासले कुनै जातिय, क्षेत्रीय वा राजनैतिक हिसावले कुनै पनि नेपालीलाई भेदभाव नगर्ने बताउँदै दूतावासको कुनै कर्मचारीले त्यो ब्यवहार गरेमा आफुले तत्तकाल कार्यवाही गर्ने बताए। उनले आफूलाई राजदूत भन्दा साथी भाइको रुपमा लिन आग्रह गर्दै दूतावास भित्र सबै नेपालीहरूलाई समान र सम्मानजनक व्यवहार गरिने स्पष्ट पारे।

सुवेदीले लामो समयसम्म बल्झिएको भूपूगोर्खाहरुको  समस्या समाधनका लागि आफुले कूटनैतिक रूपमा पहल गर्ने बताए। उनले गोर्खा समस्या द्विदेशीय र राजनैतिक प्रकृतिको भएकाले यसको सही उपचार पनि कूटनैतिक रुपमैं निकाल्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

अदालतसम्म पुगेर न्यायिक फैसलासमेत आइसकेको विषय भएकाले यो जटिल र गम्भीर बनेको स्मरण गर्दै उनले पत्रकारलगायतका सबै प्रबुद्ध वर्गमा संयमित भएर अभिव्यक्ति र कार्यक्रम गर्न आग्रह गरे। आवेग र संवेगभन्दा सरकारी स्तरमैं प्रभावकारी छलफल र संवादबाट यसको परिणाममुखी निकास निस्कने उनको बुझाइ थियो ।

उनले दूतावासको सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक परे विदाको दिन पनि कार्यालय खोलेर अत्यावश्यक सेवा प्रदान गर्न दूतावास तयार रहेको बताए। अप्ठ्यारोमा परेका बेला नागरिकको सहयोग गर्नु दूतावासको कर्तव्य हो, उनले भने।

करिब २ दर्जन पत्रकारको उपस्थितीमा भएको कार्यक्रम दूतावासका प्रवक्ता शरद राज आरनले संचालन गरेका थिए ।  अन्तरक्रियामा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, भगीरथ योगी, चिरन शर्मा र नरेश खपाङ्गी लगायतले बेलायतमा नेपाली पत्रकारका अनुभव, सम्भावना र चुनौतीबारे राजदूतलाई अवगत गराएका थिए।

 

 

 

 

प्रकाशित: २२ आश्विन २०७३ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App