१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

आप्रवासी नेपालीको संख्या बढ्यो

सिड्नी-अस्ट्रेलियामा एउटा ठट्टा ज्यादै प्रचलित छ । जुन व्यक्तिसँग ठोक्किए पनि उसको कम्तीमा एउटा पुर्खा चाहिँ अस्ट्रेलिया बाहिरकै फेला पर्छन् रे ! पछिल्लो गणनाले यो ठट्टालाई बल पुर्याएको छ । अस्ट्रेलियाको १२० वर्षे इतिहासमै विदेशमा जन्मिएका अस्ट्रेलियालीको संख्या बढेको तथ्यांकले देखाएको छ ।२०१५ मा देशको २८ प्रतिशतभन्दा बढी संख्या विदेशमा जन्मिएको देखिएको हो । गएका १५ वर्षयता हरेक वर्ष आप्रवासी अस्ट्रेलियालीको संख्या बढेको देखिएको छ । सन् २००५ यता अस्ट्रेलियामा सबैभन्दा तीव्र गतिमा नेपाली समुदायको संख्या बढेको सिड्नी मोर्निङ हेराल्डले जनाएको छ । गएको १० वर्षमा नेपालीको संख्या ११ गुनाले बढेको छ । २००५ मा जम्माजम्मी तीन हजार ८ सयको संख्यामा रहेका नेपालीको संख्या यतिबेला ४३ हजार ५ सय पुगेको छ ।

त्यसो त अन्य समुदायको तुलनामा यो संख्या निकै कम हो तर प्रत्येक वर्ष २८ प्रतिशतको दरले नेपाली बढिरहेको तथ्यांकले देखाएको छ । यस अवधिमा पाकिस्तान, ब्राजिल र भारतमा जन्मिएर अस्ट्रेलियाली बनेकाहरूको संख्या तीन गुणा बढेको छ ।

अस्ट्रेलियामा सन् १८९० को दशकमा खानीको उत्खनन् सुरु भएपछि आप्रवासी संख्या बढेको थियो । 'सुरुमा चिनियाँ आप्रवासी आए,' युनिभर्सिटी अफ सिड्नी स्कुल अफ सोसल एन्ड पोलिटिकल साइन्सेजका प्राध्यापक एना बौचरले भनिन्, 'त्यसपछि 'श्वेत अस्ट्रेलिया' नीतिका कारण लामो समयसम्म आप्रवास बन्द गर्न सीमा बन्द गरिएको थियो । विश्वयुद्धपछि कमनवेल्थ (राष्ट्रमण्डल) राष्ट्रका बासिन्दा आउन थाले ।'

२० औं शताब्दीको आधा शताब्दीसम्म आप्रवासी पूरै घटे पनि १९४५ पछि अस्ट्रेलियाको आप्रवास नीतिमा परिवर्तन भएपछि क्रमशः बढेको थियो । युद्धपछिको समयमा अस्ट्रेलियामा जनसांख्यिक सन्तुलन गडबडाउन पुग्दा 'जनताविहीन हुने कि जनघनत्व बढाउने' छलफल हुँदा आप्रवास नीति खुकुलो पारिएको थियो । सन् १९७० को मध्यमा गघ ह्विटलाम र माल्कम फ्रेजर सरकारले आप्रवासी स्वागत गर्ने नीति लिएपछि क्रमशः संख्या बढेको थियो । सन् २००० यता त आप्रवासीको संख्या उच्च दरमा बढेको छ ।

आप्रवासमा अन्तर्राष्ट्रिय विद्यार्थीको समूहले ठूलो भूमिका खेलेको छ । मूल निवासीभन्दा आप्रवासीको संख्या बढी हुने देशमा लक्जेम्बर्ग सबैभन्दा अगाडि छ (४३.७%), त्यसैगरी स्विजरल्यान्ड (२८.३%) र न्युजिल्यान्ड (२८.२) पछि अस्ट्रेलिया चौथो नम्बरमा पर्छ । 'यति धेरै आप्रवासीको प्रतिशत यसअघि कहिल्यै थिएन,' अस्ट्रेलियाली तथ्यांक विभागका बैदर चोले भने ।

नेपालमा जन्मिएकी पुष्पा बेल्बासे सन् १९९६ मा सिड्नी आएकी थिइन् । सुरुका केही दिनमा निकै अप्ठेरो झेले पनि अब अन्त कतै जान नसक्ने स्पष्ट पारिन् । 'अहिले त अस्ट्रेलिया घरजस्तै भएको छ,' पुष्पाले भनिन् । उनका दुई सन्तान यहीँ जन्मिएका हुन् । 'नेपालमा भन्दा राम्रो जीवन छ यहाँ,' पुष्पाले भनिन्, 'यहाँ राम्रो शिक्षा पाउन सकिन्छ, बाँच्न सहज छ । त्यसैले म यहाँ निकै खुसी छु ।'

प्रकाशित: १७ चैत्र २०७२ २२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App