२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

चीनमा कांग्रेसको नयाँ समिति

बेइजिङ—चीनमा नेपाली कांग्रेसले जनसम्पर्क समितिको नयाँ कार्यसमिति गठन गरेको छ। दक्षिण चीनको ग्वान्झाओमा गत वर्ष खुलेको काँग्रेसको जनसम्पर्क समितिको पहिलो अधिवेशनले राजन कुमार जमकट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।मंगलबार बनेको एघार सदस्यीय समितिको उपाध्यक्ष नरेन्द्र कँडेल, महामन्त्री युवराज न्यौपाने र कोषाध्यक्षमा दिपीका थापा चयन भएका छन्। कृष्ण पाण्डे, जोहन कुमार जोशी, रमेश लामिछाने, राज कुमार जमकट्टेल, अमृत गुरुड, सुजल कुमार श्रेष्ठ र तिर्थराज न्यौपाने सदस्य रहेका छन्।

चीनको कानुन अनुसार यसरी राजनीतिक संगठन खोलेर गतिविधि गर्न पाइँदैन। तर गत वर्ष काँग्रेसका केन्द्रिय सदस्य गगन थापा हङकङ हुँदै ग्वान्झाओ छिरेर जनसम्पर्क समिति स्थापना गरेका थिए। जनसम्पर्क समिति प्रवासमा रहेका काँग्रेस समर्थकहरूको भातृ संगठन हो। चीनमा काँग्रेसले आफ्नो प्रवासी संगठन स्थापना गरे पनि एमाले, एमाओवादी लगायतका पार्टीहरूले भने अहिलेसम्म त्यस्तो प्रयास गरेका छैनन्।

काँग्रेसका केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति प्रमुख अर्जुन प्रसाद जोशीको सहभागितामा अधिवेशनमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै जोशीले कार्यकर्तालाई प्रवासमा संगठित रुपमा आफ्नो हितमा लाग्न र मातृभूमी फर्केपछि जिम्मेवारी लिनसक्ने बनाउन संगठन स्थापना गरिएको बताए।

जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापामगर समेत सहभागी कार्यक्रममा चीनका नयाँ अध्यक्ष जमकट्टेलले भने, 'चीनमा राजनीतिक गतिविधि गर्न नपाइने हुनाले विगतमा संगठन केही शिथिल भए पनि अब सक्रिय बनाउन प्रतिवद्ध छु ।'

प्रकाशित: २३ मंसिर २०७२ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App