एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेले बिहीबार लण्डनबाट पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै चुनावी चहलपहल बढेको छ। एनआरएनएका ७१ देशका राष्ट्रिय समन्वय परिषद्बाट काठमाडौँ आउने करिब एक हजार पाँच सय प्रतिनिधिले अक्टोबरमा नयाँ नेतृत्व चयन गर्नेछन् । नेपाल सरकारले परराष्ट्रमन्त्रीको संयोजकत्वमा आयोजक कमिटि गठन गरेर 'एनआरएनए पुनर्निर्माणको सच्चा साझेदार' नाराका साथ हुन लागेको सम्मेलनको तयारी थालेको छ।
वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम कुमार (त्रिलोक) गुरुङले शुक्रबार साँझ हङकङका नेपाली सञ्चारकर्मी तथा एनआरएनए हङकङका पदाधिकारीबीच कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएमा लामो अनुभवको आधारमा कोषाध्यक्षको उम्मेदवार बनेको बताउँदै गुरुङले भने, 'नेपालको पुनर्निर्माणमा प्रतिवद्धता अनुसार सहयोग परिचालन, काठमाडौँमा भवन निर्माण, पर्यटन प्रवद्र्धन तथा वैदेशिक रोजगारीको कुशल व्यवस्थापन अब एनआरएनएको प्राथमिकता हुनुपर्छ ।'
हङकङस्थित गोर्खा एकता इन्टरनेशनल गु्रपका प्रबन्ध निर्देशक गुरुङ हङकङ र मकाउमा स्थापित व्यावसायी हुन्। एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष रहिसकेका गुरुङ त्यसपछि एसिया–प्यासेफिक क्षेत्रीय संयोजक थिए। काठमाडौँमा एनआरएन भवन निर्माण र भूकम्पपछि राहत संकलनमा एसिया–प्यासेफिक क्षेत्रमा प्रभावकारी भूमिका खेलेका गुरुङले संविधान बनेकाले अब देशको आर्थिक विकासमा एनआरएनएले भूमिका खेल्नु पर्ने बताए ।
राजनीतिक पार्टीहरूले नयाँ संविधानमा एनआरएनए नागरिकताको व्यावस्था गरेकोमा धन्यवाद दिँदै गुरुङले पुनर्निर्माण र आर्थिक पूर्वाधार विकासमा एनआरएनएले आफ्नो भूमिका सावित गरेको बताए । 'भूकम्पपछि उद्धार र राहत कार्यमा अध्यक्ष शेष घलेको पहलमा एनआरएनएले जुन भूमिका खेल्यो त्यसले संस्थाको प्रभावकारिता बढाएको छ', गुरुङले भने 'अब पुननर्निर्माण कार्यमा हामी समर्पित भएका छौँ ।'
एनआरएनए हङकङका अध्यक्ष ललित लिम्बुले कोषाध्यक्षमा गुरुङको उम्मेदवारीउत्साहजनक रहेको भन्दै चुनावी अभिायन शुरु भएको बताए । हङकङका निवर्तमान अध्यक्ष दुर्गा गुरुङले यसअघि हङकङबाट दुई जना कोषाध्यक्ष भएको बताउँदै गुरुङको उम्मेदवारीले त्यो परम्परालाई निरन्तरता दिने उल्लेख गरे । गुरुङको उम्मेदवारीप्रति अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सर्मिला गुरुङले ऐक्यवद्धता जनाइन् ।
प्रकाशित: २ आश्विन २०७२ ०१:११ शनिबार





