आदरणीय गगनकुमार थापाज्यू र विश्वप्रकाश शर्माज्यू,
मेरो बाल्यकालको एउटा दृश्य आज पनि मनमा ताजै छ। कुनै आन्दोलन भइरहेको थियो। म सानो थिएँ, राजनीति बुझ्ने उमेर थिएन। न पार्टी चिनेको थिएँ, न विचारधारा बुझेको थिएँ। तर मेरो हातमा एउटा चारतारे झण्डा थियो। म त्यो झण्डा बोकेर अरूको पछि-पछि हिँडिरहेको थिएँ।
समय बित्दै गयो। म ठूलो हुँदै गएँ। अनि बिस्तारै बुझ्न थालेँ—चारतारे झण्डा केवल एउटा चुनाव चिह्न होइन रहेछ। यो त लोकतन्त्रको विश्वास, स्वतन्त्रताको सपना, समानताको प्रतिबद्धता र हरेक नागरिकलाई सम्मानपूर्वक साथ लिएर हिँड्ने राजनीतिक संस्कारको प्रतीक रहेछ। यही विश्वासले मलाई नेपाली कांग्रेससँग भावनात्मक रूपमा जोड्यो।
बाल्यकालदेखि आजसम्म म निरन्तर चारतारे झण्डा बोकेर हिँडिरहेको छु। मेरो क्षेत्रबाट उठ्नुभएका पार्टीका उम्मेदवार र नेताहरूलाई मैले आफ्नो सामर्थ्यले भ्याएसम्म साथ दिएको छु। कहिले घरदैलोमा हिँडेर, कहिले मानिसहरूलाई जोडेर, कहिले आफ्नो समय, श्रम र सम्बन्ध खर्च गरेर, मैले कांग्रेसलाई आफ्नो पार्टी ठानेर योगदान गरेको छु। मैले कहिल्यै कुनै पदको बार्गेनिङ गरिनँ। मलाई लाग्थ्यो—पार्टीले एक दिन योगदान, प्रतिबद्धता र क्षमतालाई अवश्य देख्नेछ।
आज म नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँ। लोकतन्त्र र समावेशी समाजको पक्षमा खुलेर बोलिरहेको छु। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूको अधिकार, सम्मान र सहभागिताका लागि निरन्तर संघर्ष गरिरहेको छु। तर यतिका वर्षको आस्था, योगदान र निरन्तर यात्रापछि पनि एउटा प्रश्नले मेरो मनलाई बारम्बार घोचिरहेको छ—
के नेपाली कांग्रेसमा हामीजस्ता मानिसहरू झण्डा बोक्न मात्र योग्य हौँ, तर नेतृत्व गर्न योग्य छैनौँ?
यदि नेपाली कांग्रेस साँच्चै समावेशी पार्टी हो भने, यदि यसले विविधतालाई आफ्नो शक्ति ठान्छ भने, म जस्ता सक्रिय, प्रतिबद्ध र राजनीतिक रूपमा सक्षम लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउने बाटोमा आखिर केले रोकिरहेको छ?
हाम्रो योग्यता कम छ? हाम्रो योगदान कम छ? हाम्रो निष्ठा कम छ? कि हाम्रो पहिचान नै हाम्रो विरुद्धको अदृश्य पर्खाल बनेको छ?
समावेशिताको कुरा भाषणमा सुन्दर सुनिन्छ। घोषणापत्रमा अझ आकर्षक देखिन्छ। तर यसको वास्तविक परीक्षा निर्णय गर्ने ठाउँमा हुन्छ। त्यहाँ विविध समुदायका मानिसहरूलाई स्थान दिइन्छ कि दिइँदैन भन्ने कुराले नै पार्टीको चरित्र मापन गर्छ।
म कुनै दया मागिरहेको छैन। कुनै विशेष सुविधा पनि मागिरहेको छैन। म केवल त्यही मूल्यको सम्मान मागिरहेको छु, जसको प्रतीक बनेर मैले बाल्यकालदेखि चारतारे झण्डा बोकेँ। म केवल यति जान्न चाहन्छु—नेपाली कांग्रेसमा हामीलाई निर्णय गर्ने तहसम्म पुग्नबाट रोक्ने वास्तविक कारण के हो?
किनकि यदि हामी झण्डा बोक्न सक्छौँ भने, हामी नेतृत्व पनि गर्न सक्छौँ। यदि हामी चुनावमा पसिना बगाउन सक्छौँ भने, हामी नीति निर्माणमा पनि योगदान दिन सक्छौँ। यदि हामी पार्टीलाई जिताउन सक्छौँ भने, हामी पार्टीलाई नेतृत्व दिन पनि सक्षम छौँ।
आज म तपाईंहरूलाई यो प्रश्न केवल आफ्नो लागि सोधिरहेको छैन। म ती हजारौँ युवाका लागि सोधिरहेको छु, जो चारतारे झण्डामा भरोसा गरेर हिँडिरहेका छन्; ती सीमान्तकृत समुदायका नागरिकहरूका लागि सोधिरहेको छु, जो नेपाली कांग्रेसलाई आफ्नो पनि पार्टी ठान्न चाहन्छन्।
मेरो बाल्यकालको त्यो सानो हातले बोकेको चारतारे झण्डाले मलाई एउटा सपना देखाएको थियो—यो पार्टी सबैको हो। यहाँ कुनै पनि नागरिकको पहिचान उसको सम्भावनाको बाधक बन्दैन।
आशा छ, त्यो सपना केवल सपना बनेर रहने छैन। तपाईंहरूको नेतृत्वमा नेपाली कांग्रेसले यस्तो जवाफ व्यवहारबाट दिनेछ, जहाँ हामीजस्ता नागरिकहरू झण्डा बोक्ने पङ्क्तिमा मात्र होइन, निर्णय गर्ने नेतृत्वमा पनि सम्मानपूर्वक उभिन सक्नेछन्।
सादर,
सुरेन्द्र पाण्डे
क्रियाशील सदस्य, नेपाली कांग्रेस
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि तथा अधिकारकर्मी
प्रकाशित: २४ असार २०८३ १६:४३ बुधबार




