१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
ब्लग

इरान युद्धले विश्व अर्थतन्त्रको कमजोर कडी उजागर

इरानविरुद्ध अमेरिका–इजरायलले बेला–बेलामा दोहोर्या‍इरहेको युद्धले वित्तीय बजार र वास्तविक आर्थिक गतिविधिबिच बढ्दो दूरीलाई उजागर गरेको छ। साथै, यस्ता झट्काहरूले विश्व अर्थतन्त्रका विभिन्न पाटालाई कति फरक ढंगले प्रभावित गर्छन् भन्ने पनि यसले प्रष्ट देखाएका छन्।

सबैभन्दा पहिले तेल बजारलाई हेरौं। युद्ध सुरु भए यता तेल बजार अत्यधिक उतारचढावपूर्ण रह्यो। मूल्यमा आएको अधिकांश परिवर्तन भने तत्कालको माग र आपूर्तिमा आएको फेरबदलका कारण नभई धारणा र अपेक्षामा आएको परिवर्तनका कारणले भएको हो। ती अपेक्षा पनि प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनियमित सामाजिक सञ्जाल पोस्टहरूले प्रभावित गरेका थिए।  

इरानले होर्मुज जलडमरू बन्द गरेपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना भएको तर ढुवानी दूरी र यातायातमा लाग्ने समयका कारण यसको असर उपभोक्ता र उत्पादकले तुरुन्तै महसुस गरेनन्।  

तैपनि सरकारी तहबाट आउने परस्पर विरोधाभासी घोषणाहरूले बजारको अपेक्षालाई बारम्बार परिवर्तन गरिरहेकाले कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा तीव्र उतारचढाव देखिए। जुलाईको प्रारम्भमा अमेरिका र इरानबिच प्रारम्भिक युद्धविराम सहमति भएपछि कच्चा तेलको मूल्य प्रतिव्यारेल ७० डलरभन्दा तल झ¥यो, जुन युद्ध सुरु हुनुअघि फेब्रुअरीको स्तरसँग लगभग बराबर थियो। त्यसपछि फेरि युद्ध सुरु भए पनि मूल्यमा हालसम्म सामान्य वृद्धि मात्रै देखिएको छ।

विश्व ऊर्जा बजारमा यस्तो अस्थिरता रहँदा पनि अमेरिकी सेयर बजारले अप्रिलदेखि जुनसम्मको अवधिमा सन् २०२० यताकै उत्कृष्ट त्रैमासिक प्रदर्शन ग¥यो र जुलाईको प्रारम्भमा पनि उकालो लागिरह्यो। यस वृद्धिको नेतृत्व कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कम्पनीका सेयरहरूले गरेका थिए।  एआईले उत्पादनशीलता र आर्थिक वृद्धिमा अभूतपूर्व सुधार ल्याउने विश्वासले लगानीकर्तालाई उत्साहित बनाएको थियो।  

यो केही हदसम्म धनी मुलुकको आर्थिक गतिविधिमा युद्धको सीमित प्रभावको परिणाम पनि हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धि सन् २०२५ को १.९ प्रतिशतबाट २०२६ मा १.७ प्रतिशतमा मात्रै झर्ने छ। अमेरिकाको आर्थिक वृद्धि भने २०२५ को २.१ प्रतिशतबाट बढेर २०२६ मा २.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। ओइसिडी सदस्य मुलुकहरूमा बेरोजगारी दर अप्रिलमा ५ प्रतिशत थियो, जुन फेब्रुअरी २०२२ यताकै लगभग स्थिर स्तर हो।

विकसित अर्थतन्त्रहरूको यो मजबुती पछिल्लो समय एआई र क्रिप्टोकरेन्सी क्षेत्रमा भएको लगानी वृद्धिका कारण सम्भव भएको हो। चीन, ताइवान, दक्षिण कोरिया र मलेसियालगायत केही एसियाली अर्थतन्त्रले पनि यस प्रवृत्तिबाट लाभ उठाएका छन्।  

वित्तीय बजारमा देखिएको वर्तमान आत्मविश्वासको अर्को कारण इरानसँगको युद्ध लगभग समाप्त भइसकेको वा अधिकतम कम तीव्रताको संघर्षका रूपमा मात्रै जारी रहने र होर्मुज जलडमरूबाट कम्तीमा आंशिक रूपमा ढुवानी जारी रहने विश्वास पनि हो।

यो आत्मविश्वासले युद्धका दीर्घकालीन आर्थिक असरलाई बेवास्ता गरिरहेको छ। युद्धविरामपछि पनि खाडी क्षेत्रबाट हुने तेल निर्यात युद्धअघिको स्तरभन्दा निकै कम रह्यो। भविष्यमा निर्यात पूर्ण रूपमा पुनःस्थापित भए पनि आजको ऊर्जा संकटको मूल्य न्यून आय भएका मुलुकहरूले अझै धेरै वर्षसम्म चुकाइरहनुपर्नेछ।  

यी मुलुकहरूसँग विकसित देशहरूले जस्तै ऊर्जा संकटको प्रभाव कम गर्न विशाल सरकारी हस्तक्षेप गर्ने क्षमता थिएन। अप्रिलदेखि जुनसम्म अमेरिकाको नेतृत्वमा करिब ४४ करोड ब्यारेल कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ व्यापारिक तथा रणनीतिक भण्डारबाट बजारमा छाडिएको थियो। पछिल्लो समय अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार आधाभन्दा कममा झरेको छ र सञ्चालनयोग्य न्यूनतम सीमाको नजिक पुगेको छ। साथै, ओइसिडी मुलुकहरूको कुल तेल भण्डार पनि निरन्तर घटिरहेको छ। त्यसैले भविष्यमा यस्तै हस्तक्षेप दोहो¥याउने सम्भावना निकै सीमित छ। होर्मुज जलडमरूबारे लामो समयसम्म रहने अनिश्चितताले ऊर्जा स्रोत र व्यापारिक मार्गको विविधीकरणलाई तीव्र बनाउन सक्छ तर त्यसका लागि वर्षौंको लगानी र नयाँ पूर्वाधार आवश्यक पर्नेछ।

विश्वको ध्यान मुख्यतः कच्चा तेलमा केन्द्रित भए पनि आधुनिक उत्पादन प्रणाली पेट्रोलियमजन्य सहउत्पादनमा पनि अत्यधिक निर्भर छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार जुन महिनामा खाडी क्षेत्रबाट प्रशोधित पेट्रोलियम पदार्थ र तरलीकृत पेट्रोलियम ग्यासको निर्यात युद्धअघिको आधाभन्दा कम थियो किनभने युद्धले केही प्रशोधन केन्द्रहरू नै ध्वस्त पारेको थियो।

पेट्रोलियमबाट बन्ने सबैभन्दा महत्वपूर्ण उत्पादनमध्ये मल एक हो, जुन विश्वभर कृषि उत्पादनको आधार हो। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २०२६ को पहिलो ६ महिनामा विश्वव्यापी मलको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ।  यसको अर्थ विशेषगरी न्यून आय भएका देशका किसानहरूले मलको बढ्दो मूल्यसँगै सिँचाइ र ढुवानीका लागि इन्धनको महँगी पनि बेहोर्नुपर्नेछ।

मलको प्रयोगमा सामान्य कमी आए पनि उत्पादनमा ठूलो गिरावट आउनसक्ने अनुमान छ यद्यपि पहिले नै न्यून परिमाणमा मल प्रयोग हुने देशहरूमा यो लागु हुन्छ। किनभने खाद्यान्न बजारले बाली पाक्ने समयसम्म कुर्दैन। केही ठूला कम्पनीहरूले वास्तविक अभाव हुनुअघि नै आपूर्ति घट्ने अनुमानका आधारमा मूल्य बढाइहाल्ने गर्छन्।

यसका असर कृषि क्षेत्रमा मात्र सीमित छैनन्। विश्वभर प्रयोग हुने ६,००० भन्दा बढी उत्पादन जीवाश्म इन्धनबाट बन्ने सहउत्पादन— जस्तै हिलियम, सल्फर, मिथानोल, पोलिथिलिन र पोलिप्रोपिलिन—मा निर्भर छन्, जसको ठूलो हिस्सा खाडी क्षेत्रबाट आपूर्ति हुन्छ। यी पदार्थ प्लास्टिक, मोम, तार, डामर, कृत्रिम वस्त्र तथा एमआरआई मेसिन र पेसमेकरजस्ता जीवनरक्षक स्वास्थ्य उपकरण बनाउन अपरिहार्य छन्। विडम्बना के छ भने हरित ऊर्जा रूपान्तरण पनि पवन टर्बाइन र अन्य नवीकरणीय ऊर्जा पूर्वाधार निर्माण, सञ्चालन र मर्मतका लागि आवश्यक विशेष पेट्रोलियमजन्य पदार्थमै निर्भर छ।

यी अवरोधहरूको सबैभन्दा ठूलो भार एसिया र अफ्रिकाका न्यून आय भएका मुलुकहरूले बेहोर्नुपर्नेछ, किनभने ती अझै पनि आयात र निर्यात दुवैका लागि मध्यपूर्वमा अत्यधिक निर्भर छन्। अझ दुःखद पक्ष के हो भने यी देशहरू कोभिड–१९ महामारी, त्यसपछि रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण बढेको खाद्यान्न तथा इन्धन मूल्य र ब्याजदर वृद्धिबाट सिर्जित महँगो ऋणको असरबाट पूर्ण रूपमा उक्सिन सकेका छैनन्।

यही पृष्ठभूमिमा विश्व बैंकले चीन र भारतबाहेकका विकासशील मुलुकहरूको प्रतिव्यक्ति आय र विकसित देशबिचको अन्तर महामारीअघिको अवस्थामा फर्किन सन् २०२८ पछि मात्र सम्भव हुने अनुमान गरेको छ। दक्षिणका धेरै देशका लागि यो एक ‘हराएको दशक’ साबित हुन सक्छ भने ऋण संकटमा परेका मुलुकहरूका लागि यसको आर्थिक मूल्य अत्यन्त विनाशकारी हुन सक्छ।

यसले एउटा आधारभूत प्रश्न उठाउँछ त्यो के भने बढ्दो रूपमा खण्डित हुँदै गएको विश्व अर्थतन्त्रले विश्व भू–राजनीतिलाई कसरी पुनःआकार दिन्छ ?  

संसारभरका सरकारहरूले आफ्नै समाजभित्र बढ्दो असमानतालाई बेवास्ता गर्दा राजनीतिक अस्थिरता बढ्ने पाठ सिकिसकेका छन्। यही पाठ देश–देशबीच बढ्दो आर्थिक असमानतामा पनि लागु हुन्छ। वित्तीय बजारले केही समयका लागि यसलाई बेवास्ता गर्न सक्ला तर बाँकी विश्वले भने त्यसो गर्न सक्दैन। (प्रोजेक्ट सिन्डिकेट)

-लेखक घोष एम्हरेष्ट मासाच्युसेट्स विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक हुन्।  

प्रकाशित: १६ भाद्र २०८३ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App