१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

तपाईँ ‘फेरि’ बढ्ता बोल्दैहुनुहुन्छ!

गुल्मीका सागर ढकालले पाँच वर्षअघि साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई सोधेको  ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौ?’ प्रश्न धेरैलाई याद होला। अझ प्रश्न भन्दापनि ढकालको जवाफबाट आक्रोसित देउवाले ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै रिसाएको जवाफ सामाजिक सन्जालमा  भाइरल नै  बन्यो।  

‘अक्सफोर्ड पढेको प्रधानमन्त्री काहाँबाट ल्याउने?’ भन्ने  जवाफ दिएका उनी  फेरि प्रधानमन्त्री बने। अर्थात देउवा फेरिएनन्। बरु प्रश्न सोध्ने ढकाल आंफै फेरिए। पुल्चोकमा अध्यन गर्दै गरेका उनी बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पुगेर  पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेर नेपाल फर्किए।  

यति कुरासम्म त ठिकै हो। तर यस अगाडिको कथा झनै रोचक सुनिन्छ। किनकी अक्सफोर्ड पढेर आएका ढकालले आफू डडेल्धुराबाट संसदीय चुनाव लडेर प्रधानमन्त्री बन्ने सपना सुनाएका छन्। प्रधानमन्त्री शेरबहादुरको डडेलधुराको क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने उनको लक्ष्य छ।  

त्यहि लक्ष्यका साथ यति बेला उनी सामाजिक सन्जालमा मात्र हैन, नाम चलेका टेलिभिजनमा भटाभट अन्र्तवार्ता दिन थालेका छन्।  जहाँ उनले आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना सुनाउँदै छन्। उनले देउवालगायतका हजुरबा पुस्तालाई ‐ढकालको भनाई )ससम्मान पूर्ण रूपमा वृद्ध भत्तासहित आराम दिने बताएका छन्।  

त्यस्तै उनले बाबुराम, योगेश, गगनलगायतका पुस्तालाई ‘काका’पुस्ताभन्दै पन्छाएका छन्। उनको बिचारमा अब युवाहरुको नेतृत्वले मात्र देशले सहि बाटो लिन सक्छ।  

उनले आफू मात्र हैन,  १६५ क्षेत्रमै आफूजस्तै युवालाई उम्मेदवारी दिन तयार गरेका छन्। तीस वर्षको हाराहारीका ढकाल विश्वकै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा सन्देश दिदैछन्। उनी यसलाई निकै निकै गाह्रो काम मान्छन्। तर जनताले चाहे असम्भव नभएको सुनाउँछन्।  

त्यति बेला साझा सवालमा प्रस्तोताका रुपमा कार्यरत विद्या चाँपागाईले कार्यक्रम छाडेपनि साझा सवालहरु अझै जारी छन्। एउटा अनुमान गराैं, सााझा सवालमा फेरि ढकाल पुग्ने छन्। अनि मन्चमा उनले भनेजस्तै हजुरबुबा पुस्ता र काका पुस्ताका प्रतिनीधी रहने छन्। फरि पनि ढकालले हात उठाउने छन् र  सोध्ने छन् ‘अब चालिस मुनिका यूवा प्रधानमन्त्री किन नबन्ने ? ’  

पाँचवर्ष अगाडिको ढकालको  प्रश्नबाट देउवामात्र रिसाएका थिए। किनकी उनले मन्चमा देउवासँग सोझो प्रश्न राखेका थिए। अहिले उनले देउवापुस्तासँंगै आफूलाई यूवादावी गर्ने  योगेश–गगनपुस्तालाई ‘काकापुस्ता’ भन्दै राजनीतिको मूलधारमा नकारेका छन्।  

ढकालको पछिल्लो प्रश्नको  जवाफ के होला? अनुमान सजिलो छ।  ‘तपाईँ फेरीपनि बढ्ता बोल्दै हुनुहुन्छ।’ फेरिपनि ५ वर्ष अगाडिकै जस्तै गरि चर्को जवाफ आउने छ।

प्रकाशित: ४ श्रावण २०७९ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App