२४ मंसिर २०७९ शनिबार
ब्लग

साइबर स्यालको हुईया

बेला बेलामा संचार माध्यम र सामाजिक संजालमा आउने चर्चाहरु मध्य यसपटक अलि फरक प्रशङ्ग जबरजस्त तानिएको छ। आफूलाई कानुनको ठेकेदार मान्ने केही संचार माध्यम र आफूलाई न्यायाधीश ठान्ने साइबर स्यालहरुको हुईया लाजको पसारो जस्तै देखिएको छ। देशमा विधि प्रकृया केही छैन जस्तो गरी अरुको मर्यादा अनि त्यो लेखाइले पर्ने दुश्प्रभावका बारेमा कसैलाई सोच्ने फुर्सदसम्म पनि छैन। एउटा ब्यक्तिसंग परिवार र आफ्ना पनि जोडिएका हुन्छन् भन्ने ख्याल गरेको देखिदैन।

कानुन, विधि र प्रकृया छ तर यहाँ सबै संग आफ्नै पाराको समाधान छ। कसैका ब्यक्तिगत दैनिकी र जीवनलाई खोतल खातल पार्दा उ मात्र नभएर संगै रहेका परिवार अनि आफन्तलाई पर्ने प्रभावका बारेमा यतिबेला अधिकारकर्मी भनेर चिनिएका महिला समेत चुकेका छन्। महिला अधिकारकर्मी, महिला मानव अधिकार रक्षक संजालका पदाधिकारी, बाल अधिकारकर्मी लगायत अधिकारका क्षेत्रमा काम गर्छौ भन्ने धेरैले निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक संजाल र केही संचार माध्यममा आफूलाई पखाल्ने काम समेत गरेका छन्।  

महिला कुटेको आरोप लागेकी लुम्बीनी प्रदेशका स्वास्थ्य राज्य मन्त्री बिमला वलीका सन्तानले पढ्ने दिक्क लाग्दा खबर अनि सामाजिक संजालमा साइबर स्यालका हुईयाले बाल मस्तिस्कमा पार्न सक्ने दीर्घकालीन प्रभावका बारेमा चासो दिइएको पाइदैन। आमामाथि गरिएका टिप्पणी अनि त्यसको सम्बेदनशिलता पटक्कै बुझेको देखिएन। आफ्ना आमा बुवाको बारेमा केही दिन गरिएका यताका टिप्पणीले साना अबोध बालबालिकाका मस्तिस्कमा पर्ने असरका बारेमा सम्बेदनशिल बन्न नसक्नु दुःखद् हो।

बिमलाले साच्चीकै गलत गरेकी हुन् भने विधिमा टेकेर न्याय खोज्ने बाटो थुनिएको छैन/थिएन। राजनीतिक प्रतिशाेध अनि मुखपत्रका रुपमा खोलिएका संचार माध्यमहरु र सामाजिक संजालमा केही नसोचेर बोल्ने र लेख्ने छुट कसले दिएको? जसले जे लेखे/बोले पनि हुने स्वतन्त्रता छ जस्तो लाग्दैन। त्यो भन्दा ठूलो कुरो तुच्छ र निकृष्ट प्रतिकृया दिने ठूलो हिस्साले ऐना हेर्दा आफ्नो रंङ्ग देखिन्छ सायद।  

बिमलाले राजनीतिक धार परिवर्तन नगरेको भए यत्तिकै गाली त खान्थिन् होला तर पात्र फरक हुन्थे। हिजो मदन/आश्रितको निधनपछि निस्पक्ष छानबिन गर्नुपर्ने भन्दै गरिएका जबरजस्त नेपाल बन्द अनि हिंसात्मक हड्तालहरु पदमा पुग्दा सेलाए जस्तै बिमला प्रति गरिएका प्रश्न र घृणा पनि राजनीतिक धार नमिलेर थपिएको हो। हिजो निर्वाचन जित्दै गर्दा बिमलाको निधारमा अबिर र काधमा माला लगाउन आतुर हुनेहरु उनले धार परिवर्तन गरेकै कारण झन् बढी खनिएका हुन्।  

राजनीतिक पृष्ठभूमि नबोकेकालाई पद सुम्पिने अनि अनुकूल भएन भनेर जे पनि लेखिदिने/बोलिदिने सभ्यता भित्र पर्दैन। एउटी एकल महिला जो भर्खरै राजनीतिको बामे सर्दै थियो उसलाई संघारबाट पल्टाउने प्रयास गर्ने अधिकार सबै संग छैन र हुँदैन। विरोध गरौँ स्वतन्त्रता छ तर हदैसम्म गिरेर हैन। श्रीमान गुमाएकी एकल महिला प्रति गरिएका भद्धा टिप्पणी र प्रतिकृयाहरु एकोहोरा आईरहँदा कतै ओरालो लागेको मृगलाई बाच्छोले खेदे जस्तो भएको त छैन।  

दूधले नुहाए जस्ता अनुहार लिएर दैनिक आक्षेपमा ब्यस्तहरुले आफू र आफ्नालाई नियाल्दै बोल्ने/लेख्ने गर्नुपर्छ। देशमा बढेको महङ्गी, असारे विकासको अवस्था, विपन्नको दैनिकी, विद्यालयमा खस्किदै गएको शैक्षिक स्तर, निःशुल्क स्वास्थ्य आदि आदिका बारेमा हिँड्न नसक्ने कलम एउटी महिलाको कमजोरीमा न्यायाधीश बनेर दौडिरहनु दुर्भाग्यपूर्ण हो। अरुलाई चोर औँलाले देखाउँदै गर्दा बाँकी औँलाले आफैलाई ईशारा गरिरहेको हुन्छ। चेतना भया।

प्रकाशित: ५ असार २०७९ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App