३० श्रावण २०७९ सोमबार
ब्लग

पराजितका नाममा...

चुनाव अघिसम्म त उनी देख्यो की नमस्कार गर्थे। मैले आँखा छल्दा पनि उनी आँखा जुधाइहाल्थे। अनि हात जोड्दै मुस्कुराउथे।  

मतदानको १८ औं दिन बुधबार साँझ उनैसँग जम्का भेट भो। तर उनको हाउभाउ १८० डिग्रीले फरक भइसकेको रहेछ। सुरुमा त उनले अन्तै हेरे।  

उनी सँगैको साथीसँग बोल्दा पनि उनले नसुने जस्तो गरे। आँखा जुध्दा पनि पटक्कै मुस्कुराएनन्। बरु अँध्यारो अनुहार लगाए। अनि फनक्क अर्कैतिर फर्के।  

उनी अर्थात् भर्खरै वडामा पराजित एक उम्मेदवार। पराजित हुनेमा उनी एक्ला थिएनन्। देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५ हजार २२१ पदका लागि भएको निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। यस हिसाबले पराजितको संख्या एक लाखभन्दा बढीको छ। उनी त्यहि १ लाख मध्येका एक थिए।  

अरु कतिले पराजय स्वीकार गरे गरेनन् त्यो महसुस गर्न पाएको छैन। र, त्यो संभव पनि छैन। तर चुनाव अघिका ती उम्मेदवारको हाउभाउ र चुनावपछिको पहिलो भेटको हाउभाउ हेर्दा चुनावी परिणाम स्वीकार गर्न उनलाई साह्रै कठिन भएको पाए। अनुहारमा पराजय देखिए पनि दिमागले त्यसलाई स्वीकार गर्न नसकेको प्रष्ट देखिन्थ्यो।    

पराजय स्वीकार गर्न नसक्ने कति अप्ठेरो अवस्थामा हुँदा रहेछन् भन्ने पनि पहिलो पटक प्रंत्यक्ष महसुस गरियो। यो महसुस  हुनुको कारण पनि छ। किनकी बुधबार विहान मात्रै त्यहि वडाको विजयी उम्मेदवारसँग चिया पसलमा भेट भएको थियो।  

उनले परैबाट हात उठाए। मुस्कुराए अनि  चियाको अफर गरे। विजेता मतदातासँग कति खुसी हुँदा रहेछन् भन्ने पनि त्यहि दिन महसुस भयो।  

एकै पटक पराजित र विजयी दुई उम्मेदवार भेट्दा एउटा प्रष्ट धारणा बन्न पनि बेर लागेन। त्यो के भने, पराजितहरु  हरेकलाई भोट नदिने मतदाता सम्झदा रहेछन्। अनि विजयीले चाहि सबैलाई भोट दिने ठान्दा रहेछन्। जुन साचो हैन। किनभने, न त मैले पराजित उम्मेदवारलाई मैले भोट दिए/नदिएको जानकारी थियो, न त मैले  विजयीलाई मैले भोट दिएको भनेर जानकारी गराएको थिए।  

तब पराजितको व्यवहार किन फेरियो त? मनोसामाजिक परामर्शदाताको भनाइलाई साथ लिने हो भने कतिपय पराजितहरु लामो समयसम्म सवैलाई आफ्नो विरोधी देख्ने अवस्थामा रहन्छन्। विजयको तिब्र आकांक्षा राख्ने त्यस्ता उम्मेदवारले पराजयको कारण प्रत्येक मतदातालाई दोष दिन्छन्। त्यो चाहे आफुलाई भोट दिने होस या नहोस्।  

यता विजयीको भाव भने के रहन्छ भने, धेरैले भोट दिएर पो मैले जिते भन्ने हुन्छ। त्यसैले उसले प्रत्येकमा आफ्नो विजयको कारण सम्झन्छन्। बुधबार विहान भेटिएका विजयी उम्मेदवारको व्यहवारमा पनि त्यहि झल्कन्थ्यो।  

तर राजनितीज्ञ भने पराजितको बदलिदो व्यवहार उसैको लागि पछिसम्म हानिकारक हुने बताउँछन्। पछिल्लो चुनावमा उठेपनि नउठेपनि उसले मतदाताको मन दुखाउँछ। कतिपय अवस्थामा पराजय अरुको कारण नभएर आफ्नै कारणपनि भएको हुनसक्ने तर्फ पराजित उम्मेदवार सजग रहेको पाइदैन।  

अनि अर्को कुरा, पराजय आफैंमा ठूलो कुरो हैन। पराजय स्वीकार गर्न नसक्नुचाहि साचो अर्थमा पराजय हो। चाणक्यलेपनि भनेका छन् ‘पराजय त्यति बेला हुदैन जतिबेला तिमी लड्छौ। पराजय त त्यति बेला हुन्छ जति बेला तिमी उठ्न चाहदैँनौँ।’

पराजयले शिक्षा दिन्छ। यसले उम्मेदवारको परम्परागत सोचलाई बदलिदिन्छ। पुर्नमुल्याकंन गर्ने शिक्षा दिन्छ। पराजयको वाबजुदपनि आफूलाई नबदल्ने हो भने त्यस्ता सधै पराजित हुनुपर्छ।

प्रकाशित: १९ जेष्ठ २०७९ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App