११ कार्तिक २०७८ बिहीबार
ब्लग

प्राकृतिक प्रकोप एक साझा चुनौती

पुरुषोत्तम पोखरेल

 

विनाश लीलाले आजका भौतिकवादीहरूलाई आफ्नो साइजमा रहन गतिलो पाठ भने सिकाएको छ।

हाम्रा ऋषिमुनिहरूले पृथ्वीको आधार जल र जंगललाई विशेष महत्व दिँदै आएको रहस्यभित्र जीवन र भविष्य अन्तर्निहित छन् भन्ने कुराको हेक्का हामी  सबैले राख्न जरुरी छ। रुख जल हो, जल अन्न हो र अन्न जीवन हो भन्ने कुरालाई पुष्टि गरिरहनु नपर्ला। हजारौं वर्ष पहिलेका ती विचार आज पनि त्यति नै वैज्ञानिक र अकाट्य छन्। युगौयुगदेखि  मानव र प्रकृति बिचको अन्योन्याश्रित सम्बन्ध रहिआएका छन्। 

जसरी रुख बिरुवाले फालेको अक्सिजन मनिसले लिने गर्दछन्, त्यसरी नै मानिसले फालेको कार्बन डाइअक्साइड रुख बिरुवाले लिने –दिने प्रक्रिया एक अर्काको जीवन पद्धतिसंग अन्तर सम्बन्धित छन्, अथवा एक अर्काको पुरक मानिन्छन्। प्रकृतिले हामी मानवलाई बस्नलाई भूमि, खानलाई अन्न फलफूल, पिउनलाई स्वच्छ पानी, प्रकाश, ऊर्जा, शीतलता, सुगन्ध तथा सौन्दर्य आदि सबै निस्वार्थ रूपमा प्रदान गर्दै आएको कुरा सर्वविदितै छन्। अर्को हिसाबले भन्नु पर्दा प्रकृति र मानव बिच आमा र सन्तानको जुन वात्सल्य रहन्छ, त्यही स्नेह प्रकृति र मानव बिचको युगौयुगदेखिको मिठासपूर्ण सम्बन्धलाई कतै बिर्सन सकिँदैन। 

यस पृथ्वीमा प्रकृतिले हामीलाई बिनाभेदभाव सम्पूर्ण उपभोग्य वस्तु निसर्त रूपमा उपलब्ध गराई रहँदा हामी मानव जातिचाहिँ निहित स्वार्थ परिपूर्ति गर्न निरन्तर प्रकृति विनाश गरी आफ्नो वर्तमान जीवन र सन्ततिको भविष्यलाई उजाड तथा ध्वस्त  बनाउन उद्दत देखिन्छौ । यस पृथ्वीमा मानव मात्र नभई अन्य करोडौं जीवजन्तु, वनस्पतिहरूलाई पनि बाच्न र हुर्कन उत्तिकै हकअधिकार छ भन्ने कुराको हेक्का हामीमा हुनै पर्दथ्यो । आजको शिक्षित समाजमा पनि क्षणिक सुख र विलासी जीवनका खातिर हुर्कदो कुसंस्कार अत्यन्तै दुःखद् र निन्दनीय छन्। 

मानवजन्य क्रियाकलापले जलवायु परिवर्तनमा ल्याएको असन्तुलनका कारण मानव जातिले आजसम्म गरेका प्रगति तथा आधुनिक विकासलाई बेलाबखतमा प्रकृतिद्वारा मचाइने विनाशलीलाले आजका भौतिकवादीहरूलाई आफ्नो साइजमा रहन गतिलो पाठ भने सिकाएको छ।

आखिर के हो विपद् ? ऋतु अनुसार अनायास रूपमा आइपर्ने खतरा , जसले मानवीय , भौतिक तथा पर्यावरणीय नोक्सानीलाई  विपद् भनिन्छ। सामान्यतया मानव प्रकृति बिच विपदको पुरानो र स्वभाविक  सम्बन्ध रहे पनि  जनसंख्या वृद्धि , वन विनाश, बढ्दो गरिबी, बेरोजगारी र प्रदूषणले जसरी  प्रकृतिमाथि हस्तक्षेप बढाउन थालेपछि, सोही अनुपातमा प्रकृतिले पनि आफ्नो स्वरुपमा परिवर्तन , आकार प्रकारमा देखाएको विकराल रूपले  जताततै अपूरणीय क्षति आदिलाई बुझिन्छ।  

यस पृथ्वीमा  स्वाभाभिक भन्दा  तीव्र गतिले प्राकृतिक प्रकोपहरू बढी रहँदा विश्वका विकसित राष्ट्रहरूको ध्यानाकर्षण गराइरहँदा न त हाम्रो सरकारको चेत खुल्न सकेको छ, न त हामी मानवको आँखा नै खुलेका छन्। जब कि प्राकृतिक प्रकोपले मानिसको  जीवनभरिको कमाइबाट आर्जन गरेको  घर, उद्योग  व्यवसाय  सम्पत्तिको अतिरिक्त , सरकारले पनि सय डेढ सय वर्ष लगाएर  बनाएको सुन्दर शहरीकरणको संरचना, आधुनिक समाजको ढाँचामा गर्व गर्नेलायक प्रगति आदिलाई भूकम्प, सुनामी , तुफान र बाढीले क्षण भरमै धाराशायी तथा सखाप बनाएको प्राकृतिक लीला हामीले देख्दै र भोग्दै आएका छांै। विज्ञानको बुई चढेर  प्रकृतिमाथि शासन गर्ने धृष्टता मानव जातिले  कतै नगरूँ भन्ने पाठ  सिकाएको पाउँछौ। 

अबका  दिनहरूमा प्राकृतिक विपत्  विश्वका लागि ठूलो टाउको दुखाइ र चिन्ताको विषयले पिरोल्न थालेका छन्। विशेष गरी सार्क राष्ट्रका भारत, पाकिस्तान, चीन , नेपाल, श्रीलंका, भुटान, मालदिभ्स जस्ता मुलुकहरू अति जोखिम क्षेत्र भए पनि जोखिम न्यूनीकरणको दिशामा खासै चासो  नदेखाउँदा  बर्सेनि मानवीय र अरबौ डलरको आर्थिक नोक्सानी झेल्दै आएका छन्। खास गरी विपद दुई प्रकारका मानिन्छन्, एउटा प्राकृतिकजन्य अर्को मानवजन्न्य  हुन्छन्। जसका स्वरूप र प्रकार यसप्रकार  छन्–                    

बाढी पहिरो –

हरेक वर्ष बङ्गालको खाडीबाट आउने मनसुन वायु प्रवेशसंगै नेपाली किसान हर्षित हुनुपर्नेमा उल्टै चिन्ताले पिरोलिन थाल्छन्। यसपटक मनसुन प्रारम्भ देखि नै  अविरल वर्षाका कारण हेलम्बु र मेलम्ची बजारमा बाढीले मचाएको ताण्डवलीला, सप्तकोशीको उच्च बहाव, कमला, बाग्मती, नारायणी, तिनाउ, भेरी, सेती, मेची, काली गण्डकी, महाकाली नदीमा आएको उर्लदो बाढीले राजमार्गदेखि दक्षिण तराईका ठाउँठाउँमा भारतले बनाएको उच्च बाँधका कारण धेरैजसो भाग डुबानमा पर्दा घरबारदेखि रोपिएको धान, तरकारी , फलफूल सम्पूर्ण गलेर भारी मात्रामा नोक्सानी पुरयाएको छ । 

उता पहाडी  जिल्लाहरूमा गएको पहिरो र बाढीले मानवीय क्षति, घर,खेतबारी, वस्तुभाउ बगाएर सर्वसाधारण किसानलाई आर्थिक नोक्सानीले थिलथिलो बनाएर छोडेको छ। बाजुराको हिमाली गाउँपालिकामा बाटो खन्दा १३७ घर भासिएर विचल्लीमा परेका पीडित परिवार अझै जङ्गलमा कन्दमुल खाएर बाँचिरहेका छन्। यसरी बाढीपहिरोका कारण वर्षाायममा बहुसंख्यक जनता घरको नघाटको भएर त्रिपालमुनि भोको पेट रात काटने परिवारहरू कति छन् कति। 

यसका अतिरिक्त सडक,सरकारी कार्यालय, हाइड्रो पावर, टेलीफोन टावर, विद्युत् गृह, राजमार्ग र सहायक मार्गका पक्की पुलहरू बगाएको र धेरै पुल राज्यको गैरजिम्मेवारीपनाका कारण अझै  भासिने क्रममा छन् र पनि सरकार बेखबर जस्तो देखिन्छ। वर्षापूर्वका सतर्कता र वर्षापश्चात्को उद्धार, उपचार र सहयोगको अभावमा पीडितहरू आजसम्म आफ्नै भाग्यलाई कोसेर बाँच्न विवश रहेका छन्।    

भूकम्प – पृथ्वीमा आएको असुन्तलनको कारण उत्पन्न हुने परिस्थितिलाई भनिएको हो।  १२८० सालदेखि आजसम्म साना ठुलो भूकम्प हजारौं हजार गए पनि १९९०, २०४५ र २०७२ सालको भूकम्पको सम्झना साथ भयले शरीरमा कम्पन गराउँछ। जीवनभरि पसिना बगाएर आर्जन गरेको धनसम्पत्ति दुईचार सेकेन्डको भूकम्पको झट्काले तासको घरझै क्षणभरमै गर्ल्यामगुर्लुम्म बनाएर स्वाहा पारेको घटना २०७२ लाई  बिर्सन सकेका छैनौं। अझै बारम्बार भूकम्पका सानातिना झट्काहरूले किंकर्तव्यविमूढ गराइरहेछ।

आगलागी, डढेलो–

वास्तवमा यो एउटा मानवीय लापरबाही तथा षड्यन्त्रबाट हुने घटना हुन्। २०३० सालको सिंहदरबार आगलागी, २०७७ मा जुम्लाको तिलगंगा गाउँपालिका र कालिकोटको पातालाका ६६ घर जलेर खरानी भए , फिदिम बजार, सुर्खेतको सिस्नरी, दाङको लहमी र तराईमा हुने आगलागी, चुरे क्षेत्रको सागरनाथ क्षेत्र, बर्दिबासको सरस्वती सामुदायिक बन लगायत म्याग्दी तनहु, डोटी, बैतडी आदि क्षेत्रमा प्रायः लाग्ने डढेलोले बर्सेनि करोडौंको क्षति गर्नुको अलावा बनमा आश्रित जीवजन्तु,पशुपन्छी, बहुमुल्य जडीबुटी , वनस्पति तथा जैविक विविधता सम्पूर्ण स्वाहा भइरहेका छन् , जसको भर्पाई चाहेर पनि  कदापि गर्न सकिन्न।

चट्याङ –  

वर्षासंगै बादलको घर्षणबाट उत्पन्न हुने विद्युत् पृथ्वीमा झर्ने प्रक्रियालाई  चट्याङ भनिएको हो। विगतको अनुपातमा चट्याङ बढ्दो क्रममा छ, चट्याङ पर्ने मुलुकहरूमा नेपालको तेस्रो  स्थान  आफैमा डरलाग्दो छ , त्यसमा झन् मकवानपुर, मोरङ र उदयपुर जिल्ला अति जोखिम क्षेत्र मानिएको छ। यसका अतिरिक्त तराई र उत्तर पश्चिम नेपालका जिल्लाहरू पनि मुक्त छैनन्। गत वर्ष भाद्र महिनामा जाजरकोटको कुशु गाउँपालिका र जुम्लाको तिला गाउँपालिकामा गरी चट्याङले ४७५ भेडा ठहरै भएका थिए। यसरी नै घरपालुवा वस्तुभाव र मानवीय क्षति अझ कति हो कति ! यसबाहेक अन्य प्राकृतिक विपदहरूमा अत्यधिक गर्मी, जाडो, सुक्खा, हिम स्खलन,असिनाआँधी  जस्ता विपद पनि बराबर सामना गर्नुपर्ने विपद हुन्। 

केही विपद भने एक अर्कासंग अन्तर सम्बन्धित हुन्छन् , जस्तो भूकम्पसंग  सुनामी,चट्याङसंग आगलागी ,अविरल  वर्षासंग बाढीपहिरो, सुक्खासंग अनिकाल, रोगव्याधिहरू अन्तर सम्बन्धित प्रकोप हुन् । जुन मानवीय व्यवहारका कारण  जलवायुमा आएको परिवर्तनको दुष्परिणाम आजका विपद हुन्। जसबाट पिण्ड छुटाएर भाग्ने होइन, बरु मानवीय व्यवहारमा परिबर्तन र असल संस्कार देखाउने खाँचो छ।

महाविपदका स्मरणयोग्य  घटनाहरू –  

११ मार्च २०११ मा जापानको अटामीमा भूकम्पका कारण आएको सुनामीको छालले क्षणभरमा शहर बजार एयरपोर्ट तथा विकासका सम्पूर्ण संरचना समुद्रमा विलयको कहालीलाग्दो घटना मानव जातिले बिर्सन नसकिने घटना थियो। यस्तै अर्को २२ दिसम्बर २०१८ मा इन्डोनेसियाको क्राकटाउ , सुलाबेसी द्वीपमा आएको ज्वालामुखी बिस्फोटका कारण समुद्रमा निस्केको लाभाको लेदो आगो र सामुिन्द्रक छालले आसपासको पर्यटकीय क्षेत्र तहसनहस गर्दै गरेको  विलयको दृश्य शास्त्रमा वर्णन गरेझैं प्रलयकै भयानक रूपको देखिन्थ्यो। 

१६ जुन २०१३ मा भारतको उत्तराखण्डको केदारनाथको माथिल्लो क्षेत्रमा अविरल वर्षाको कारण पहिरोको लेदो माटो ढुंगा बाढीको पानी सबै मन्दाग्नी नदीले  केदारनाथ मन्दिर परिसरका बजार, होटल लज सम्पूर्ण बगाउँदाको हृदयविदारक भयावह दृश्यलाई बिर्सन सकिन्न। उक्त घटनामा थुप्रै भारतीय र नेपाली तीर्थयात्रीहरूले मृत्युवरण गर्नुपर्यो भने कति हराएर ठुलो संकटको सामाना गर्नुपरेको थियो। भर्खरै यही जुलाईको  दोस्रो साता अमेरिकाको एरिजोना, जर्मनको रइनल्याण्डर अहरबेली राज्यहरूमा जस्तै  बेल्जियम, नेदरल्यान्ड, बेलायत, इटली ,क्यानाडा  आदि देशहरूमा सय वर्षपछिको उर्लदो बाढीले  अकल्पनीय किसिमले मानवीय र भौतिक क्षति, कैयौं लापता  र विस्थापितसंगै अस्तव्यस्त जीवनलाई विपदले धेरैपछि पुयाइदिएको छ।  

तुफान

जब समुन्द्रको पानी तातिएर २६    डिग्रीभन्दा माथि हावाको कम दबाबको कारण माथि जान्छ तब उक्त रिक्त स्थानमा हावाको उच्च दबाबका कारण वायु तेर्सो बनेर ठुलो आकारमा फनफनी घुमेर जताजता पुग्छ, त्यतात्यता नोक्सानीको वितण्डा मचाउने तुफान पनि एउटा ठुलो विपद  मानिन्छ। अमेरिकाको कोलोराडोमा  २०१६ मा तुफानले घरको छानो,रुख , टेलिफोन टावर लगायत सम्पूर्ण संरचना ध्वस्त पारी बिरानो बनाएको थियो। त्यस्तै  भारतको उडिसा राज्यमा मे २०१९ मा आएको  तुफानको ववण्डरले  अपार धनजनको नोक्सानीलाई  बिर्सन सकिन्न। यस प्रकारको तुफानलाई  ठाउँ अनुसार बेग्लाबेग्लै नामले चिन्ने गरिन्छ।  मेक्सिको खाडीमा टोरनाडो, चीन सागरमा ताइफोन, अस्ट्रेलियामा भिलिभिज र हिन्द महादागर क्षेत्रमा चक्रवात प्रचलित नामहरू हुन र यसका २१ नामाकरण पनि गरिएका छन।

जङ्गल आगलागी डढेलो  –

घटना जो मानव इतिहासमा अत्यन्तै दुखदायी मानिन्छन् । दिसम्बर २०१९ मा अस्ट्रेलियाको न्यू साउथ वेल्स र विक्टोरिया राज्यको जङ्गलमा चार महिनादेखि लागेको भीषण आगलागी निभाउन सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आउन नसक्दा आसपासका शहर, बहुमुल्य काठपात, जडीबुटी र राष्ट्रिय जन्तु कंगारु, क्वाला लगायत लाखौ लाख  जीवजन्तु जलेका  हृदयविदारक घटना अझै ताजा छन् । यस्तै  इथोपियामा आएको अनिकाल ( १९९२) को कारण  करिब २५ लाख व्यक्तिले भोकमरीका कारण  ज्यान गुमाएका थिए । यसबाहेक अत्यधिक चिसो र गर्मी,असिना तथा कोरोना जस्ता रोगव्याधिहरूको प्रकोप पनि उतिकै छन्। प्राकृतिक र मानव निर्मित विपदहरूको लामो शृङ्खला  र कहालीलाग्दा घटनाहरूको इतिहासमा कथा र व्यथा तमाम  छन्।  

विपदको कारक तत्व –

 तीव्र गतिमा भइरहेको वन विनाश, अव्यवस्थित  र बढ्दो शहरीकरण, सुरुङ मार्ग, डाँडाकाँडामा खोलिएको सडक  निर्माण (डोजर आतंक ) उच्च  बाँध र पुल निर्माण, सिँचाई नहर र हाइड्रोपावर निर्माण जस्ता गम्भीर असर पुरयाउने आयोजना आदिले  हाम्रा जङ्गल र  पहाडहरू क्रमशः ध्वस्त पार्दै लगेका छन् भने त्यसमा झन् बारम्बार आउने भूकम्पको धक्का र अविरल वर्षाले कमजोर बनाएको पहाडी संरचना, प्राकृतिक स्रोत साधनहरूको चरम उत्खनन र दोहन, बढ्दो गरिबी, जनसंख्या वृद्धि, प्रदूषण, सरकारी फितिलो नीति दूरदर्शिताको अभाव र अकर्मण्यता आदि प्रमुख कारकतत्व हुन्। मानवीय लापरबाहीले गर्दा पृथ्वी जल वायु आकाशमा आश्रित सम्पूर्ण प्राणी जगतमा समेत प्रदूषण, अशान्ति र  कोलाहलले त्राहिमाम त्राहिमाम उत्पन्न गराउने  मानव जातिले आफ्नो आचरण सुधारको साथ क्षमायाचना गरी अघि बढ्नुपर्ने खाँचो छ।  

जोखिम न्यूनीकरणका उपायहरू–

सर्वप्रथम राष्ट्रिय  जोखिम न्यूनीकरण  तथा व्यवस्थापन  प्राधिकरणको काँधमा आएको  जिम्मेवारी ज्यादै गम्भीर तथा महत्वपूर्ण जिम्मेवारी हुन्। यो मनसुनमा सकृय हुने अरू बेला निष्क्रिय भएर घाम तापेजस्तो सहज भने छैनन् । प्राकृतिक प्रकोप बाह्रै मास ऋतु अनुसार आआफ्नो स्वभाव अनुरूप निरन्तर चलिरहने प्रक्रिया हुँदा विपदको् घडीमा प्राधिकरणले चुनौतीको सामना गर्न सक्ने ल्याकत र तदारुक भने  देखाउन सक्नुपर्दछ।  प्राकृतिक प्रकोप न्यूनीकरणमा सहजीकरणको लागि सरकारले तत्कालीन र दीर्घकालीन नीति तथा कार्यक्रमको प्रष्ट खाका जनसमक्ष ल्याई  केन्द्रदेखि स्थानीय निकायसम्म समन्वयमा जोड दिने। 

वातावरण असन्तुलन हटाउन प्राकृतिक स्रोतहरूको संरक्षण र संवद्र्धनमा  (मानव सरह) कठोर कानूनी प्रावधान अविलम्ब लागू गर्न गराउन जोड दिने, कुनै पनि विकास निर्माणका ठुलठुला आयोजना प्रारम्भ पूर्व विज्ञहरूको सुझावबाट त्यसको दूरगामी असर र प्रभावको उच्च मूल्यांकन र समीक्षाको आधारमा मात्र स्वीकृत प्रदान गर्ने, निश्चित मापदण्डविनाको अव्यवस्थित र जोखिमयुक्त्त किसिमका बस्ती, बजार तथा शहरीकरण रोक्न हटाउन आवश्यक पहल गर्ने, प्रकोपबाट हुने हानिनोक्सानी  न्यूनीकरणका लागि आवश्यक स्थानहरूमा सूचना संयन्त्र जडान गरी विपदको समयमा सतर्कता अपनाउन पूर्व खबरदारी गर्ने, कुनै पनि प्रकारको प्रकोप आइपर्दा  तुरुन्त आवश्यक जनशक्ति र राहतको साथ तम्तयार रहने, विपद पीडितहरूको समयमै स्वास्थ्योपचार, आवास भोज कपडा तथा आर्थिक राहत सहयोगमा कुनै किसिमको अभाव हुन नदिने, समयसमयमा विज्ञहरू मार्फत सेमिनार, गोष्ठी , रायसल्लाह, प्राकृतिक प्रकोप सम्बन्धमा देशव्यापी रूपमा सचेतना कार्यक्रम र वृक्षरोपणलाई एउटा अभियानको रूपमा अघि बढाउने अनि कक्षा ५ देखि डिग्री स्तरसम्म प्राकृतिक बहुप्रकोपका विषयवस्तुलाई  पाठ्यक्रममा अनिवार्य गराउन सकेको खण्डमा ढिलोचाँडो विपद न्यूनीकरणले उजाड जङ्गल र नाङ्गा डाँडाहरूमा हरियाली थप्दै जीवनको सहजीकरणमा सकारात्मक भूमिका खेल्ने छ।

हिन्दू धर्ममा प्रकृतिको स्थान–

सनातन धर्ममा प्रकृति पूजालाई प्रकृति संरक्षणको रूपमा हेर्दै आइएको छ। नेपाल प्राचीन कालदेखि देवीदेवता तथा  ऋषिमुनिहरूको  तपोभूमि बाँच र बाँच्न देउको सिद्धान्तमा अडेको छ। विशेष गरी नदी , वायु ,अग्नि, रुख र नक्षत्रसंग मानव जीवनको बढी घनिष्ठता थियो। सायद त्यसैले होला हाम्रा शस्त्रहरूले रुखको तुलना सन्तानसंग, नदीलाई आमा  र सूर्य वायु पहाड  ग्रह्न नक्षत्र  आदिलाई  देवस्वरूप मान्दै आएका छौ। देवीदेउता, ऋषिमुनिहरूको बासस्थान पहाडको टाकुरो  गुफा र घना जङ्गलको आश्रयस्थल एउटा सुरक्षित सुन्दर र स्वस्थ्य जीवन शैली प्रकृति प्रेमलाई  जनाउँथ्यो। अझै कतिपय छरिएर रहेका हाम्रा आदिवासीहरू बढी प्रकृति पुजक मानिन्छन्। 

अहिलेसम्म हाम्रो धर्म, संस्कृति, मूल्यमान्यताको आधारमा गाई, कुकुर, काग, तुलसी,  पिपल, सूर्य आदिको पुजन र देवीदेउताहरूको भाग छुट्याउने परम्परा न्याय संगत पाइन्छ। पुराणमा पनि भनिएको छ, जुन मनुष्यले वृक्षरोपण गर्छ त्यो व्यक्ति स्वर्गमा त्यति नै वर्ष सुख भोग्छ, जति वर्ष सम्म त्यो वृक्षले फलफूल दिइरहन्छ। यसैगरी मत्स्य पुराणमा पनि सय पुत्र बराबर एउटा रुखको महत्वलाई  झल्काइएको छ। वेदमा स्वच्छ  पर्यावरण, प्राणी कल्याण र पृथ्वी शान्ति ! 

अन्तरिक्ष शान्तिका कामनाहरू पनि आजको परिपेक्ष्यमा उतिकै सान्दर्भिक र वैज्ञानिक देखिन्छन्। वैदिक धर्मले यस सृष्टि जगतबाट मनुष्य जातिले उपभोग गर्ने यावत् विषयवस्तु हाम्रा जीवन हुन् र जीवन प्रदान गर्ने (पृथ्वी,जल, आकाश, वायु, अग्नि) आवश्यक तत्वको सम्मान र आदरस्वरूप गरिने पूजा अर्चना, स्तुति, वन्दनाको आशय सृष्टिशक्ति अर्थात् यस जगतको पालनकर्ताको रूपमा हाम्रा मूल्य र मान्यताहरू आज पनि उतिकै  दूरदर्शी तथा जीवनोपयोगी  रहिआएको हँुदा सनातन धर्ममा प्रकृति पूजाको विशिष्ट स्थान छन्।

प्राकृतिक प्रकोपका घटनाहरूले गरिब मुलुकदेखि विकसित राष्ट्रहरू समेत दिनानुदिन चिन्तित छन्। विकसित राष्ट्रहरूका उद्योग, कलकारखानाबाट उत्सर्ग कार्बन र अल्पविकसित देशहरूले गर्ने प्राकृतिक दोहन दुवै वातावरण असन्तुलनमा सहयोग पुर्याइरहेका छन्। विपद एउटा साझा र गम्भीर मुद्दा जीवन र जगतसंग गाँसिएको हुनाले यसको  समाधान पनि साझा र संयुक्त्त प्रयासबाट खोज्नु नितान्त जरुरी छ। अन्य मुलुकभन्दा नेपालको भौगोलिक विकटता, गरिबी र राजनैतिक अस्थिरता आफैमा ठूलो चुनौती एकातिर छ भने, अर्कातिर नेपाल प्राकृतिक प्रकोपको हिसाबले अत्यन्तै जोखिमयुक्त मुलुक मानिन्छ।  

झण्डै कुल जनसंख्याको ८०% मानिस कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोपको सिकार बन्ने गर्दछन्, तापनि  सरकारले यसको दिगो समाधानको नाउँमा कागजी कामबाहेक उदाहरणीय काम गरे जस्तो लाग्दैन। हरेक वर्ष  बर्षा याममा पीडितहरूको उद्धारमा केही प्रहरी र सेना उतार्ने, थोर बहुत चामल च्युरा, त्रिपाल र तारजाली उपलब्ध गराएर दोष जति दैविक प्रकोप या ईश्वरीय लीला भनेर बर्सेनि पिण्ड छुटाएर दायित्वबाट पन्छिने परम्परा विपद न्यूनीकरणका लागि बाधक हुन्। प्राकृतिक विनाशलीलाहरूको विगत र वर्तमानलाई  नियाल्दा मानव जीवनको रक्षा र अस्तित्व जोगाउने जस्ता गम्भीर  विषयलाई अझै कतिपयले  विपदलाई ख्यालठट्टाको रूपमा लिएर महा भुल गर्दैछ्न। 

वैज्ञानिकहरूका अनुसार सन् २०३० सम्म प्राकृतिक विपदमा जटिल स्थिति आउने  र अर्को सन् २०४० सम्ममा तापक्रम ५८ डिग्री  पुग्ने अनुमानले अझ बढी सतर्कता अपनाउन  संकेत गरेको छ। तसर्थ नेपालमा जलवायु परिवर्तनका कारण  उत्पन्न असन्तुलनलाई कम गर्न वर्तमान कानून अपर्याप्त र फितलो पाइन्छन् , जे जति  कानूनमा व्यवस्था छ, त्यो पनि कार्यान्वयन र अनुगमनको अभावमा लाचार र निरीह बनेका छन्।

अत  मानिसले मानिसमाथि अपराध गर्दा दण्डसजाय भए जस्तै  प्रावधान हुनुपर्दछ। त्यस्तै प्रावधान  मानिसद्वारा प्रकृतिमाथि हुने सामुहिक बलात्कार सम्बन्धमा कठोर दण्डसजाय खोई ? हाम्रा  साझा घर भत्काएर उजाड  बनाउने जघन्य अपराधी तथा दोषीहरुलाई पाता कसेर कठघरामा उभ्याउने  कानूनी प्रावधान कहिले  आउने ? जलवायु परिवर्तनले निम्त्याइएका समस्याप्रति कुनै पनि सरकारको ध्यानाकर्षण आखिर  किन हुँदैन ? यी र यस्ता तमाम प्रश्नको उत्तर सरकारसंग नागरिक समाजले माग्ने बेला आएको छ।

निष्कर्ष –

 प्रकृतिमाथि मानव जातिको अनावश्यक अतिक्रमण र हस्तक्षेपका कारण उब्जाइएको जलवायु परिवर्तन  र जलवायु परिवर्तनले  निम्त्याएको प्राकृतिक विपदको न्यूनीकरण केवल वृक्षरोपण या नीतिनिर्माणले मात्र सम्भव छैनन्, यसका अतिरिक्त बढ्दो जनसंख्या, चरम गरिबी, विकराल बेरोजगारी, बढ्दो प्रदूषण र राज्यको उदासीनता  जस्ता समस्या सन्तुलित वातावरणका लागि अवरोध हुन्, जो एउटा ठूलो चुनौती मात्र होइन जीवन र मरणको लडाइ नै हो । यदि सरकारले समयमै दृढ इच्छाशक्ति देखाउने हो र सर्वसाधारणले पनि कुशल भूमिका खेल्ने सके प्राकृतिक प्रकोपको न्यूनीकरण असम्भव भने छैनन्। मानवजन्य  विपदको समाधान मानव आफैंले खोज्न अब ढिला नगरौं ! सबैमा चेतना  भया !’

प्रकाशित: २० श्रावण २०७८ १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App