९ कार्तिक २०७८ मंगलबार
ब्लग

मेरो शरीर मेरो अधिकार

सन्दर्भ: अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस

अधिकारका क्षेत्रमा काम गर्नेहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो। त्यसो त ‘हाम्रो शरीर हाम्रै हो’ भन्ने विषयमा पनि बहस चलिरहने गर्दछ। पछिल्लो संविधान लेख्दा यस्ता विषयलाई समेटिएको भए पनि व्यवहारमा लागु हुन र गराउन सकिएको पाइँदैन। एउटी महिलाको जीवन काल खण्डका हरेक घुम्तीमा ‘मेरो शरीर मेरो अधिकार’ भन्ने सवाल सधैं ओझेल पर्ने गर्दछ। महिलालाई खेलौना वा पुरुषको चाहना पुर्तिका रूपमा प्रयोग गर्न गराउन खोजिने संस्कार केही घटे जस्तो देखिए पनि आम रूपमा आज पनि यथावत् छ।

नेपालमा महिला मानव अधिकारका सवालमा ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’को अवस्था जस्तो हुनुपर्ने त्यस्तो छैन। महिला र किशोरी न्यायका लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसारभरकै अधिकारर्मीहरूले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रूपमा मनाउँदै आइरहेका छन् । सन् १९८७ ,बर्सेनि अभियानको रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । यो वर्ष पनि ‘महामारी विभेदको अन्त्य गरौं, यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गरौं’ भन्ने नाराको साथ यो दिवस मनाइँदै छ ।

प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय भएको हुनाले कुनै पनि संकट वा संक्रमणको कारण प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुनुहुन्न भन्ने मान्यता नै यसको बलियो पक्ष हो। सरकारले समयमै यसलाई प्राथमिकता दिन नसके यसबाट हुने क्षति अपूरणीय हुने देखिन्छ। अहिले नेपाल सरकारले कोरोना विश्व महामारीको समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि अन्तरिम मार्गनिर्देशन २०७७ जारी गरेको छ। जसमा प्रमुख रूपमा प्रजनन स्वास्थ्य सेवाको व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख गरेको छ।  

यतिबेला महामारीको रूपमा फैलिरहेको कोराना संक्रमणका कारण व्यक्तिहरू चिन्तामा छन् भने विशेष अवस्थाका महिला झनै डर र त्रासका कारण स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नसम्म नगएको अवस्था छ। रुकुम घर भएकी २३ वर्षीया महिला ६ महिनाको गर्भवती छिन्। उनले कोरोना संक्रमण नफैलिंदै एकपटक गर्भ जाँच गराएकी हुन् तर अहिले उनी स्वास्थ्य संस्था जान सकेको छैनन्। ती महिलालाई यतिबेला निन्द्रा लाग्दैन, मुटु बेसरी धड्किन्छ, श्रीमान् पनि घरमा हुनुहुन्न, सुत्केरी हुन कहाँ जाने, कसरी सुत्केरी हुने, सुत्केरी हुँदा अस्पताल गयो भने कोरोना लाग्ने हो कि भन्ने डरले सताइरहन्छ। बच्चा जन्मेपछि पनि कोराना लाग्ने हो कि भनेर चिन्ताले पोलेको छ।  

रुकुमकै अर्की २७ वर्षीया महिला पनि यतिबेला सकसमा छिन्। विहे गरेको ८ वर्षपछि उनको पेटमा गर्भ रहेको छ। गर्भ रहँदा कति रहर थियो। एक महिना नहुँदै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था गएकी थिइन्। अहिले कोरोना भाइरसको दोस्रो लहर चलेपछि उनी धेरै तनावमा छिन्। ८ वर्षपछि रहेको गर्भ र आफूमा कुनै समस्या आएमा के गर्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। काखमा नानी खेलाउने मेरो सपना अधूरै रहन्छ कि भन्ने भयले रातभरि निन्द्रा लाग्दैन। स्वास्थ्य संस्था गएमा कोरोना सर्छ होला भन्ने डर छ। अस्पतालमा कोरोनाका विरामी धेरै भए भने आफूले सेवा पाउँदिन होला अनि बच्चा जन्माउन गाह्रो होला भन्ने डरले स्वास्थ्य संस्थामा जान नसक्ने समस्या धेरै महिलामा छ।

शहरदेखि गाउँसम्म दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहेको छ। दैनिक सङ्क्रमित र मृतकको संख्या बढिरहेको छ। पछिल्लो समय कोरोना महामारीले धेरैको ज्यान लगिसकेका कारण आम नागरिकभन्दा बढी गर्भवती र सुत्केरी डर, त्रास र भयमा छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालकको तथ्यांक अनुसार गएको ३ महिनामा उसको कार्य क्षेत्रमा ३ सय १ महिलाहरू कुनै न कुनै किसिमको मानसिक रूपमा प्रभावित भएको देखिन्छ। यस्तो समस्या भएका महिलाहरू अझै धेरै हुन सक्छन् तर सजिलै खुलेर आउन सकिरहेका छैनन्। यस्ता गम्भीर सवालहरूलार्ई ध्यानमा राखी स्थानीय तहले महिलाका सवालमा सेवा प्रवाह गर्न जरुरी देखिन्छ भने प्रजनन स्वास्थ्यका सवालहरू अझै नीतिगत व्यवस्थासँगै व्यवहारगत रूपमा कार्यान्वयन गर्न जरुरी छ ।

महामारीका समयमा सबैभन्दा बढी जोखिममा पर्ने महिला तथा बालबालिका हुन्। विश्वका हरेक विपत्तिमा सबैभन्दा जोखिममा यही समूह रहने गरेको तथ्याङ्क छ। तर हाम्रोमा राज्य स्तरबाट कहिले पनि विपत्तिका समयमा जोखिम समुदाय लक्षित योजना बनाउने गरेको पाइँदैन। ठूलो अमानवीय क्षति भोग्नुभन्दा पहिले नै देशमा रहेका केन्द्र, प्रदेश र स्थानीय सरकारले ठोस योजना र कार्यान्वयन गर्न लाग्नुपर्ने देखिन्छ।

(लेखक मनोविमर्शकर्ता हुन्)

प्रकाशित: १५ जेष्ठ २०७८ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App