१५ चैत्र २०८० बिहीबार
ब्लग

मानसिक स्वास्थ्य भर्सेज आत्महत्या

त्रिवेणी गाउँपालिका वडा नं. ४ रुकुमकी शान्ता (नाम परिवर्तन) सानैदेखि पढाइमा राम्रै थिइन् । उनी ३ दाइ र ४ बहिनीमध्ये कान्छी छोरी हुन। सानो उमेरमा उनी घरको काम गर्ने, आमा र भाउजूलाई काममा सघाउने गर्दथिन्। १० कक्षामा पढ्दै गर्दा उनको ९ कक्षामा पढ्ने एक जना केटासँग फोन सम्पर्कबाट परिचय भयो। बेलाबेलामा फोन गर्ने र कुरा गर्ने गर्दै एक वर्ष बित्यो । कहिलेकाहीँ भिडियो कल पनि हुन्थ्यो ।  

एकदिन उक्त केटाले विवाहको प्रस्ताव राख्यो तर उनले अस्वीकार गरिन्। त्यो विवाह अस्वीकार गरेपछि त्यो केटाले उनको र आफ्नो फोटोलाई जोडेर अश्लील भिडियो बनाएर दाइलाई पठाइदियो। भिडियोमा शान्ताको कुनै पनि सम्बन्ध थिएन। उनलाई उनका दाइले कुरै नबुझी बेसरी गाली गरे। उनलाई दाइको डर र लाज लाग्यो अनि तनावले सताइरह्यो । केही दिनसम्म तनावमै रहिन् ।  

त्यसपछि तनावलाई व्यवस्थापन गर्न नसकी घर नजिकैको रुखको हाँगामा डोरीले पासो लगाइन्। कलिलो उमेरमा नचाहँदा नचाहँदै आत्महत्या गरिन्। जतिबेला उनलाई मानसिक रूपमा बलियो बनाउने मान्छेको आवश्यकता थियो। त्यतिबेला उनलाई साथ दिने मान्छे कोही भएन। शान्तालाई बलियो बनाउनुको साटो कमजोर बनाइयो। उक्त अश्लील भिडियो बनाउने युवकलाई कुनै कारबाही समेत भएन।

सिता (नाम परिवर्तन) वर्ष १९ की भइन्। मुसिकोट नगरपलिका वडा नं. ८ घोरखानी उनको घर छ । उनले एसएलसी गरेपछि पढ्न घरमा धेरै संघर्ष गर्नुपर्यो । पढन मन लागेको थियो तर आमाबुवाले अब नपढभन्दै विवाह गरिदिने निर्णय गरे । त्यो निर्णय उनका लागि घात भयो । इच्छा चाहना सबै सकिएको जस्तो लाग्न थाल्यो । हरेक दिन सितालाई तनाव भयो ।

उनमा मनले नचाहेको काम गर्नुभन्दा आत्महत्या गर्ने सोच आयो । सिताले मुसा मार्न ल्याएको औषधि खाने योजना बनाइन्। एक दिन उनले औषधि खाइन्। तुरुन्तै उनको बहिनीले देखिछन्। तुरुन्तै उपचार गर्न सकिएका कारण सिताको ज्यान बच्यो। बाँचेपछि सितालाई फेरि तनाव भयो । उनले फेरि विष खाने योजना बनाइन्। उनको योजना ओरेक नेपालको मनोविमर्शकर्ताले सुनेपछि मनोविमर्श सेवा सुरु गरिन्। पटकपटकको मनोविमर्श सेवापछि अहिले सितालाई मरेर हैन बाँचेर केही गर्छु भन्ने सोच आएको छ। सिता यतिबेला स्वस्थ्य छिन्।

विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन् । १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो। विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएको छ। नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेर अनुसारको आत्महत्याको दर निकालेको थियो।  

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौं स्थानमा रहेको र प्रति एक लाखमा २५.९ जना व्यक्तिहरूले आत्महत्या गर्ने देखिएको छ। सन् २००८/०९ मा गरिएको मातृमुत्यु र रुग्नता अध्ययनले प्रजनन उमेर समूहका महिलाहको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ। यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ ।  

विश्वमा गरिएको विभिन्न अध्ययनले आत्महत्या व्यक्तिगत, आर्थिक र सामाजिक कारणको परिणाम हो भनेर उल्लेख गरेको छ । त्यसै गरी आत्महत्याको जोखिम बढाउने प्रमुख कारणहरू भनेर विगतमा गरिएको आत्महत्याको प्रयास, मानसिक समस्या, लागु पदार्थ दुव्र्यसनी, आर्थिक र सामाजिक क्षतिलाई मानेको छ ।  

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयको तिन वर्षको तथ्यांकलाई हेर्दा पछिल्लो समय आत्महत्याको तथ्यांक बढ्दो ग्राफ देखिन्छ। २०७५/०७६मा २६ जनाले आत्महत्या गरेकोमा २०७६/७७ मा ३२ जना र २०७७ को चैत सम्ममा  २६ जनाले आत्महत्या गरेका छन्। यसरी हेर्दा रुकुममा पनि आत्महत्याको दर बढ्दो क्रममा रहेको देखिन्छ। आत्महत्या गर्नेहरूमा झुन्डिएर मर्ने  धेरै छन् भने विष सेवन गर्ने पनि रहेको छन्।  

नेपालमा मानसिक स्वास्थ्य नीति २०५२ सालमा बनेको थियो तर पनि मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा गतिलो प्राथमिकता पाएन। स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्य योजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्य क्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ।  

यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवाप्रदान गर्ने व्यवस्था समेत गरिएको अवस्था छ ।

आत्महत्यालाई कमी गर्ने हो भने नीतिलाई व्यवहारमा कार्यान्वयन गरी स्थानीय तहरूले हरेक स्वास्थ्य संस्थामा मनोसामाजिक समस्यालाई सम्बोधन गर्नका लागि मनोविमर्शकर्ताको व्यवस्थापन गर्न जरुरी रहेको देखिन्छ ।

(लेखक मनोविमर्शकर्ता हुन्)

प्रकाशित: ७ जेष्ठ २०७८ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App