७ वैशाख २०७८ मंगलबार
ब्लग

सम्झनामा जोगिरा सररर...

चाडपर्व

 

कोभिडको संक्रमण कायमै भन्दै होली लगायतका पर्व  भिडभाडका साथ नमनाउन सरकारको अनुरोध छ  । राजधानीमा चैते हुरी  चल्दै गर्दा  मेरो मनमा भने विगतमा तराईमा मनाइएका होलीका  सम्झनाका भिड लाग्दै छ।

झन्डै एक दशक बारा–पर्सामा रहेर पत्रकारिता गर्दा त्यहाँका चाडपर्वले नछुने कुरै भएन । त्यसमा पनि रङहरूको पर्व होलीको  त मनमा कहिल्यै  नमेटिने गाढा रंग गढेको छ । त्यसैले होला यतीबेला ल्यापटपका पुराना फोल्डरमा  होलिका पुराना तस्वीर नियाल्दै गर्दा रंगीन दृश्य झलझली याद आउँछ ।  

होलीका तस्वीरसंगै उनीहरूको रंगीन  अनुहार राजधानीमा नाम चलेका पत्रिकाको पहिलो पृष्ठमा थुप्रै पटक  छापिए । ती तस्वीर मात्र थिएनन्, तराईबासीको उमंग थियो । जुन  हरेक वर्ष ‘ फागु ’बन्दै रंगीन पत्रिकालाई झनै रंगाउँथे । त्यतिबेला खिचेका होलीका तस्वीरमध्ये एउटा तस्वीर अझै पनि   मनमा गढेको छ । विस ६१–६२ तिर बाराको सिमरामा श्रीमान गुमाएका एकल महिलाहरूले  होली मनाउँदै गरेको थाहा पाएँ।

 ‘एकै दिन भए पनि  मधेशमा व्याप्त विभेदलाई   होलीको रङले   पोतिदिन्छ । आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुरयाउने पर्वको रूपमा होलीलाई लिइन्छ ।   फगुनाई हावामा रमाउँदै गरेका युवायुवतीको रङ्गीन अनुहारबाट एउटै स्वर गुन्जन्छ –जोगिरा सरर....!

 

लामो समयसम्म  फिक्का जीवन बिताउँदै आएका महिलाहरूले होली मनाउँदै गरेको खबरमा मैले  रङ मात्र हैन रहरको क्रान्ति  पनि देखे । उनीहरुसंग रङमा रमाउँदै थुप्रै तस्वीर क्लीक गरे ।  केही तस्वीर राजधानी पठाएँ । भोलिपल्टै पहिलो पृष्ठमा तस्वीर छापियो । मन फुरुङ्ङ भयो ।अविर लेन्समा छिरेर सानो क्यामरा बिग्रिएको थियो । आफूले महत्वपूर्ण ठानेको तस्वीर पत्रिकाको पहिलो पृष्ठमा छापिएको खुसीको अगाडि क्यामरा बिग्रिएको कुरा निकै सानो रह्यो ।  

 ‘मैले त्यो तस्वीर छापिएकै दिन मधेशकी एक   एकल महिलालाई पत्रिका देखाएँ । उनले होली मनाएकी त थिइनन् । तर, तस्वीरको क्याप्सन पढेलगत्तै उनको अनुहार खुसीको रंग पोखिएको  सहजै देखे । बर्षोदेखि फिक्का रंगमा जीवन बिताउँदै आएका एकल महिलाको होली मनाएको त्यो तस्वीर  मात्र थिएन, सामाजिक चेतनाको उज्यालो रंग थियो । त्यसको प्रकाश मधेशका थुपै्र एकल महिलामा परेको महसुस भयो।

 बाराको सिमरामा डेढ दशक अगाडि  होली मनाउँदै एकल महिला ।  

होलीको रंगले एकै दिन भए पनि  तराईमा लिगं, वर्ण, जात र अमिरी गरिवीको विभेदलाई पोतिदिन्छ । फगुनाई हावामा रमाउँदै गरेका युवायुवतीको रंगीन अनुहारबाट एउटै स्वर गुन्जन्छ –जोगिरा सरर.... । धनी हुन या गरीव, होलीको उमंग सबैमा समान देखिन्छ ।  होलीका विभिन्न गीत गाउँदै आफ्नै घरआँगनमा नाच्दै रमाउने उनीहरूको जीवनशैलीले हरकोहीको मन हथ्र्यो ।

 त्यस्तै एउटा तस्वीर खिचेको थिए,  बाराको परवानीपुरमा रंगीन कपडा लगाएर डोम बालबालिकाले नाचेको । गाँस, बास र कपासको अभावमा चरम गरिवीमा जीवन गुजारिरहेका डोम समुदायका बालबालिका यति धेरै हर्षित मुद्रामा मैले कहिल्यै देखेको थिइन । उक्त तस्वीर पनि पहिलो पृष्ठमा छापियो । मैले त्यो तस्वीर ती बालबालिकालाई देखाएँ । अघिल्लो दिनको रंग अनुहारमा बाँकी नै थियो । त्योभन्दा बढी खुसी झल्कियो अखबारको पानामा देखिएको आफ्नो तस्वीरले । पत्रकार र  पत्रिकाबारे जानकरी नभएका उनीहरूले  उत्सुकताका साथ  सोधे पनि– कसले हाम्रो फोटो अखबारमा टाँसिदिएछ ?

 बाराको परवानीपुरका डोम बालबालिका होलीको अवसरमा नाच्दै ।  

होलीमा पछिल्लो समय विकृति थपिदै गएकोमा धेरै चिन्तित छन् । तराईमा रहँदा यसको भद्रता देख्ने मौका थुप्रै पटक मिल्यो । हातमा अविर लिएर जेष्ठ नागरिकको अगाडि उभिएर  रंग लगाएर आशीर्वाद माग्ने कला होलीमै देखिन्छ । रंग लगाइदिएर रंगीन अनुहारलाई भोजन गराउने चलन अझै छ । अझ खाना खुवाएर हात धुन गएको पाहुनालाई घरका छोरीचेलीले रंगीन पानीले भिजाइदिँदा भान्सामा समेत होलीको रौनक पोखिन्छ।  

अझ विद्यालयमा त यसको रौनक झनै देखिन्छ । होली अगाडि विद्यालयबाट छुट्टिने क्रममा साथीहरूसंग रग दलेर रातो अनुहार लिएर घर फिर्दे गरेका नानीहरूले होलीको संकेत गर्छन । विद्यालयबाट  रंगीन गाला लिएर फर्केका विद्यार्थीहरूले  आफ्नो घरमा होली भित्राएको भान हुन्छ।

त्यसो त मुस्लिमहरूले होलीको रंग खेल्दैनन् । तर, हिन्दू साथीहरूको निम्तामा भोज खान आएका उनीहरू पनि रंगीन भएर गएको दृश्य धेरै पटक देखियो ।  रंगचाहिँ नलगाऊ है भन्ने मुस्लिम साथीलाई हिन्दू साथीले रंगीन बनाएर पठाउँदा माहौल झनै रमाइलो बन्न पुग्छ।

‘हो हामी रंग लगाउँदैनौ, तर प्रत्येक होलीमा हामी रंगिएका हुन्छौ,’ वीरगन्ज–३२ का जफुर रहमान भन्छन्, ‘साथीले लगाइदिएको होलीको रंगले हामीलाई मानसम्मान दिएको महसुस हुन्छ ।’  

आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुरयाउने पर्वको रूपमा होलीलाई लिइन्छ। 

होलीकै लागि भनेर  सेतो कुर्ता सिलाउने चलन कायमै छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले गन्जी निकाले पनि सेतो कुर्तामा परेको  दाग हेरेर बर्षो रमाउने कला पनि यही मिल्छ । ‘सेतो पहिरनमा रंगाएर होली खेल्नुको मज्जा नै बेग्लै हुन्छ,’ नागेश्वर जैशवाल भन्छन्, ‘कपडा नियाल्दा पनि वर्षभरिको होलीको याद रहिरहन्छ ।’  अझ होलीमा विगतका शत्रुता मेटाउने अवसरको रूपमा पनि लिने गरिने उनी सुनाउँछन् ।  

 पछिल्लो समय राजधानीमा बसेर पत्रकारिता गर्दे गर्दा पनि तराईबासीको होलीमा सहभागिता हुने अवसर नजुटेको होइन् । जनकपुरियाले आयोजना गरेको होली मिलन समारोहमा पनि टुँडिखेलमा  सहभागिता जनाइयो । तर  मधेसी भूमिमा  बसेर रंग खेल्नुको मजा नै बेग्लै । फगुनाई हावाले कपाल हल्लाउँदै गरेका  किशोरकिशोरीको रंगीन अनुहार ।  घुम्टोभित्र मुस्कुराइरहेको रहर । फुल्दै गरेको आँपको मुजुरा । अनि बज्दै गरेको जोगिरा सरर....।  यसको अभावमा होली अधूरो रहेको भान हुन्छ।

त्यति मात्र हैन, होली अगावै मनको मैला निखारेर रंगीन हुने उनीहरूका चलनले समाजमा सद्भाव बढाएको छ । त्यसैले होली रंगहरूको पर्व मात्र हैन, यो सामाजिक सद्भाव र समानताको अवसर पनि हो । जहाँ कसैको कसैसंग  केही आग्रह रहँदैन । सबैको एकै आवाज रहन्छ । जोगिरा सरर.....।

हिरण्यकशिपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलीका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुसीयालीमा होली मनाउन सुरु भएको मान्यता  छ । आशा गरौ  र सबैले भनौ –तराईमा कायम रहेको विभेदको होलिका यसपालिबाट सधैका लागि  भष्म हुनेछिन्  ।   जोगिरा सरर.... ।

प्रकाशित: १५ चैत्र २०७७ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?