२३ फाल्गुन २०७७ आइतबार
ब्लग

राजनीतिमा युवाको प्रश्न कि परिवर्तन ?

एक महिना अगाडिको कुरा हो,एक परिचित व्यक्तिले मलाई अंग्रेजीमा "Is it the time to be in politics ?" भनेर यो प्रश्न गर्नुभएको थियो। यो प्रश्नमा उत्तर पाउने  जिज्ञासा भन्दा बढी मलाई गरिएको खबरदारीको संकेत भान भएको थियो। उहाँको हाउभाउले मलाई एकछिन मै स्पष्ट पारिदियो। यो प्रश्न गर्नुको उद्देश्य राजनीति गर्नु हुन्न भन्ने पक्षमा थियो। ती व्यक्तिको प्रश्नले खुसी भएकी म प्रश्नको भाव बुझ्ने बित्तिकै खुसि निराशामा परिवर्तन भयो।

म सानै उमेरदेखि समाजसेवामा रुचि राख्ने गर्थे। परिस्थितिले जुराएको समयमा सामाजिक सेवामा सामेल पनि हुन्थे। बढ्दो उमेरसँगै जीवन र सोचमा अझै परिवर्तन आयो। समाजसेवा गर्ने सोचमा हिँड्दै गर्दा  एक्कासि मेरो नजर देशको राजनीतिमा गयो। आफ्नो देशप्रतिको सकारात्मक सोच र प्रेम भावनाले गर्दा भविष्यमा देशको हितको लागि अग्रसर हुनुपर्छ भन्ने विश्वास लिएर हिँडिरहेको हुन्थे। केही गर्ने सोचमा डुलिरहेको मेरो मस्तिस्कमा एक्कासी ति व्यक्तिको प्रश्नले हलचल मचाउन सफल भयो।  

एक गर्न सक्ने, बुझ्न सक्ने शिक्षित युवाको मनमा राजनीतिलाई लिएर यति धेरै शंकाहरु छन् भने राजनीतिमा युवाहरूको भूमिका कहिले बढ्ने ? प्रश्न एक ब्यक्तीको थियो तर त्यही प्रश्न हरेक नेपाली युवाहरूको मनमा पो छ कि भन्ने मैले अनुमान लगाएँ। युवाहरुलाई भविष्यको कर्णधार भनिन्छ तर धेरै युवाहरूलाई राजनीतिमा चासो नभएको देखिन्छ। ती व्यक्तिले मलाई आफ्नो प्रश्न मार्फत राजनीतिमा प्रवेश गर्ने सही समय हुनुपर्छ भन्दै थिए। अझै उन्नले सहि उमेर र पढाइ सक्नुपर्छ पनि भन्दै थिए। सायद यस्तै सोचाई कैयौं युवाहरुको मनमा भएर होला आज देश चलाउन कपाल नै फुल्नु पर्ने भएको छ। के देशको नीति र नेतृत्व बहन गर्न कपाल फुल्ने उमेरलाई नै उपयुक्त मान्नुपर्छ र ?

नेपालको राजनितिक स्थिति कुन दिशामा जाँदैछ हामी देख्न सक्छौँ । संसद विघटन भएपछि अन्योलमा परेको राजनीतिक अवस्था कस्तो होला भन्ने सबैमा चिन्ताको विषय बनेको छ। के गरिरहेका छन् नेपाली युवा ? अब नेपाली युवाहरुले नेपालको राजनीतिक संस्कारमा परिवर्तन ल्याउनु पर्छ। भनिन्छ युवावस्थामा एउटा छुट्टै खालको जोश जाँगर र नयाँ सोचहरूको विकास हुन्छ फेरि किन हामी त्यही पुरानो राजनीतिक पद्दतिको पछि लाग्छौँ ? समय सँगै देशको राजनीतिक अवस्थामा सुधार ल्याउनु हामी सबै नेपालीको दायित्व हो। तर धेरै युवाहरुलाई राजनीतिक संस्कारमा परिवर्तन ल्याउन र नयाँ सोचको थालनी गर्न कुनै चासोको बिषय नै बन्दैन।

कति युवाहरु राजनीतिलाई अंग्रेजीमा "डर्टी गेम"(dirty game)भनेर परिभाषित गर्छन्। राजनीतिक अबस्था फितलो हुनाले दिक्क भएका युवाहरु आफूले राज्यबाट पाउने हक, अधिकार त लिन खोज्छन् तर राज्यप्रति आफूले निभाउने जिम्मेबारीको मनन भने गर्दैनन् ।

अझै पनि भाषणमै मग्न भएका नेपाली युवाहरु पुरानै नेताहरूको पछि लाग्नबाट थाक्दैनन् । कति युवाहरु राजनीतिलाई अंग्रेजीमा "डर्टी गेम"(dirty game)भनेर परिभाषित गर्छन्। राजनीतिक अबस्था फितलो हुनाले दिक्क भएका युवाहरु आफूले राज्यबाट पाउने हक, अधिकार त लिन खोज्छन् तर राज्यप्रति आफूले निभाउने जिम्मेबारीको मनन भने गर्दैनन् । जब देशका सक्षम युवाहरु नै राजनीतिलाई लिएर बहस गर्न खोज्दैनन् देशमा परिवर्तन कसरी आउँछ ? आफ्नो देशको राजनीतिक अवस्था कस्तो छ, राज्यको नीति कस्तो नेताको हातमा छ र कस्तो राजनीतिक दलले सरकारको नेतृत्व लिएको छ ? यी सब यावत कुराहरु को जानकारी भएमा बल्ल सही र गलतको परक हुन्छ। नेपालको राजनीतिक स्थिति भ्रम नै भ्रमले पुरिएको छ।  

धेरै युवाहरु आफ्नो देशमा केही अवसर छैन भन्दै बिदेशी भूमीलाई रोज्ने गर्छन्। आफ्नो देशका सक्षम युवाहरुले देशको स्थितिमा ध्यान नदिँदा नयाँ आउने पुस्ताहरुलाई झन् अवसर नै नहुने हो कि अनुमान लगाउन सजिलैसँग सकिन्छ ।

बिपि कोइराला त्यत्रो राणाशासनको बिरुद्धको कमाण्डर बन्ने बेलामा ३५ बर्षका थिए । कयौं मान्छेले युवा अबस्थामा राजनीतिलाई मार्गदर्शन गर्ने आट गरेर र इतिहास बनाएका छन् । समाजलाइ एक ठाउँबाट अर्को ठाउँमा पुर्यामउन भुमिका खेलेका छन् । हामी त्यस्ता कथाहरु हाम्रा बच्चाहरुलाइ सुनाउँदैनौ र आम हिसावले राजनीति भनेको खराब हो भन्ने धारणाको स्थापित गरेका छौं।

अहिले नेताहरूको होडबाजीमा केवल जनता मुछिएका छन्। नेताका मिठा भाषणले लोभिएर भोट हाल्ने पद्धति कैयौं वर्षदेखि यथावत् नै छ। अहिले पनि केवल सरकार र शक्तिको लोभमा नेताहरु सडकमा आएका छन् । यदि देश विकासको लागि सडकमा आएका हुन्थे भने विसं २०६२ र ०६३ सालमा भएको दोस्रो जनआन्दोलन पश्चात देशले विकासको काँचुली तुलनात्मक रुपमा फेरिन सक्थ्यो। हामीले किन, कसलाई र केका लागि भोट हाल्दैछौं अब प्रत्येक नेपाली यो कुराबाट अवगत हुनुपर्छ।

नेताले सत्ताको लोभमा गति र मति दुवै छाडिसके फेरि हामी नेपाली के भएका ?

हामी पछि लागेर कहिले नआत्तिने, कहिले नथाक्ने के भएका। नेपालीहरुले आफ्नो दु:ख आफैंले किन बुझ्दैनन् । यतिका वर्षदेखि अहिलेका बुढा राजनीतिकर्मीहरु पटकपटक असफल सिद्ध भइसकेका छन्। कतिपटक एउटै राजनीतिक दललाई भोट हाल्यो होला खै त विकासलाई निरन्तरता दिन सकेका। हरेकपटक जनताको साथ र भोटको दुरुपयोग भएको छ। नेताहरुले सोझासाझा नेपालीहरूलाई लोभलालच देखाउने अनि भोटको किनबेच गर्न दलालि जस्तै भइसकेका छन। हामी कस्तो नेतृत्वकर्ता चाहन्छौं यो रोज्ने हक हामी आफैमा छ। गलत नेतृत्वकर्ताको चुनाव  गरेकै कारण अहिलेसम्म सरकारबाट निराशा खेपिरहेका छौ।  

"राजनीतिमा होमिन नचाहनेले आफु भन्दा असक्षमहरूबाट शासित हुने सजायँ पाउँछन्।"- प्लेटो  

यस भनाइबाट  पनि हामी धेरै बुझ्न सक्छौ कतै हामीले सजाय त पाएका छैनौं ?

अहिले राजनीतिक विषयलाई लिएर चर्काचर्की ,आलोचना र बहसहरु चलिरहेको बेला राजनीतिक दलहरु एक अर्कालाई  व्यंग्य हान्न व्यस्त छन्। भीड जम्मा गरेर शक्तिको परिभाषा दिँदैछन्। पक्कै पनि भिडले बहुमतको प्रदर्शन गर्दछ शक्तीको हैन,शक्ति त सत्यतामा हुन्छ तर हरेक भिडमा सत्यवादी हुदैनन् ।

भिड नै शक्ति हुन्थ्यो भने आज महाभारत कौरवको नामबाट चिनिन्थ्यो किन पाण्डवको नामले महाभारत अमर हुन पुग्थ्यो। बुद्धिमानी त सकुनी र कृष्ण दुबै थिए तर सकुनी छलकपटी थिए भने कृष्ण सत्यवादी र आदर्शपुरुष थिए त्यही भएर कृष्णको नेतृत्वमा महाभारतको अस्तित्व रचिएको थियो।

राजनीतिमा  किन आउँदैनन युवा ?

नेपाल युवाले भरिएको तर नेतृत्वमा युवा नरहेको देश बनेको छ। युवा कै नाममा राजनीति बिभिन्न राजनीतिक दलले गरेको हुन्छ तर जब पद दिने बेला हुन्छ अथवा राजनीतिमा प्रवेश गर्न चुनावको समयमा टिकट दिने बेला  साधारण नेपाली नागरिकको छोरा छोरीलाई युवा देख्दैनन् ।

राजनीतिप्रति मानिसको धारणामा जबसम्म परिवर्तन आउँदैन तबसम्म दक्ष युवा राजनीतिबाट टाढै बसेको देखिएको छ। परिवारको सदस्य राजनीतिमा भएका युवा सजिलै राजनीतिमा प्रवेश गर्न सक्छन् तर गैर राजनीतिक परिवारको युवा त्यसमा पनि युवा महिलालाई त परिवार नै उसको लागि सर्वप्रथम बाधक बन्ने गर्छ। यदि परिवारले नै राम्रो मान्छेलाई राजनीतिमा प्रवेश गर्न रोक्छ भने कसरी हाम्रो राजनीति राम्रो र आदर्श हुन्छ?  प्रत्येक नेपाली युवालाई राजनीतिमा प्रवेशको लागि घर-घरबाट प्रोत्साहन गर्नै पर्छ।  

नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ। पुरानाले  ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन्। युवाहरू राजनीतिबाट टाढिने क्रम बढ्दो छ। हरेक नयाँ पुस्ता पुरानो पुस्ताभन्दा अब्बल हुनैपर्छ। यसका लागि राजनीतिमा युवापुस्ता भित्रिन अपरिहार्य छ। राजनीतिमा युवापुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुन्छ।  देश विकासको मूल स्रोत नै खेर जान्छ। समाजको सबैभन्दा गतिशील पुस्ता नै युवा हो।

बोल्दा युवा चाहिन्छ भन्ने, तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ। युवाहरूले मूलधारमा आउन अनेकौँ चुनौती सामना गर्नुपरेको छ।

युवाहरू स्वयंको योग्यता, क्षमता र निखरतामा समस्या छ । अमुक मान्छेको फुर्को समातेर नेता भइन्छ भन्ने परजीवी मानसिकताले केहीलाई नराम्रोसँग गाँजेको छ।  

राजनीतिमा युवाको आकर्षण कसरी?

युवालाई राजनीतिमा प्रवेशका लागि आकर्षण गर्न पार्टीले नै नीति अनि कार्यक्रम बनाउनुपर्छ। सक्षम युवालाई राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यकै तहबाटै पहल  गर्नुपर्छ। अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्रै बनाउनुपर्छ। संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ।

युवाले पार्टी कार्यकर्ताका रूपमा मात्र नभएर स्वतन्त्र विचार विमर्श गर्ने समूहका रूपमा पनि सहभागी भएर राजनीतिलाई दिशानिर्देश गर्न सक्नुपर्छ। आफ्नो नेता अनि प्रतिनिधिलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ। राजनीतिक दलभित्रै पनि आफ्ना नेताहरूलाई दबाब दिन सक्नुपर्छ। अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने फेरि हाम्रो राजनीति अनि हामी अघि बढ्न सक्दैनौं। अब प्रत्येक युवाले आफ्नो ताकत र क्षमतालाई चिनेर अगाडि आउनै पर्छ। हरेक युवालाई आफ्नो क्षमताको पहिचान हुदै आफूप्रति भरोसा हुनुपर्छ।

यो पुरानो नेपाल हैन जहाँ कलिलै युवाहरूको हातमा बन्दुक, हसियाहतौडा र क्रान्तिका ज्वाला थमाइयोस। अबको नयाँ नेपाल शान्त मय हुनुपर्छ जहाँ प्रत्येक नेपाली युवालाई राजनीतिक संस्कार, इमान्दारिता र आदर्शवान हुन सिकाइयोस। अबको नेतृत्वकर्ता कारागारमा बिताएको नहोस् बरु जोगी सन्त नै किन नहोस् । अबको नेतृत्वकर्ता जंगलमा बसेको भएपनि हुन्छ तर बुद्ध बनेर निस्कियोस तर सत्र हजार नेपाली मार्ने हिंसक नहोस्। अबको नेतृत्वकर्ता हसाउने होस् तर विकासको नाममा हसाएर नेताबाट कमेडि म्यान नहोस।

भनिन्छ राजनीतिमा लागेपछि व्यक्तिको विकास हुन्छ तर देशको बिकास हुँदैन। अहिलेसम्म यही भइरहेको छ। राजनीति गरिखाने माध्यम होइन तर देश विकास गर्ने माध्यम राजनीति बन्न सक्छ। यी कुराहरुलाई  बुझेर हरेक युवाले राजनीतिक ज्ञान लिनै पर्छ। महिला र पुरुष युवाहरूको समावेशीकरण हुनुपर्छ। अब बुढा राजनीतिकर्मिहरुलाई आराम गर्न पठाउनु पर्छ। अनि युवाले देश सम्हाल्नुपर्छ र नयाँ पुस्तालाई समृद्ध नेपाल देखाउनै पर्छ।

 

 

 

प्रकाशित: १३ माघ २०७७ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App