coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

स्वामी अग्निवेशको नेपाल साइनो

स्वामी अग्निवेशलाई आर्यसमाजी भन्दा मात्र अन्याय हुन्छ। उनी भारतीय लोकतन्त्रमा बेलाबेला देखिने अतिवादविरुद्धका पहरेदार थिए भन्दा अतिशयोक्ति हुँदैन। उनै मानवतावादी व्यक्तित्व अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको रोगबाट पीडित उनको उपचारकै क्रममा निधन भएको हो।

सन् १९३९ मा आन्ध्र प्रदेशमा जन्मिएका स्वामी अग्निवेश सामाजिक मुद्दामा दह्रिलो आवाज उठाउने एक  अभियान्ताका रुपमा भारतमा परिचित छन्। उनले सन् १९७० मा आर्य सभा नामको एक पार्टी समेत गठन गरेका थिए। उनी १९७७ मा हरियाणाको विधानसभामा निर्वाचित समेत भएका थिए। उनी हरियाणा राज्य सरकारमा शिक्षामन्त्री समेत भएका थिए। तर उनी राजनीतिको मुलबाटोमा हिँड्ने नेता भने होइनन्, सामाजिक अभियानले राजनीतिमा जोडिने एक व्यक्तित्व हुन्। उनको जन्मको नाम वीपा श्याम राव थियो। पछि आर्यसमाजमा लागेपछि अग्निवेशले चिनिन थाले।

उनी एक समाज सुधारक र अभियान्ता हुन्। स्वामीले भारत मात्र नभएर दक्षिण एसियाली देशहरुमा बँधुवा मजदुरहरुको पक्षमा आवाज उठाएका थिए। सोहि सन्दर्भमा उनी नेपालमा आएर विसं २०३९ मा कार्यक्रम गरेका थिए। उनीसँगै अर्का अधिकारकर्मी कैलाश सत्यार्थी पनि नेपाल आएका थिए। सत्यार्थीले पछि नोवेल शान्ति पुरस्कार पनि पाए। अग्निवेशले सन् १९८१ मा बँधुवा मुक्ति मोर्चा नामक एक संगठन बनाएर उनीहरुको पक्षमा आवाज उठाएका थिए। बँधुवा मजदुर जो दासत्वको नयाँ रुप थियो। यसका विरुद्धमा उनी निरन्तर संघर्ष गरिरहे।

हिन्दु अतिवाद मौलाइरहेको भारतीय लोकतन्त्रमा बाबाको भेषमा अनेक कृत्य देखिइरहँदा स्वामी अग्निवेश एक गेरु बस्त्रधारी क्रान्तिकारी थिए। उनी स्वामी थिए, उनी नेता थिए र एक सुधारक थिए।

कतिपयले नेपालको शान्ति प्रक्रियामा समेत उनको नाम जोड्ने गर्छन्। तर नेकपा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराईले त्यो सरासर असत्य भएको बताउँछन्। 'स्वामीजी सँधै न्यायपूर्ण आन्दोलनको पक्षमा रहनु भयो तर नेपालको शान्ति प्रक्रिया वा बार्ताको सम्पर्क शुत्रको रुपमा कहिल्यै रहनु भएन।'

भारतीय कांग्रेसका नेता राहुल गान्धीले स्वामीजीलाई एक क्रान्तिकारी नेताको रुपमा सम्झँदै श्रद्धञ्जली दिएका छन्। कलाकार सवना आजमीले पनि बँधुवा मजदुरको पक्षमा उनले गरेको कामको स्मरण गरेकी छन्।

सन् २०१४ ताका स्वामी अन्तिम पटक नेपाल आए। त्यसबेला उनी पशुबलि विरोधी अभियानमा समर्थन गर्न यहाँ आएका थिए। बाराको गढीमाई मेला रोक्नु पर्ने उनको धारणा थियो। ठूलो संख्यामा पुशबलि दिइने गढिमाई मेला रोक्न अधिकारकर्मीले आव्हान गरेका थिए। हो त्यसैबेला उनी नेपाल आएर यसको विपक्षमा राजनीतिक भेटघाटसमेत गरेका थिए। तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईलाई उनले भेटेका थिए।  

'स्वामीजीले ठूलोसंख्यामा भइरहेको पशुबलिलाई रोक्न पर्ने मत राख्दै म सँग पनि भेट्नु भएको थियो', पूर्वप्रधानमन्त्री डा. भट्टराई त्यतिबेलाको भेटबारे भन्छन्, 'त्यहाँ साथीहरुसँग कुरा पनि गरेको थिए। पछि गढिमाई पुग्दा दुर्व्यवहार भएछ।'  

यही दौरान उनीसँग मेरो भेट भएको थियो। बढो स्नेहले उनले भनेका थिए, 'आवाज सानै होला तर जुनसुकै हिंशाविरुद्ध निरन्तर आवाज उठाइरहनु पर्छ।' उनले पछि फोन गरेर गढिमाईबाट फर्कने क्रममा भएको दुर्व्यहारले आफुलाई दु:खी बनाएको बताएका थिए म सँग। पछि उनीसँग दिल्ली जाँदा पनि भेट भयो। जन्तरमन्तर नजिकै रहेको आर्य समाजको कार्यालयमा उनीसँग २०१५ को अन्त्य तिरको भेटनै अन्तिम भयो।

 उनले भारतमा संघर्षरत नक्सलवादी भनेर चिनिने भारतीय माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास समेत गरेका थिए। उनले नक्सलवादीका तत्कालिन प्रवक्ता आजदसँग सम्पर्क स्थापित गर्दै भारतीय सरकार र विद्रोहीबीच शान्ति वार्ताको पहल गरेका थिए। पछि त्यो निष्कर्षमा पुग्न सकेन। विद्रोहीहरुसँग कुरा चलिरहेकै समयमा आजादको हत्या हुनपुग्यो।  

कतिपयले नेपालको शान्ति प्रक्रियामा समेत उनको नाम जोड्ने गर्छन्। तर नेकपा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराईले त्यो सरासर असत्य भएको बताउँछन्। 'स्वामीजी सँधै न्यायपूर्ण आन्दोलनको पक्षमा रहनु भयो तर नेपालको शान्ति प्रक्रिया वा बार्ताको सम्पर्क शुत्रको रुपमा कहिल्यै रहनु भएन।' उनी नेपालको असल मित्र भएको डा. भट्टराई बताउँछन्। डा. भट्टराई र हिसिला एमीबीच सन् १९८१ मा विवाह गराइदिने पनि उनै अग्निवेश थिए।

स्वामी अग्निवेशले टेलिभिजन रियालिटी सो 'बिग बोस' मा समेत देखिएका थिए। एक जना स्वामी बिग बोसमा देखिँदा धेरैलाई आश्चार्यसमेत लागेको थियो। उनी तीन दिनका लागि बिग बोसको घरमा रहेका थिए।

सन् २०११ मा भारतमा अन्ना हजारेको अगुवाईमा चलेको भ्रष्टाचार विरोधी अभियानमा समेत उनले भाग लिए। तर उनी पछि त्यस आन्दोलनबाट पछि हटेका थिए।

आफ्ना सामाजिक अभियानका कारण अग्निवेशले 'राइट लाइवलीहुड अवार्ड' समेत पाएका थिए।

उनी कुनै समय शिक्षक थिए र वकिल पनि। उनी रुढीवाद र जातिवादका विरुद्धको खिलाफमा थिए। मूर्तिपूजा र धार्मिक कुरितीविरुद्धमा उनी थिए। जुन कुरा धर्मभिरुका लागि अपाच्य थियो। भारतमा दलित समुदायमाथी हुने अन्याय तथा मन्दिर प्रवेशमा हुने अवरोधको विरोधमा समेत उनले अभियान चलाएका थिए।

उनी बेला बेला हिन्दु अतिवादीहरुको निशानामा परिरहन्थे। पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई अन्तिम श्रद्धाञ्जली दिन जाने क्रममा विजेपी कार्यकर्ताले स्वामीमाथि आक्रमणको प्रयास गरेका थिए। यस्तै सन् २०१८ मा झारखण्डमा उनीविरुद्ध जय श्रीराम भन्दै विजेपी कार्यकर्ताले आक्रमण गरेका थिए। त्यतिबेला उनी बसेको होटल अगाडि प्रदर्शन गरिरहेका उनीहरुले स्वामी अग्निवेश बाहिर आउने वित्तिकै उनका कपडा च्यातिदिएका थिए। अर्थात अतिवादीहरुका मनमा उनी एक त्रास थिए।

 

 

 

 

 

प्रकाशित: २७ भाद्र २०७७ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App