१५ आश्विन २०७७ बिहीबार
ब्लग

कोरोनाबाट बच्न पालना गर्नुपर्ने १४ नियम

आजको युगमा विश्व जगतलाई एक दिन पनि रोक्न सकिन्न होलाजस्तो लाग्थ्यो। तर अत्यन्त संक्रामक (नोवेल कोरोना) भाइरसका अगाडि कारण विश्व समुदाय निरीह बन्न बाध्य भएको छ। आस्थाका धरोहर मन्दिरका ढोका थुनिए। स्कुल/कलेज बन्द भए। व्यापार/व्यवसाय ठप्प भए। 

अब कोरोनाबाट मानिस डराउन छाडेका छन्। आफू सुरक्षित रहेको भ्रममा बाँचिरहेका छन्। पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका नियम पालना नगर्नु उदेकलाग्दो कुरा भएको छ। 

सामाजिक/सांस्कृतिकलगायत सबै गतिविधिमा प्रतिबन्ध लाग्यो। हवाई तथा सडक यातायात रोकिए। सरकारको काम कोरोना महामारी नियन्त्रणमा सीमित भयो। न्याय/प्रशासन/संसदका काम अवरुद्ध भए। सानातिना बिरामीलाई अस्पताल नआउन भनियो अर्थात् बिरामीले उपचार पाएनन्। बच्चाहरू असुरक्षित अवस्थामा (स्वास्थ्य संस्थाबाहिरै) जन्मिए। मृतकको सदगद् परम्परागत रीतिरिवाजअनुसार हुन पाएन। एक दिन, दुई दिन भन्दाभन्दै कैयौं महिना यही अवस्थामा बितिसके। तर अझै महामारी अन्त्यको छाँटकाँट देखिएको छैन। अहिलेसम्म कोरोनाविरुद्ध औषधि/खोप बनिसकेको छैन।  

पछिल्लो समय यो समस्या (रोग सार्ने भाइरस) थप घातक भएको संकेत देखिँदै छ। यस अवस्थामा कोरोना संक्रमण भएका व्यक्तिलाई घरपरिवारदेखि टोल/छिमेकसम्म दुर्व्यवहार हुने क्रम बढ्दो छ। बिरामीको उपचारका खटिने स्वास्थ्यकर्मीले समेत अनेक मानसिकयातना भोग्नु परिरहेको छ। यस्ता घटनाले हामी चेतनशील भनिएका प्राणीको विवेक र चेतमै प्रश्न उठाएका छन्। यो भाइरसबाट बच्ने उपाय भनेको हरेक व्यक्तिले अनुशासन पालना गर्ने तथा आत्मविश्वास विकास गर्नु नै हो।  

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण आगोजसरी विश्वभर फैलिएपछ त्यसबाट नेपाल पनि अछूतो रहने कुरै भएन। भदौको तेस्रो हप्तासम्म आइपुग्दा नेपालमा झन्डै ५० हजार संक्रमित तथा ३ सय जनाले ज्यान गुमाइसकेका छन्। यो क्रम दिनानुदिन बढिरहँदा केही मानिस कोरोना मिथ्या हो भन्दै भ्रम छर्दै छन्। अधिकतर मानिस भने भविष्यप्रति सशंकित हुन थालेका छन्। 

हामी मानवको जीवन चलाउने मुख्य ऊर्जा भनेको सुन्दर भविष्यप्रति आशावादी हुनु हो। त्यसका लागि प्रकृतिअनुकूल आफ्ना आनीबानी बदल्नु हो।  अहिले एकअर्काबीच भौतिक (शारीरिक) दूरी कायम गर्ने, मास्क लगाउने, फोहोर वा भाइरस शंका लाग्ने वस्तु छोइएपछि साबुनपानीले राम्रोसँग हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका नियम पालना गर्न अभ्यस्त हुँदै छन्।  

स्थिति यस्तो भइसकेको छ कि राज्यले बिरामीको उपचार धान्न सक्ने अवस्था छैन। अस्पतालमा स्थान अभावका कारण कोरोना संक्रमणका लक्षण भएका व्यक्तिलाई समेत घरमै बस्न सल्लाह दिनुपर्ने अवस्था आइसकेको छ। सरकारले देशका सबै सरकारी तथा निजी क्षेत्रका अस्पताललाई कोभिडका बिरामी उपचार गर्न निर्देशन जारी गरिसकेको छ। सरकारी अस्पताल आफ्नो क्षमताले भ्याएसम्म कोरोना संक्रमितको उपचारमा जुटिरहँदा निजी क्षेत्रका अस्पतालमा यसको शुल्क निकै महँगो बनेको छ । जसले गर्दा उपचार सुविधा आम मानिसको पहुँचभन्दा बाहिर पुगेको छ। यस्तो अवस्थामा उपचारको अवश्यकता परेका बिरामीसमेत सेवाबाट वञ्चित भइरहेका छन्।  

सबै मानिसलाई कोठामा थन्किएर बस्न सम्भव हुँदैन। गाँस, बास, कपास, औषधोपचार, पढाइलेखाइ, पेसा/व्यवसाय, सामाजिक समारोह, धार्मिक कार्य आदिबाट विमुख हुनुपर्दा मानिस उकुसमुकुस भइरहेका छन्। जसले गर्दा कारोना नियन्त्रणका लागि बनाइएका नियम तोड्न थालिएका छन्। 

निषेधाज्ञा उल्लंघन गर्दै सामूहिक रूपमा सांस्कृतिक पर्वमा समावेश भएका व्यक्तिमा संक्रमण फैलिएको समाचारले त्यसको पुष्टि गर्छ। अब कोरोनाबाट मानिस डराउन छाडेका छन्। आफू सुरक्षित रहेको भ्रममा बाँचिरहेका छन्। पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका नियम पालना नगर्नु उदेकलाग्दो कुरा भएको छ। यसका पछाडि धेरै पक्ष जिम्मेवार होलान्, तर आफ्नो जीवन रक्षाका विषयमा समेत यस्तो लापर्बाही गर्ने प्रवृत्तिले देशका अरू समसामयिक सवालमा जिम्मेवार भूमिका निर्वाह गर्ने कुरामा विश्वास गर्न सकिन्न।  

अवस्था सधैं यस्तै रहने छैन। परिस्थिति प्रतिकूल भएका बेला जिम्मेवार व्यक्तिले परिवार/समाज/देशलाई हानि पुग्ने गतिविधि गर्न हुँदैन। यस्तो अवस्थामा भ्रम वा कसैको बहकाउमा संक्रमण बढ्न सक्ने क्रियाकलापतर्फ उद्यत हुन हुँदैन। आफ्नै स्वास्थ्य र जीवन सुरक्षाका लागि जारी गरिएका सरल नियम पालना गर्दा कोही सानो हुँदैनौं।  

यस सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुशासनका नयाँ नियम पालना गर्न सुझाव दिएको छ। अतः हरेक व्यक्ति, परिवार, समुदाय अनि राष्ट्रले देहाय वा आवश्यकताअनुसार यस्तै अन्य अनुशासन पालना गर्नु वाञ्छनीय छ :  

१. व्यक्ति–व्यक्तिबीच भौतिक दूरी (कम्तीमा ६ फिट) कायम गर्ने

२. शारीरिक र मानसिक स्वास्थ्यका लागि परिश्रम वा सिर्जनात्मक काम गर्ने

३. आमनेसामने भएर कुराकानी नगर्ने  

४. बाहिर जाँदा लगाएका कपडा घर फर्केपछि अलग्गै राख्ने र साबुनपानीले हात तथा शरीर सफाइ गर्ने

५. किनमेल वा आर्थिक कारोबार गर्नुपर्ने अवस्थामा सम्भव भएसम्म अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट सामानको आपूर्ति र भुक्तानीको व्यवस्था गर्ने  

६. भीडभाड हुने सार्वजनिक यातायातको प्रयोग नगर्ने, गर्नैपर्ने अवस्थामा मास्क लगाउने, कसैसँग गफ नगर्ने

७. बैठक वा अन्य व्यावसायिक भेटघाट सञ्चार प्रविधिका माध्यमबाट गर्ने, स्वयं उपस्थित हुनपर्ने अवस्थामा पर्याप्त भौतिक दूरी कायम गर्ने, खुलला वा हावा खेल्ने स्थान छान्ने, मास्क प्रयोग गर्ने  

८. संक्रमण उच्च रहेका स्थान (वा देश) को भ्रमण नगर्ने, गर्नैपर्ने भए फर्केपछि तुरुन्त बिरामी वा वृद्ध  वा अन्य उच्च जोखिम अवस्थाका मानिसलाई नभेट्ने (केही दिन क्वारेन्टिनमा बस्ने)

९. तमाम सावधानी अपनाउँदा अपनाउँदै पनि आफूलाई संक्रमणको आशंका लागेमा पछिल्लो एक हप्ताभित्र आफ्नो नजिकको सम्पर्कमा आएका व्यक्ति पहिचान गर्ने (संक्रमण पुष्टि भएमा सम्पर्कमा आएका व्यक्तिको जानकारी नजिकको स्वास्थ्य संस्था वा स्थानीय सरकारलाई गराउने)

१०. आमनेसामने भएर खाना नखाने, खाना खाने बेला सकभर कम बोल्ने, एउटै प्लेटबाट खाना बाँडेर नखाने

११. आफ्नो शरीरको तापक्रम वा सम्भावित लक्षणबारे स्वयं सचेत हुने

१२. अपरिचित व्यक्तिले प्रयोग गरेको चर्पी प्रयोग गर्नैपर्ने अवस्थामा हावा ओहोरदोहोर हुने (भेन्टिलेसन) सुनिश्चित गर्ने, चर्पी सफा गरेर मात्र प्रयोग गर्ने  

१३. साघुँरो र पर्याप्त हावा ओहोरदोहोर नहुने स्थानमा लामो समय नबस्ने

१४. ताजा/पोषिला खाना खाने, पर्याप्त पानी पिउने र उपलब्ध भएसम्म सागसब्जी, फलफूललाई प्राथमिकता दिने आदि।  

कोरोनाविरुद्ध कुनै औषधि बनिनसकेको अवस्थामा यसको सामना गर्ने सरल उपाय हाम्रासामु छन्। क्षणिक सजिलो रोज्ने कि सुरक्षित भविष्य?  रोजाइ हाम्रो ।  

अन्त्यमा, कोरोनाविरुद्धको युद्ध एक्लो प्रयासले असम्भव छ। त्यसैले परिवार र समुदायका हरेक व्यक्तिले तोकिएका स्वास्थ्य नियम पालना गर्ने र आत्मविश्वास उच्च पारेर मात्र यो लडाइँ जित्न सकिन्छ। हरेकको जीवनमा आरोह, अवरोह आइरहन्छन्, त्यसलाई बुद्धिमत्तापूर्वक सामना गर्ने व्यक्ति नै सफल हुन्छ। अहिले हाम्रो जीवनम यस्तै गम्भीर मोड आएको छ। कोरोनाविरुद्ध कुनै औषधि बनिनसकेको अवस्थामा यसको सामना गर्ने सरल उपाय हाम्रासामु छन्। क्षणिक सजिलो रोज्ने कि सुरक्षित भविष्य? रोजाइ हाम्रो ।  

प्रकाशित: २४ भाद्र २०७७ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App