१५ आश्विन २०७७ बिहीबार
ब्लग

महामारीले मानवता पनि मार्न लाग्यो !

‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन’- यो गीतले अहिलेको महामारीलाई चरितार्थ गरेको छ । कोरोनादेखि हामी सबै भागिरहेका छौं, तर अहिले कुन सहर, गाउँ वा ठाउँ होला, जहाँ यो भाइरस नपुगेको होस् । 

कोरोना संक्रमण यति भयावह बनिरहेकाे छ कि यसले मानवता नै धरापमा पार्न थालेकाे छ । सौहार्दता, मेलमिलाप, सहयोगजस्ता कुरा सबै मेटाउन लागेकाे छ । सट्टामा अमानवीयता र अभद्रता बढाइदिएकाे छ । यस्ताे नकारात्मकता हरेक वर्ग, पेसा, समाज र क्षेत्रमा फैलिँदाे छ । 

प्रकिया पूरा गरेर/निको भएर घर आउँदा पनि छिमेकी बोल्दैनन् । पसल जान पाउँदैनन् । केही किनेर खान पाउदैनन् । छिःछिः र दूरदूरको व्यवहार हुन्छ । 

समाजको प्रतिष्ठित क्षेत्रमध्ये एक स्वास्थ्य पनि हो । तर अहिले स्वास्थ्यकर्मी माथि नै प्रहार हुन थालेको छ । कस्तो विडम्बना ! आफ्नो ज्यान जोखिममा राखेर अरूको ज्यान बचाउन चौबिसै घण्टा  खटिनेलाई नै ‘कोरोना कारखाना’ ठानेर दुर्व्यवहार गर्न थालिएको छ । केही समय अगाडिसम्म आफ्नो टोलमा डाक्टरको घर छ । वरपर डाक्टर/नर्स छन् भनेर गर्वसाथ कुरा गर्ने छिमेकी अहिले तिनलाई घेरा हालीहाली लखेट्न उद्यत भएका छन् ।  

कोरोनाको जोखिममा पर्ने रहर कसलाई पाे हुन्छ र ! तर पनि ज्यान हत्केलामा राखेर ती मानवरूपी भगवान अरूको सेवा र सुरक्षामा खटिरहेका छन् । त्यस्ता महान् मानिसप्रति हामी किन यति कृतघ्न ? 

हो, यतिबेला हामी सबै तनावग्रस्त छौं । चारैतिर वातावरण नकारात्मक छ । काम गर्नेले काम गर्न गर्न  पाएको छैनौं ।  पढ्नेले पढ्न पाएका छैनौं  । तर पनि कठिनभन्दा कठिन परिस्थितिमा पनि मानव जाति आफूलाई जोगाएरै अगाडि बढेको कथा त सुनेका छौं नि । आपसमा हातेमालो गर्दै विषम परिस्थितिको सामना  गर्नुपर्ने बेला यो कलियुगमा  अलिअलि बचेखुचेको  मानवतालाई  पनि बिर्सेर असभ्य र जंगलीपन देखाउनु राम्रो हो र ?

स्वास्थ्यकर्मीझैं यतिबेला निशानामा परेका छन्– रोजगारी, पढाइ तथा काम विशेषले विदेश गएकाहरू । विदेशिएकाले घर आउन पाइरहेका छैनन्, बल्लतल्ल आएकाले पनि आफ्नो टोल  छिर्न पाउँदैनन् । प्रकिया पूरा गरेर/निको भएर घर आउँदा पनि छिमेकी बोल्दैनन् । पसल जान पाउँदैनन् । केही किनेर खान पाउदैनन् । छिःछिः र दूरदूरको व्यवहार हुन्छ । त्यही व्यवहारले स्वस्थ मानिसलाई पनि रोगी बन्न बाध्य बनाउँछ । 

केही समय अघिसम्म आफन्त एवं छिमेकी आपसमा फलानो त विदेश गएको छ भनेर मक्ख पर्दै गफ गर्थे । कोही विदेशबाट आए हतारहतार भेट्न आउँथे । तर अहिले तिनै विदेशिएकाहरूलाई अपराधीजस्तो ठानिन्छ । कोरोना ल्याउँछ भनेर आफ्नै देशले चिन्दैन । हिजो तिनैका भरमा थेगिएको मुलुकले आज उनीहरूलाई बोझ ठान्छ ।  मरियो भने बरु आउन पाइएला सजिलै तर जिउँदै आफ्नो देश फर्किन ज्यादै कठिन कुरा भएको छ ।  

नेपाली समाज सद्भाव र सहिष्णुताको उदाहरण मानिन्थ्यो । तर त्यही समाज आज भेदभाव र असहिष्णुताले भरिँदै छ । मानवता  नै मार्ने गरी माहामारीलाई जित्न दिने त ? हामी हरेकले मानवीय कर्तव्य र दायित्व बोध गरी आफू बाँची र अरूलाई पनि बचाउने बाटोमा लाग्नुपर्ने होइन र ? अरू केही गर्न नसेक पनि कम्तीमा हामी अरूको मनोबल र हौसला बढाउने शब्द  र व्यवहार त गर्न   सक्छौं नि !  

नेपाली समाज मर्यादित थियो । झन् महामारीले थला पारेको यो बेला अझ मर्यादित भई मानवीय जिम्मेवारी निर्वाह गर्न जरुरी छ । कोरोनाले कसलाई कति बेला भेट्छ के थाहा ? भोलि हामी आफैंलाई कसैको माया र सहयोगको खाँचो पर्न सक्छ । महामारीबाट बच्न सचेत हुनुपर्छ भन्ने त बुझियो तर त्यसका नाममा बिरामी एवं उसका आफन्तलाई अवहेलना गर्ने अमानवता मौलाउँदै छ ।  

विदेशतिर त डटेर सेवा गरेका अनि संक्रमण परास्त गरेकालाई माया र सम्मान गरिएको देखिन्छ÷सुनिन्छ । अनि पो ऊर्जा भरिन्छ, जिन्दगीमा ।  सेवा गर्नेलाई पनि, रोग जित्नेलाई पनि । तर हामीकहाँ त उल्टो उनीहरूलाई निराश र हतोत्साही बनाउने भेदभावपूर्ण व्यवहार गरिन्छ ।  

नेपाली समाज सद्भाव र सहिष्णुताको उदाहरण मानिन्थ्यो । तर त्यही समाज आज भेदभाव र असहिष्णुताले भरिँदै छ । मानवता  नै मार्ने गरी माहामारीलाई जित्न दिने त ? 

हामी सबै महामारीविरुद्ध एउटै मैदानमा छौं । यहाँ कोही दुश्मन छ भने  त्यो त  महामारी हो । त्यसकारण यसलाई परास्त गर्न एकजुट भएर पो लड्नुपर्छ । एकअर्कालाई साथ दिँदै र सहयोग गर्दैै । मानव जातिको सामाजिक अस्तित्व मानवता, सौहार्दता, आत्मीयता, सहयोग, सद्भावसँग जोडिएको हुन्छ भनिन्छ । तर  एउटा माहामारीले यसलाई बगाएर लैजान लागेको जस्तो देखिन्छ ।

अन्त्यमा, एकले अर्काेलाई जीवन जिउने ऊर्जा प्रदान गरौं, आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न सहयोग गरौं । 

प्रकाशित: २१ भाद्र २०७७ १८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App