१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

फेसबुकमा पुनः क.यामलालको चर्चा

सुर्खेतका पुराना मानिने पत्रकार चिन्तामणि शर्माले कर्णाली प्रदेश सरकार परिवर्तन हुन लागेको संकेतसहित एउटा सामग्री फेसबुकमा राखेका छन् । त्यसमा ‘सुर्खेती जनताले रोजेको, कर्णालीले खोजेको । क. यामलाल कँडेललाई मुख्यमन्त्री होइन, मुख्यमन्त्री पदलाई यामलाल कँडेल चाहिएको छ’ भनेर लेखिएको छ । अर्का पत्रकार शेरबहादुर थापाले सामाजिक सञ्जालमै कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेल हुने पक्का भएको भन्दै बधाइ दिइसके । यति मात्र होइन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही परिवर्तन हुने कुरा पुनः एकपटक बहसको विषय बनेको छ ।

यो बहस पहिलोपटक भने होइन ।  बेलाबेला मुख्यमन्त्री फेरबदल हुने कुरा चर्चामा आइरहन्छ । प्रतिपक्षले भने होइन, सत्ता पक्षकै सांसद सत्ता परिवर्तनका लागि असफल प्रयास गर्दै आएका छन् । जबजब मुख्यमन्त्री फेर्ने कुरा चल्छ, तबतब नेकपाका नेता कँडेलको नाम जोडिन्छ । एक किसिमले भन्ने हो भने उनी फेसबुकको भित्तामा मुख्यमन्त्री पटकपटक बने । सत्ता निर्माणका बेला होस् या सत्ता निर्माण भइसकेपछि किन नहोस्, उनको नाम मुख्यमन्त्रीको पदसँग जोडिरहन्छ । जसका कारणले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र यामलाल कँडेलको सम्बन्ध समधुर बन्न सकेन ।

कँडेल आफैँले भने सरकारको नेतृत्व गर्ने विषयमा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा व्यक्त गर्दैनन् । उनी पक्षीय पत्रकार र केही कार्यकर्ताले पटकपटक कँडेललाई फेसबुके मुख्यमन्त्री  बनाउँछन् । एकपटक यही विषयमा मूलधारको एउटा पत्रिकामा समाचारसमेत बनेको थियो । फेसबुकमै भए पनि मुख्यमन्त्रीको स्वाद चाखेका कँडेल यसपालि मुख्यमन्त्री बन्लान् वा पहिलाको जस्तै बलीको बोका बन्लान यो विषय चाखलाग्दो छ ।

यतिबेला अलि सम्भावना नजिक कँडेल पुगेका छन् । उनी आफैँले मुख्यमन्त्रीलाई फालेरभन्दा पनि राष्ट्रिय सहमतिको जोडघटाउमा उनले मुख मिठ्याएका छन् । तर फेसबुकमा मात्र मुख मीठो बनाएका उनले केन्द्रीय तहमै केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने सहमति भए फेसबुकभन्दा माथि आएर साँच्चिकै मुख्यमन्त्री बन्ने छन् । तर उनलाई सहज छैन । तत्कालीन नेकपा एमालेका कँडेल प्रदेश सरकार परिवर्तन भए कर्णालीको मुख्यमन्त्री तत्कालीन नेकपा एमालेको कोठामा पार्न प्रयारत छन् । यदि त्यसो भयो भने कँडेलले यसपालि केही फट्को मार्ने छन् । यदी तत्कालीन नेकपा माओवादीकै कोठामा पर्यो भने उनी पुनः एकपटक फेसबुके मुख्यमन्त्री बन्ने छन् ।

सत्ताप्रतिको बढ्दो मोह यामलालका लागि कसी बनिरहेको छ । केन्द्रीय मन्त्री भइसकेका कँडेलले चाहेर पनि कर्णालीको सत्ता परिवर्तन गर्न सकेनन् । सत्ता परिवर्तन हुन लाग्यो, अब यामलाल मुख्यमन्त्री हुनुहुन्छ भन्दै उनकै कार्यकर्ता र उनलाई समर्थन गर्ने केही पत्रकार फेसबुकभरि छाएका थिए, अहिले पनि उसै गरी छाइरहेका छन् । त्यस्तो देख्दा यामलालले असफल प्रयास गरे भनेर सहजै भन्न सकिन्छ । यदि प्रयास नभएको भए कार्यकर्ता फेसबुकमा उनलाई मुख्यमन्त्री कहाँ बनाउँथ्ये होला ।

मुख्यमन्त्री शाहीलाई एकोहोरो काम गर्न सकेनन् भनेर मात्र आरोप लगाइयो । यही छडीलाई समातेर कर्णालीमा सत्ता परिवर्तनको हावा लागिरह्यो । मुख्यमन्त्रीले जनअपेक्षाअनुसार काम गर्न नसकै हुन् । प्रदेश राजधानीकै मुहार फेरिन सकेको छैन भने दुर्गमका गाउँको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । तर काम गर्न उनले किन सकेनन् त्यो महत्वपूर्ण विषय हो । कर्णाली प्रदेश सरकारले प्रतिपक्ष खुबै सहयोगी पाएको छ । प्रतिपक्षभन्दा सत्ता पक्षकै एक समूहबाट उनलाई काम गर्ने वातावरण सिर्जना भएन । यो मैले भनेको होइन, पटकपटक सरकारका मुख्यमन्त्री, मन्त्रीहरू आफैँ भन्दै आएका छन् । केही उनी आफैँमा कमजोरी पनि होलान् ।  

अब फेसबुकमा पटकपटक मुख्यमन्त्री बनेका कँडेल धेरै आशा गरिएका मध्ये कै नेता हुन् । उनको अस्त्र सही ठाउँमा लाग्यो वा केन्द्रीय राजनीतिक प्रभाव रह्यो भने यसपालि कँडेल फेसबुकमा मात्र होइन, कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बन्ने छन् । यसको प्रयासका लागि उनी केन्द्रीय नेतृत्व रिजाउन काठमाडौं छन् । तर यहाँ बच्चा जन्मने कहिले, भोटो सिलाउने अहिले जस्तै भएको छ । उनी मुख्यमन्त्री बनिसकेका छैनन् तर बधाइ आइसक्यो । तर जसरी उनी निकट पत्रकार र कार्यकर्ता सामाजिक सञ्जालमा छाइरहेका छन् यसले कँडेललाई नै घाटा भएको छ । कँडेलले गरेका प्रयास उनीहरूले बाहिर ल्याइदिन्छन् र अर्काे पक्षले उनको प्रयास तुहाइदिन्छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App