९ आश्विन २०८१ बुधबार
image/svg+xml
ब्लग

कोरोनाबीच व्यावसायिक पर्यटनको पुनर्जीवन

पर्यटक बढाउने केही उपाय

नेपाली पर्यटनको प्रमाणित इतिहास तेस्रो शताब्दीबाट पाइए पनि व्यावसायिक पर्यटनको सुरु भने २०औं शताब्दीबाट मात्र भएको हो । सन् १९४१ बाट पर्वतारोहणका निम्ति वैदेशिक नागरिकलाई नेपाल खुला गरिएसँगै व्यावसायिक पर्यटनको ढोका खोलिएको मान्न सकिन्छ । सन् १९५० मा नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनले वैदेशिक नीतिमा परिवर्तन ल्यायो र उक्त नीतिका कारण नेपालमा पर्यटक भित्रिन सहज भयो । सोही दशकको आठौं वर्ष अर्थात् १९५८ मा नेपाल एयरलाइन्सको स्थापनाले नेपाल पर्यटकको निम्ति सहज पहुँच बन्न पुग्यो । ‘शाह एन्ड राई’ नामक नेपालमा पहिलो ट्राभल एजेन्सी खुलेको थियो, सन् १९५९ मा । यस्तै, १९६५ मा पहिलो पाँचतारे होटल अन्नपूर्णको स्थापनासँगै व्यावसायिक पर्यटन मौलाउन थाल्यो ।

मोदनाथ सिलवाल (सन्तोष)

सन् १९५८ मा नेपाल एयरलाइन्सको स्थापनाले नेपाल पर्यटकको निम्ति सहज पहुँच बन्न पुग्यो । ‘शाह एन्ड राई’ नामक नेपालमा पहिलो ट्राभल एजेन्सी खुलेको थियो, सन् १९५९ मा । यस्तै, १९६५ मा पहिलो पाँचतारे होटल अन्नपूर्णको स्थापनासँगै व्यावसायिक पर्यटन मौलाउन थाल्यो ।

अहिलेको अवस्थासम्म आइपुग्दा पर्यटनको प्रभाव मुख्यतः आर्थिक, सामाजिक र वातावरणीय सहित अनेकौं क्षेत्रमा छ । विश्व मजदुर संगठन र विश्व पर्यटन संगठनले संयुक्त रूपमा जारी गरेको तथ्यांकअनुसार हरेक १० मजदुरमध्ये एक पर्यटन क्षेत्रबाट हुन्छन्, यसको मतलब कुल मजदुरको १० प्रतिशत मजदुरले पर्यटन क्षेत्रबाट रोजगारी पाएका हुन्छन् । नेपाल सरकार सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०१८’ अनुसार, पर्यटनमार्फत सन् २०१८ मा ६९ अर्ब ७५ करोड पाँच लाख ८४ हजार रुपैयाँ (६१ करोड ७२ लाख ६३ हजार अमेरिकी डलर) वैदेशिक मुद्रा आर्जन भएको देखिन्छ । यस्तै, सन् २००० देखि १८ वर्षसम्मको तथ्यांकअनुसार राज्यको कुल आम्दानीमा १.४ देखि ३.४ प्रतिशतसम्म पर्यटन क्षेत्रको योगदान छ । तर, यस तथ्यांकमा पर्यटकले ग्रामीण भेगमा गई गरेको खर्च, सन्तुष्ट भई सेवा प्रदायकलाई दिने टिप्स, शिक्षा स्वास्थ्य तथा अन्य सामाजिक कार्यमा दिने सहायता रकम समेटिएको हँुदैन । नेपालमा जमिनमार्फत भ्रमण गर्न आउने पर्यटकको संख्या कुल पर्यटकको लगभग २० प्रतिशत छ, उनीहरूले पनि ठूलो मात्रामा खर्च गर्छन्, जुन तथ्यांकमा सामेल हँुदैन । यति मात्र होइन, कृषि, कपडा, तथा अन्य उद्योग र अनौपचारिक क्षेत्रमा भएका उत्पादनको खपत पर्यटन क्षेत्रमा हुने गर्छ, यसर्थ पर्यटनको औपचारिक र अनौपचारिक क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ ।

यतिबेला कोरोनाले गर्दा पर्यटन क्षेत्र आक्रान्तमा परेको छ । यद्यपि त्यस्तो कुनै क्षेत्र छैन, जुन कोभिड–१९ को मारबाट अछुतो होस् । तर पर्यटन क्षेत्रमा परेको प्रभाव अन्य क्षेत्रको तुलनामा अग्रस्थानमा पर्छ । हुन त नेपालमा पर्यटन उद्योगले प्रशस्त आरोह र अवरोह पार गर्दै आजको दिनसम्म आइपुगेको हो । १९९९ देखि २००२ सम्म आइपुग्दा पर्यटकको संख्या ४३.९५ प्रतिशतले घटेको थियोे, जसको कारण थियोे, जनयुद्ध र राजदरबार हत्याकाण्ड । त्यस्तै, २०१५ मा महाभूकम्पले पर्यटकको संख्या ३२ प्रतिशतले खुम्चन बाध्य भयो । अहिले २०२० मा पर्यटकको संख्या ९० प्रतिशतभन्दा बढीले घट्ने अनुमान गर्न सकिन्छ । भिजिट नेपाल २०२० को तयारीमा रहेर लगानी गरेका ठूला तथा साना पर्यटन व्यवसायी पिल्सिएर बस्न बाध्य छन् । उद्यमीहरू व्यवसायमा टिक्न सक्ने अवस्था छैन । स्थिति कहिले पूर्ववत् हुने हो, कसैलाई थाहा छैन । फलतः राज्य, समाज, उद्यमी, श्रमिकहरूमा गहिरो आर्थिक र मनोवैज्ञानिक असर परिरहेको छ । यस्तो अवस्थामा समस्याको समाधानका निमित्त यथाशीघ्र राज्यले नेतृत्व लिई अघि बढ्नुबाहेक अरु विकल्प छैन ।

तत्कालीन र दीर्घकालीन नीति निर्माण र योजना तर्जुमा गरी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । तत्कालका लागि केही बुँदागत योजना बनाउन सकिन्छ । पहिलो, सरकार र निजीको संयुक्त प्रयासबाट मात्र समस्याको समाधान सम्भव भएकाले राज्यले निजी क्षेत्रलाई समेटेर समस्याको समाधान गर्नुपर्छ । राज्यले नीति र नियम निर्माण गर्ने र निजी क्षेत्रीले उक्त नीति पालना गर्ने हो, त्यसकारण निजी क्षेत्रको भावना र अवस्था बमोजिम रणनीतिक कार्यक्रम तय गरी अघि बढ्नुपर्छ । दोस्रो, राज्यले राहतको कार्यक्रम तय गरी पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्छ । जुन बजेट विनियोजनमा केही हदसम्म देखिएको छ । तेस्रो, पर्यटन गुणस्तरयुक्त होटलहरू कोरोना संक्रमित बिरामीका लागि क्वारेन्टाइन बनाउन सकिन्छ । यसो हँुदा एकातर्फ केही हदसम्म पर्यटन उद्योग चलायमान हुन्छ, अर्कोतर्फ राज्यको क्वारेन्टिन बनाउन लाग्ने ठूलो धन राशिको बचत हुन्छ । चौथो, हाम्रो देशमा अहिले पनि यथेष्ट सुरक्षित गन्तव्य छन्, जुन विश्व महामारीको चपेटामा परेका छैनन् । ती गन्तव्यको पहिचान गरी, सुरक्षित सावधानी अपनाई पर्यटन गतिविधि सञ्चालन गर्न अनुमति दिनुपर्छ ।

पाँचौं, सेवा प्रदायकले सेवाग्राहीहरूलाई पूर्ण सुरक्षा सावधानीको व्यवस्था गर्नुपर्छ, यसकारण कि पर्यटक तब मात्र यात्र गर्छन्, जबसम्म आफू हरेक हिसाबले सुरक्षित महसुस गरेका हुन्छन् । छैटौं, राज्यले कोरोना संक्रमित भएका र नभएका व्यक्तिको पहिचान गरी संक्रमित नभएका व्यक्तिलाई यात्रा अनुमतिपत्र दिनुपर्छ । सातौँ, राज्यले अब आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी योजना बनाई कार्यान्वयन गर्नुपर्छ । किनभने अब केही वर्ष अन्तर्राष्ट्रिय यात्रामा असहज र पर्यटकमा मनोवैज्ञानिक असर हुने भएकाले अन्तर्राष्ट्रिय पर्यटन सहज छैन । आठौं, राज्यले सरकारी कर्मचारीलाई पर्यटन बिदा उपलब्ध गराउनुपर्छ । र, उक्त बिदा भ्रमणका लागि मात्र उपलब्ध हुनुपर्छ । नवौं, सेवा प्रदायकले पारिवारिक प्याकेजको निर्माण गरी बजारीकरण गर्नुपर्छ । दशौँ, सेवा प्रदायकहरूले ‘नेपाल भ्रमणका लागि भुक्तानी अहिले’जस्ता नारा र प्याकेज लिएर पर्यटन बजारमा जानुपर्छ । पर्यटकले अहिले भुक्तानी गर्दा कस्ता फाइदा लिन सक्छन्, स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । यी र यस्ता खालका सयौं रणनीति छन्, जुन अपनाए तत्काल पर्यटनलाई चलायमान गराउन सकिन्छ ।

राज्यले पर्यटन उद्योगलाई थप उर्वर र विकास गर्न दीर्घकालीन नीति बनाई अघि बढ्नुपर्ने अर्को आवश्यकता हो । जसका निम्ति पनि केही  प्रयास गरिनुपर्छ । पहिलो, पर्यटनमा खोज र अनुसन्धानको जरुरत छ । विश्वमा कस्ता किसिमका पर्यटन प्रचलन छ ? आफ्ना प्राकृतिक तथा सांस्कृतिक स्रोतलाई कसरी उपयोग गरेका छन् ? स्रोतका प्रस्तुतीकरण कसरी गरेका छन् ? नेपालमा सम्भव छ कि छैन ? यी प्रश्नमा पर्यटन उद्योगको वैज्ञानिक खोज गरी विकास गर्न सकिन्छ । दोस्रो, हाल भारत, चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, युके यी पाँच मुलुकले नेपालको ५० प्रतिशतभन्दा बढी पर्यटन बजार ओगटेको छ । अब नेपालले अन्य मुलुकमा पर्यटन बजार विस्तार गर्नुपर्छ ।  

तेस्रो, नेपालको पर्यटनको तागत के हो भनी पत्ता लगाई बजारीकरण गर्न सके भविष्यमा पर्यटन उद्योग फस्टाउँछ । जस्तै, नेपालको तागत भनेको धार्मिक पर्यटन र साहसिक पर्यटन हुन् । विश्वमा हिन्दूको जनसंख्या लगभग एक अर्ब १५ करोड छ, जुन कुल जनसंख्याको १५.१ प्रतिशत हो । नेपालमा भएका हिन्दू धार्मिक स्थल, जस्तैः पशुपतिनाथ, मुक्तिनाथ, रामजानकी मन्दिर, गोसाइँकुण्ड लगायतमा धार्मिक यात्रा गर्न धर्मशास्त्रले प्रेरित गरेको छ । यसैगरी ५३ करोड ३० लाख बुद्ध धर्मावलम्बीको जनसंख्या छ, जुन कुल जनसंख्याको ७ प्रतिशत हो । बुद्ध धर्मग्रन्थ त्रिपिटकभित्रको विनयपिटकले बौद्ध धर्मावलम्बी भएर जन्मिएपछि बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्नुपर्छ भनेर व्याख्या गरेको छ । यसर्थ, नेपाल विश्वको २० प्रतिशतभन्दा बढी जनसंख्याका लागि धार्मिक गन्तव्य बन्न सक्छ । अर्कोतिर विश्वका अग्ला १० हिमशिखरमध्ये सगरमाथासहित आठ यहीँ छन् । दर्जनौं उच्च बहाव नदी, असंख्य हरियाली पहाड, खोँच, झरना छन् । जुन पर्वतारोहण, र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ लगायत साहसिक पर्यटन गतिविधि गर्न उपयुक्त स्थान हुन् ।  

चौथो, पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । पाँचौँ, अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध कायम गरी पर्यटन बजार बढाउनुपर्छ । छैटौं, विश्वमा पर्यटकको लगाव कस्ता कुरामा हुँदै छ, अनुसन्धान गरी सोही अनुरूप सेवा प्रदान गर्न सक्नुपर्छ । यी र यस्ता कुरालाई ध्यानमा राखी योजना बनाई कार्यान्वयन गर्न सके भविष्यमा नेपालको पर्यटन उद्योग थप फस्टाउन सक्छ ।

अतः विश्वमहामारी कोरोनाले पर्यटन क्षेत्रलाई सन्नाटा ल्याएको हालको अवस्थामा यथाशीघ्र राज्यले विज्ञको सल्लाह बमोजिम नेतृत्व लिई, निजी क्षेत्रसँग सहकार्य गर्दै समस्याको तत्कालीन र दीर्घकालीन उपाय खोजी समाधान गर्दै अघि बढ्न सक्नु अहिलेको मूल आवश्यकता हो । राज्यले चालेको कदमलाई रचनात्मक साथसहित राज्यलाई सघाउनु आमनागरिक, व्यवसायी, संघसंस्थाको दायित्व हो । यसो हुन सकेमा पर्यटन उद्योग छिटै पूर्ववत् अवस्थामा फर्कन सक्छ ।

प्रकाशित: २ असार २०७७ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App