४ आश्विन २०७७ आइतबार
ब्लग

कोरोना कहरः चीन महाशक्ति बन्न सक्छ?

फाइल तस्बिर

कोभिड–१९ महामारीबीच ‘एन्टी अमेरिकन’ र ‘प्रो चाइनिज’ समूहरुले विश्वमा चिनियाँ प्रभूत्व कायम होस् भन्ने चाहन्छन्। महामारीका कारण अमेरिकी प्रभाव कमजोर देखिए पनि चीनले एकल वर्चश्व कायम राख्न स्वयं चीनका लागि पनि त्यति सजिलो छैन।  

चीन विश्वको नम्बर एक व्यापारिक शक्ति त हो नै तर सैन्य, आणविक र उर्जाको क्षेत्रमा चिनियाँ सर्वोच्चता कायम छैन। के व्यापारिक साम्राज्यले मात्र चीनलाई महाशिक्त बनाउन सक्ला?  

चर्चा गरौं चीनको महाशक्ति बन्ने सपना र आगामी चुनौतीका बारेमा।

चुनौती १

सोभियत संघको (सन १९९१) अप्रत्यासित पतनपछि अमेरिकाले वर्तमान विश्वमा एकल महाशक्तिको उपमा पाएको हो। यो उपमा उसले विश्वमा विस्तार गरेको सैन्य शक्ति, विकास गरेको आणविक शक्ति र विकासशील तथा विकासोन्मुख देशमा निर्वाह गरेको अभिभावकत्वले प्राप्त गरेको हो। संगै उसको कुटनीतिक र सांस्कृतिक प्रभाव पनि जोडिएको छ।

अमेरिका वर्तमान विश्वको नम्बर १ सैन्य र आणविक शक्ति भएको देश हो। भने  चीन नम्वर १ ब्यापारिक शक्ति राष्ट्र हो।  अहिलेको विश्वमा चीनले करिब ४.४३ ट्रिलियन डलर व्यापारिक हिस्सा ओगटेको छ भने अमेरिकाले ३.८९ ट्रिलियन डलर ओगटेको छ।  वल्र्ड इकोनमिक फोरमका अनुसार अहिलेसम्म अमेरिकाले करिव ६ सय  २० विलियन अमेरिकी डलर र चीनले केवल २ सय ५० विलियन डलर मात्रै संैन्य शक्तिका लागि खर्चिएका छन्। यसरी हेर्दा महाशक्तिको दौडमा रहेको चीनले लक्ष्यमा पुग्न सैन्य क्षेत्रमा ब्यापक लागानी र विस्तार गर्नु पर्ने देखिन्छ।  तर विश्वका धेरै देशमा भौतिक पूर्वाधार निर्माणदेखि व्यापारिक सञ्जाल विस्तारमा लागेको चीन विश्व शक्ति बन्ने होडमा अनुत्पादक सैन्य क्षेत्रमा तीव्र लगानी बढाउन तयार होला? यो मुख्य प्रश्नसंगै चुनौती पनि हो।  

चीनले विश्वमा ब्यापार र निर्माणका मेगा प्रोजेक्टमा गरेको लगानीबाट ठूलो परिमाणमा विदेशी मुद्रा सञ्चिति गर्न सफल भएको थियो। अब  फेरि प्रश्न उठछ,  महामारीपछिको विश्वमा पनि चीनले पूर्ववत अवस्थामै आफनो ब्यापारिक सञ्जालको बिस्तार र अन्तरदेशिया निर्माणको कामलाई अघि बढाउन सक्ला? आर्थिक विश्लेषकहरु भन्छन्, ‘यो सम्भव छैन।’ अहिले नै पनि चीन भित्र सुचारु भएका अधिकांश उधोग कलकारखानाकोे  मागमा तिब्र गिरावाट आएका कारण ५० प्रतिशत पनि उत्पादन गरेका छैनन् भने करिब ६ प्रतिशत वार्षिक वृद्धिदर घटने प्रक्षेपण गरिएको छ। अर्कातर्फ बाँकी विश्वका अरुदेशले जस्तै ठूलो संख्यामा देश भित्र र बाहिर रहेका चिनीयाँहरुले पनि रोजगार गुमाएका छन् भने ब्यवसाय धराशायी भएको छ।

अब केहि विज्ञ तथा विश्लेषकहरुको विश्लेषण हरौं। जर्ज टाउन युनिभर्सिटीका प्रोफेसरद्धय माइकल ग्रिन र इभान मेडियरसले १५ अप्रिलको फरेन अफेयर्सको अनलाइन संस्करणमा  भनेका छन् ‘चीनले करिब ४० प्रतिशत सामान निर्यात गर्ने १२ भन्दा बढी देश अहिले महामारीबाट सबैभन्दा बढी ग्रसित छन्। अमेरीका र युरोप पनि यसै भित्र पर्छन्। अब आउने आर्थिक मन्दीमा चीनसंगै अमेरिका पनि नराम्रोसंग प्रभावित हुनेछ।’ यसबाट के प्रमाणित हुन्छ भने ब्यापारिक दृष्टीकोणबाट चीन सबैभन्दा बढी नोक्सान ब्यहोर्न बाध्य हुनेछ।

 विश्वमा आउने आर्थिक मन्दीले चीनले उत्पादन गरेका  कमसल खालका सामग्रीको मागमा पनि बिकासोन्मुख देश इथियोपियादेखि नेपालमा  समेत भारी गिरावाट आउने कुरामा कुनै आशंका छैन। जसका कारण चीनले बिदेशी मुद्रा आर्जन र अन्तराष्ट्रिय ब्यापारमा ठुलो नोक्सान ब्यहोर्ने निश्चित छ। हार्वड विश्वबिद्यालयका प्राध्यापक जोसेफ सर नेइले चीन अमेरिका दुबै ब्यापारिक रुपमा महामारीका कारण बढी प्रभावित हुने आंकलन गर्दै भनेका छन् ‘चीनको ब्यापारमा पूर्वानुमान गरिएभन्दा निर्यातमा धेरै कमी आउने निश्चित छ। अनि चीनले अमेरिकाको तहमा पुग्न अझै पनि सैन्य शक्तिमा ठूलो लगानी गर्नुपर्नेछ जुन ब्यवसायिक दृष्टिकोणबाट हेर्दा प्रत्युदपादक हो।’ 

१६ अप्रिलमा फरेन पोलिसीको अनलाइन संस्करणमा प्रकाशित उनको यो ब्याख्या ‘प्रो अमेरिकन’ जस्तो देखिए पनि उनले उल्लेख गरेको अमेरिका र चीनको फरक भूराजनितीक अवस्था र चीनको इन्धन आयतमा अन्य देशसँग परनिर्भर हुनुपर्ने बाध्यतालाई भने नकार्न मिल्दैन। तसर्थ उनको ब्याख्याको सारतत्व चीनले ब्यापारिक घाटा बृहत रुपमा सहेर के अनुत्पादक सैन्य क्षेत्रमा खर्च गर्न सम्भव छ भन्ने बिषयमा केन्द्रित छ। वास्तवमा ब्यापारबाट मुनाफा कमाइ राखेको चाइनाले महाशक्ति बन्ने होडमा सैन्य, इन्धन र आणविकमा हतारमा लगानी गरेर जोखिम मोल्न तयार नहुने कुरामा नै बिश्वास गर्न सकिन्छ। ब्यापारको फैलाबाटले मात्र चीन महाशक्ति बन्न त्यति सजिलो छैन। 

प्रो चाइनिज विश्लेषकहरुले पनि महामारीका कारण चीनले व्यापारिक घाटा बेहोर्ने कुरालाई भने स्विकार गरेका छन्। तसर्थ आम मान्छेको क्रयशक्ति घट्दा चीनले आफनो उत्पादनलाई विश्वब्यापी रुपमा बढवा दिन नसक्ने कुरा निश्चित छ  भने बैदेशिक मुद्रा आम्दानी नराम्ररी प्रभावित हुनेछ।। यसको असर विश्वमा आफनो प्रभाव बिस्तार गर्न ल्याइएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ जस्ता मेगा प्रोजेक्ट र ‘ब्रिक्स’ जस्ता अभियानको निरन्तरतामा पनि पर्ने आंकलन गरी सकिएको छ। जसले चीनको शक्ति बिस्तारमा सहयोग पुर्याउने थियो।

चुनौती २

अमेरिका र चीनपछिको विश्व शक्ति युरोप नै हो। महामारीमा  गरेको सहयोग र देखाएको उपस्थितिलाई लिएर युरोप चीनतर्फ ढल्कने अडकल र अनुमान नभएका होइनन्।  तर महामारीमा देखाएको उपस्थिति कै आधारमा कुनैबेला विश्वलाई राज गरेको युरोप चीनको छत्रछायामा बस्न तयार होला? यो गम्भिर प्रश्न हो। चीन युरोपको सम्बन्ध वास्तवमा ब्यापारमा केन्द्रित छ। ब्यापारिक सम्बन्ध जहिले पनि ‘म्युचुअल बेनिफिट’मा टिकेको हुन्छ। तसर्थ पावर बढाउने नाउमा न चीनले युरोपलाई दवाव र प्रभावमा पार्न सक्ने देखिन्छ न युरोप चीनको पोल्टामा गइहाल्नु पर्ने बाध्यतामा पुगेको छ। 

 राजनीतिक, सामाजिक आर्थिकदेखि सांस्कृतिक समानता भएको अमेरिकाले विश्वमा आफनो प्रभुत्व गुमाउदै गयो भने युरोपले बरु आफनै शक्ति बिस्तारको लागि अभ्यास गर्न सक्ने देखिन्छ। फरक राजनीतीक, सामाजिक नीति नियम भएको चीनको सर्वोच्चता स्विकार्न युरोप सहजै तयार हुने छैन। यसकारण अमेरिका कमजोर हुँदा  युरोपले फेरि एकपटक आफनो वर्चस्व देखाउने प्रयत्न गर्नेछ।

 आफ्नो ठूलो व्यापारिक साझेदार युरोपलाई आफ्नो पक्षमा पार्न  नसके पनि अमेरिकी प्रभावबाट टाढा राख्न सकेकोमा नै चीन पनि सन्तुष्ट हुनेछ। यहि तथ्यलाई मनन गर्दै ८ मेईको ग्लोवल टाईम्समा लि क्विडकिडले लेखेकी छन् ‘चीन युरोपको सहकार्य र प्रतिस्पर्धाको सम्बन्धमा महामारीका कारण परिबर्तन आउने छैन। अनि यी दुई शक्तिबीच सम्बन्ध बिच्छेद पनि हुन सक्दैन। जुन व्यापारिक सम्बन्ध हो।’  यस्तो अवस्थामा युरोपको भिन्न शक्ति अभ्यासलाई चीनले रोक्नभन्दा पनि नरम समर्थन नै गर्ने विश्लेषकहरुको बुझाई छ। युरोपिएन युनियनमा देखिने खटपट पुरानो होइन। तर युरोप फस्र्टको अभियानमा उत्रदाँ यी देशहरु फेरि एकपटक तिक्तता र असमझदारी तोड्दै एकाकर हुने कुरामा दुईमत छैन।  

अर्को एउटा तथ्य छ फरक आईडलोजी बोकेको चीनको अभिभावकत्वलाई युरोपियन नेतृत्वले स्विकार्न सक्ने सम्भावना कम छ। चीनको पक्षमा लविङ गर्दा जनस्तरमा आफनो पपुलिज्म र प्रभाव घटने कुरामा युरोपियन लिडरहरु सजग छन्। चीनको पक्षधरता र सर्वोच्चता युरोपियन  नागरिकले रुचाउदैन्। यो   युरोपियनमा परेका चिनियाँ शासनपद्धतिप्रतिको गलत छाप र बुझाइको प्रभाव हो। तसर्थ जनमत गुम्ने डरले पनि युरोपियनहरु चीनसँग तत्काललाई  व्यापारिकभन्दा बढी सम्बन्ध चाहदैनन्।  चुनौती ३

चीनकै हाराहारीमा जनसंख्या रहेको छिमेकी देश भारत विश्वको उदयीमान अर्थतन्त्र भएको राष्ट्र हो। आन्तरिक रुपमा कतिपय समस्याहरु भएपनि आणविकदेखि सैन्य शक्तिको तिव्र विकास भारतले गरिरहेको छ। तर यी दुई छिमेकीबीच धेरै कुरामा मतभिन्नता र असमानता छ। ग्लोवल सुपरपावर बन्न चीनले छिमेकीहरुबाट पर्याप्त समर्थन नबटुली सम्भव छैन। 

भारतलाई बेवस्ता गरेर चीन एक्लै दगुर्न सक्दैन। उत्तर कोरियासँग सँधै नजिक देखिएको चीनलाई एसियाको उदियमना अर्थतन्त्र भएको देश दक्षिण कोरीयालाई विश्वासमा लिएर समर्थन पाउन झनै कठिन छ। यस्तो अवस्थामा एसियाका उदियमान देश भारत, दक्षिण कोरिया र जापानले अरु एन्टी चाइनिज देशलाई आफनो प्रभावमा पारेर बेग्लै शक्ति अभ्यास गर्ने प्रसस्त संभावना रहन्छ। जसमा ब्राजिलदेखि अफ्रिकन देशहरु पनि जोडिन सक्छन्। चीनीया प्रगतिको मोडल विश्वका धेरै देशका लागि रुचीकर र कौतुहलताको बिषय भए पनि शासन शैलीको बिषयमा भने धेरैको बिमती र फरक मत देखिन्छ।

चुनौती ४

अमेरीकी प्रभाव विश्वमा घटने बित्तिकै तेल उत्पादक अरवियन तथा मुस्लिम देशहरु चीनको समर्थनमा भन्दा पनि आफनै शक्ति निर्माणमा अभ्यासरत हुने कुरामा दुइमत छैन। यी देशहरु बिगत लामो समयदेखि अमेरीकाको फुटाउ र राज गरको शिकार भएका छन्। विश्वमा एकपटक आफ्नो फरक बर्चस्व देखाउन सदा प्रयत्नरत  यी राष्ट्रलाई अमेरिका युरोपले रोकि राखेको छ। अमेरीका कमजोर भएर युरोपले फरक शक्ति अभ्यास गर्दा यस्ता देश चीनको छायाँमा बस्न भन्दा पनि आफनै शक्ति निर्माणमा जुटने छन्। विश्व अर्थतन्त्रमा तीब्र प्रगती गरी राखेका अरेवियन देशहरु एकल सुपरपावरभन्दा पनि बहुधु्रवीय विश्व होस भन्ने चाहन्छन्। यसको मुल कारण हो विश्वमा खाडी तथा मुस्लिम देशहरुको सिधा र अर्थपूर्ण उपस्थिति हुनसकोस भन्ने  नै।

चुनौती ५

अमेरिका  सैन्य, आर्थिक र आणविक शक्तिले मात्र विश्वलाई लिड गर्ने स्तरमा पुगेको  होइन। अमेरीका र युरोपियन युनियनले स्वार्थ जे जस्तो भएपनि कमजोर र गरिब राष्ट्रलाई ठूलो परिमाणमा सहयोग दिएर आफनो वर्चस्व कायम गर्न सफल भएका हुन्। तर व्यापारिक नाफा घाटाको हिसावमा केन्द्रित चीनले आर्थिक मुनाफा नहेरी त्यस्ता विकासोन्मुख देशलाई अमेरिका इयुको तहमा अनुदान दिने सम्भावना देखिंदैन। इयु र अमेरिकाले गरिब देशमा  दिएका राहत र अनुदानको स्थान ओगटेर विकल्प बन्न चीन के तयार होला ? अवश्य छैन। किनकी चिनले त्यस्ता देशमा पनि सहयोग भन्दा ब्यापारिक सञ्जाल र सम्बन्ध नै बढी बिस्तार गरेको छ।

 चीनले आफनो ब्यापारिक छविलाई सहयोगदाताको रुपमा परिणत गर्न तत्काल सम्भव छ? यो अर्को यक्ष प्रश्न हो। विश्वको अभिभावकत्व गर्छु भन्ने देशले  फराकिलो छाती बनाएर  कमजोर र गरिव देशको समस्या समाधानमा पनि उत्तिकै जिम्मेवार बन्न नसकेमा अहिलेको विश्वलाई लिड गर्ने सजिलो छैन। ब्यापारिक संस्कारबाट उदाएको चीनलाई यो अभ्यासमा आउन धेरै कठिन छ। तसर्थ यस्तो परिस्थितिमा कमजोर र गरिब देश पनि चीनको पोल्टामा परि हाल्ने देखिदैन।

निष्कर्षः

अन्त्यमा यति भन्न सकिन्छ कि महामारीका कारण विश्वशक्ति अमेरिका कमजोर देखिए पनि चीन एकल नेतृत्व गर्ने स्थानमा पुग्ने सम्भावना देखिदैन। महामारीका कारण अरु देशले जस्तै ब्यापार घाटा बेहोर्न बाध्य हुने चीनले महाशक्ति बन्ने होडमा सैन्य आणविक जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेर सायद जोखिम मोल्न तयार पनि नहोला। यस्तो अवस्थामा बहुधु्रवीय विश्व शक्तिकै अभ्यास हुने संभावना बढदो छ। बहुध्रुवमा विश्व विभाजन हुँदा नेपाल जस्ता विकासोन्मुख देशलाई घाटा भने हुने छैन। किनकी हरेक शक्ति सम्पन्न देशले यस्तो अवस्थामा कमजोर देशलाई पनि आफनो प्रभावमा पार्न दवाव होइन सहयोग र सुमधुर सम्बन्धकै माध्यम अपनाउने छन्।

प्रकाशित: २८ जेष्ठ २०७७ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App