२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

'महिनावारीबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक'

नेपाली समाजमा महिनावारीको बेला अछुतको व्यवहार गरिँदै आएको विषयमा यहाँका सरोकारवालाहरूले असहमति जनाएका छन्। सृष्टिको निरन्तरताको अनिवार्य सर्त प्राकृतिक वरदान मान्नुपर्ने महिनावारीलाई अछुत ठान्ने समाजले धारणा बदल्नुपर्नेमा उनीहरूको जोड छ।

महिनावारीप्रति समाजको गलत बुझाइका कारण पश्चिम नेपालमा कायम छाउपडी प्रथाले बर्सेनि कैयौँ किशोरी तथा महिलाहरू सर्पले डसेर, आगोले जलेर अकालमा ज्यान गुमाउन बाध्य छन् भने कतिपय मरणासन्न हुने गरी घाइते हुने गरेका छन्। महिनावारीको बेला महिला किशोरीको यस्तो अवस्था हुनु भनेको मानव समाज अत्यन्त ढुङ्गे युगमा रहेको असभ्य नागरिकको परिचायक हो भन्ने सरोकारवालाहरूको बुझाइ छ।

यही सिलसिलामा पछिल्लो समय महिनावारीलाई अभिसाप नभई वरदान साबित गराउन सामाजिक सचेतना कार्यक्रमहरु हुँदै आएका छन्। जस अनुसार उदयपुरका केही ठाउँमा सार्वजनिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। ‘विश्व महिनावारी स्वच्छता दिवस २०२६’को अवसर पारेर यहाँका सामाजिक संस्थाहरू मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) र जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरले संयुक्त आयोजनामा ‘महिनावारी स्वच्छता सम्बन्धी स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेका हुन्।

जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीस्थित नमुना माध्यमिक विद्यालय मुर्कुची र रौता सामुदायिक हित केन्द्र मुर्कुचीमा छुट्टा छुट्टै सचेतना कार्यक्रम सम्पन्न भए। नमुना मावि मुर्कुचीमा अध्ययनरत १ सय ११ किशोरीहरू समेतका सहभागितामा सम्पन्न कार्यक्रममा किशोरीहरूलाई जनही १ थान स्यानिटरी प्याडसमेत वितरण गरियो।

स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा, सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी, प्रशासक र सामाजिक कार्यकर्ताको समावेशी सहभागितामा सम्पन्न कार्यक्रममा जिड्सकी मनोसामाजिक परामर्शकर्ता जानुका कार्की, मुर्कुची स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी सुमित्रा विश्वकर्मा, महिला स्वयंसेविका गीता केसी, हुरेन्डेकका सहजकर्ता गजेन्द्र लायो र प्रतिमा खरेलले महिनावारीको महत्त्व, कारण र अर्थबारे प्रस्ट्याए।

उनीहरूले सृष्टिको निरन्तरका लागि महिनावारी अनिवार्य प्राकृतिक प्रक्रिया हो तर, पनि हाम्रो समाजले यसलाई फोहोर र असभ्य क्रियाकलापको रूपमा बुझ्दै र त्यसै अनुसारको व्यवहार गर्ने गरेकोमा असहमति जनाए। यसबारे समाजमा सचेतना जगाउँदै यो एउटा अनिवार्य आवश्यकताको प्राकृतिक विषय भएकाले सबैले सकारात्मक सोचिदिनुपर्ने उनीहरूको आग्रह थियो।

महिनावारीलाई लिएर कसैले हेला, होचो गर्न र नकारात्मक सोच्न तथा नराम्रो व्यवहार गर्न नहुने भन्दै यदि त्यसो भएमा कडा कारबाहीको कानुनी व्यवस्था हुनुपर्ने उनीहरूको सुझाव थियो।

अगुवा महिला राधा आले मगरले अब देखि महिनावारीका कारण कुनै पनि महिला वा किशोरीहरु परिवार र समाजबाट अपहेलित तथा घाइते र ज्यान गुमानेसम्मको अमानवीय र अप्रिय घटना भएको सुन्न र देख्न नपरोस् भन्ने कामना गरिन्। रौता सामुदायिक हित केन्द्रकी सल्लाहकारसमेत रहेकी मगरले यस्ता खाले सचेतनामूलक कार्यक्रम जिल्लामा मात्र नभएर देशभरका समुदाय स्तरसम्म पुगेर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

हुरेण्डेक र जिड्सलाई यस्ता कार्यक्रम सञ्चालन गर्न दातृ निकाय वल्र्डभिजन इन्टरनेसनल नेपालले सहयोग गर्दै आएको छ। जिड्सका अध्यक्ष पुष्पराज पोखरेलका अनुसार बर्सेनि महिनावारी दिवसको अवसर पारेर वल्र्डभिजनको सहयोगमा सञ्चालित जिल्लाका विभिन्न स्थानीय तहमा बर्सेनि महिनावारी सम्बन्धी सचेतना कार्यक्रम हुँदै आएको छ।

अर्को साझेदार हुरेण्डेकका अध्यक्ष शंकर थापाले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै लाने योजना रहेको बताउँदै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पनि यसमा साझेदारी गरे महिनावारीबारे समाजको धारणा परिवर्तन गर्न सहज हुने बताए।

प्रकाशित: १६ जेष्ठ २०८३ १७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App