२३ श्रावण २०७७ शुक्रबार
ब्लग

कहाँ रोकियो कमरेड अग्रगमनको यात्रा?

प्रिय कमरेड प्रभाकर !

करिब १५ वर्षअगाडि समय यस्तो थियो कि रुकुम र रोल्पा जिल्लाको नाम जसरी सबै सर्वहाराका लागि श्रद्धाको प्रतीक थियो त्यसरी नै भ्रष्ट र सामन्तका लागि खतराको सूचक। त्यो जिल्लाको नेतृत्वको रूपमा तपार्इँ पनि त्यत्तिकै प्रिय हुनुहुन्थ्यो। यी जिल्लाहरू त्यस्ता ऐतिहासिक जिल्ला हुन् जसले सर्वहारा वर्गको मुक्तिका लागि भनेर थालनी गरिएको दीर्घकालीन जनयुद्धमार्फत हजाराँै नेपाली होनहारले वीरता र शहादतको अनेकन कोटा चुक्ता गरे। कोटाहरू चुक्ता गर्नेको अग्रपंक्तिमा जाजरकोटका नवराज बि.क. जस्तै धेरै दलित नौजवानहरूपनि थिए। जुन समुदायलाई त्यतिबेलाका सुप्रिमो कमरेड प्रचण्ड (हालका पुष्पकमल दाहाल) ले ऐतिहासिक सर्वहारा समुदायको नामकरण गरिदिनुभयो।  

शहादतको कोटाका लागि कमान्ड गर्ने तपाईँफौजी कमान्डर कमरेड प्रभाकर (हालका जनार्दन शर्मा) ले कासन दिँदै भन्नुहुन्थ्यो–एकदिन यो नेपाली समाज, राज्य, राजनीति, अर्थव्यवस्था र संस्कृतिरूपान्तरण हुनेछ। सामन्ती व्यवस्थाको समुल नष्ट गरिनेछ। त्यो समाज कुनै विभेद, अन्याय, शोषण र अत्याचारबिनाको जनवाद वा समाजवादी हुनेछ। राज्यमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुनेछ। ऐतिहासिक सर्वहाराका लागि त झन इतिहासमा उसले भोगेको विभेद, अन्याय, शोषण र अत्याचारको क्षतिपूर्ति परिपूरण गर्न विशेषाधिकार लागु हुनेछ।

साम्यवादसहितको सपना बोकेर जनयुद्धको नेतृत्व गरेको रुकुम जिल्लाको यो घटनाले नेपालको अग्रगमनको पाइला कता जाँदैछ भनेर देखाइरहेको छ।

यसकै लागि बलिवेदीमा चढेका थिए ती नवराज जस्तै समाजको अग्रगमन र रूपान्तरण चाहनेहरू।युद्धको कठोर समयमा तपाईँ र तपार्इँको सुप्रिमोलाई आफूले नखाएर पनि, आफूले न ओढेर पनि, आफूले नसुतेर पनि सेल्टर (आश्रय) दिन सबैभन्दा पहिला तयार हुन्थे उनै ऐतिहासिक सर्वहारा। युद्धको अग्रपंक्तिमा रहीनेतृत्वलाई लाग्ने गोली र बारुद आफ्नो छातीमा थाप्ने  तीनै नवराज जस्तै जवान थिए।  

सामाजिक रूपान्तरणका लागि गरिएका सहभोज वा जनवादी विवाहमा कैयौँ सहभागी भए पनि। ऐतिहासिक सर्वहाराको मनमा त्यतिबेला बेग्लै हर्ष, आत्मसम्मान र बेग्लै निष्ठा थियो। नेतृत्वरक्षाको खातिर जीवन अर्पित गर्न पाउँदा ती सर्वहाराको मनमा बेग्लै गर्व महसुस हन्थो। तपाईँलाई घरमा स्वागत गर्न पाँउदा, युद्धमा लागि सन्तान रणभूमिमा गुमाउँदा ती आमा÷बुबाको आँखामा आँसु होइन केवल वर्षौँदेखि भोगेको जातीय, सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विभेद, अन्याय, उत्पीडन र शोषणबाट मुक्ति पाउने सपना छल्किन्थ्यो। त्यसैले त अगाध प्रेम र सम्मान थियो उनीहरूको तपाईँ र तपाईँको पार्टी र रुकुम जिल्लाप्रति।  

१५ वर्षपछिको आजको रुकुमजहाँ प्रेमी लिन गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाँउका नवराज र उनका १८ जना आफन्त तथा हितैषीहरूले कथित दलित जातको भएर कथित उपल्लो जातको केटीलाई प्रेम गरेर घर भित्राउन खोजेकै कारणले एउटा हिंसक बाघले निर्धो मृगलाई लखेटी लखेटी प्राण लिए जसरी त्यो पनि एक्लै होइन, सिंगो समाज मिलेर हत्या गर्ने काम भयो। त्यो पनि त्यही युद्धमा सहभागि भएका कथित उपल्लो जातका वडाध्यक्षको नेतृत्वमा। यसले नवराज बिक जस्ता लाखौँ ऐतिहासिक सर्वहाराको मनमा मात्र होइन, तमाम अग्रगमन, न्याय र समानताको पक्षधरहरूसमेतको मनमा युद्धको संगीनले भन्दा अझ गहिरो गरी घोचिरहेको छ। हुन त यो जातीय हत्या न पहिलो हो न यो अन्तिम नै हुनेछ। तथापि यो घटनाले हिजो तपाईँ र तपाईँको पार्टीले सञ्चालन गरेको समाज रूपान्तरण र अग्रगमनको यात्रालाई गिज्याइरहेको छ।  

स्तब्धलाग्दो यो भयो कि पीडित र साक्षीहरूले नवराज बिकसहित गएका सबैलाई लखेटी लखेटी ढुङ्गामुढा गरी भेरी नदीमा हालिएको हो भनी बताउँदा तपार्इँलेसंसद्मा ठीक विपरित लखेट्ने क्रममा युवाहरू भेरीमा पसेपछि बगेको भनेर जसरी तथ्य मोड्न कोसिस गर्नुभयो। यसले माओवादी युद्धमा लागेका तपाईँकै समकक्षीहरू भन्दा केही उँचो रहिरहेको तपार्इँको उचाइ थप होचो भयो। अरूकालागि नभए पनि कम्तीमा नवराज जस्तै ऐतिहासिक सर्वहाराहरूको नजरमा सन्देशमूलक भयो।  

संसद्मा आएको तपार्इँको जवाफले केवल तपाईँकोविचार, पक्षधरता र स्वरूपान्तरणको मात्र प्रतिविम्बन गरेको छैन। बल्कीनेपाली समाजको समग्र जातीय र वर्गीय मुक्ति आन्दोलन, यसको भविष्य र रोकिएको गति प्रतिविम्बन गरिरहेको छ। यति कहालीलाग्दो जातीय नरसंहारमा सर्वहारा कम्युनिस्टको राज्य स्थापनाका लागि भनेर लडेको तपाईँको पार्टी र सोही पार्टीले नेतृत्व गरेको वर्तमान सरकार प्रमुखको हालसम्मको मौनता आश्चर्यजनक छ।यतिमात्र होइन,साम्यवादसहितको सपना बोकेर जनयुद्धको नेतृत्व गरेको रुकुम जिल्लाको यो घटनाले नेपालको अग्रगमनको पाइला कता जाँदैछ भनेर देखाइरहेको छ।  

प्रिय कमरेड, कम्युनिस्टहरू सधैँ भन्छन्– विचार सही वा गलत हुनुले सबै कुरा निर्धारण गर्छ। २०५२ सालदेखि सुरु भएको जनयुद्ध विभिन्न आरोह÷अवरोह पार गर्दै वार्ता र संवादसहित २०६३ को जनआन्दोलन रसंविधान सभाको चुनावमार्फतमाओवादी शान्ति प्रक्रियामा आयो। देशको वस्तुगत आवश्यकता र नेपालको भूराजनीतिक अवस्था अनि नेतृत्वको आत्मगत अवस्थाले समेत यो कुरा ठीक थियो। यसको प्रमाण धेरै खोज्नुपर्दैन, संविधान सभाको पहिलो निर्वाचनमा देशभित्र, देशबाहिर चारैतर्फका विरोधीहरूको घेराबन्दीबीच माओवादीले हासिल गरेको लोभलाग्दो सफलताले प्रस्ट्याउँछ।  

चुनावमा कैयाँै राजनीतिक हस्तीहरू हिजो अछूत भनिएकाहरूबाटै पराजित भए। पहिलो संविधान सभामा सबै दलहरूमा दलित आन्दोलन र यसको उपलब्धि उत्कर्षमा थियो। संविधानमा राखिएका जातीय विभेद दण्डनीय हुने, मौलिक हकअन्तर्गत दलित हक, समानुपातिक समावेशी हक र विषेश अधिकारका आवाज बलिया भए। जब सो सभाबाट दलितलगायत सबै उत्पीडित वर्ग, क्षेत्र जाति र लिङ्गको अधिकार सुनिश्चित गर्न सकिने अवस्था थियो तब संविधान सभा विघटन गरियो।  

मनमा संशय उठेको छ कमरेड। त्यत्रो युद्धको कुशलपूर्वक व्यवस्थापन गरेको नेतृत्वले त्यतिबेलाको संविधान घोषणाको नेतृत्व किन गर्न सकेन ? दोस्रो संविधान सभामा जसरी सत्तामा नभएर पनि रणनीतिक भूमिका किन निर्वाह गर्न सकेन ? के साँच्चिकै त्यो युद्ध सर्वहाराका लागि थियो वा सत्ता (जातीय व्यवस्थामा आधारित) का लागि। दोस्रो संविधान सभासम्म आइपुग्दा कसरी उत्पीडितहरूको आवाज सबै दलभित्र कैद भयो। दलभित्रै कसरी वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनकोे सवाललाई जोडदार उठाउनेलाई तेजोवध गरियो। यसको परिणाम न संविधानमा ऐतिहासिक सर्वहाराले भनेजस्तो समानुपातिक, समावेशी अधिकार पाए न त ऐतिहासिक परिपूरणसहितको विषेश अधिकार। मौलिक हकअन्तर्गत दलितका लागि जति पनि अधिकार लेखियो कानुनबमोजिम हुनेछ भनेर लेखेपछि सबै कोमामा छन्। उदाहरणका लागि हालसम्म संवैधानिक दलित आयोग कोमामा रहेको हेर्दा हुन्छ। यी व्यवहारले के प्रस्ट हँुदैछ भने यो सबै जातीय व्यवस्थामा आधारितसत्ता टिकाउन ‘काले÷काले मिलेर खाउँ भाले’ भन्ने सिद्धान्तअन्तर्गत गरिएको मिलिभगत थियो।  

जब मूल कानुन नै कोमामा छ त्यसको प्रभाव त समाज, राजनीति, अर्थव्यवस्था र संस्कृतिमा परिहाल्छ नै। धेरै पर जानैपर्दैन,हाल संघीय सरकारर प्रदेश सरकारको मन्त्रिमण्डल अनि विभिन्न नियुक्तिमा भएको असमावेशिता हेरे पुग्छ। यी सबैले समावेशी लोकतन्त्र र सामाजिक न्यायप्रति राज्यको अनुदार चरित्र झल्काइरहेको छ। कानुनी निकम्मापनको अर्को उदाहरण विगत एक दशकमा जातीय छुवाछूतका कारणले भएका दलितहरूको डेढ दर्जन हत्यामा पीडितले हालसम्म उचित न्याय नपाएको, वर्षौँदेखि शव अस्पतालमा रहिरहेको हेर्दा पुग्छ।  छुवाछूतको सिकार भएकाहरूले अपवादबाहेक जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ बमोजिम कतिले न्याय पाए ? कतिले परिपूरण पाए ? राज्य कता जाँदैछ बोलिरहेको छ।यो राज्य कसका लागि र हिजोको आन्दोलन र युद्ध कसका लागि भन्ने अहम् प्रश्न मनमा तेर्सिएको छ कमरेड। यसैका लागि हो कमरेड हजारौँदलितले जनयुद्ध र जनआन्दोलनमा बलिदान दिएको ?

नयाँ संविधानअनुरूपको संघीय प्रदेश सरकारको चुनावमा कम्युनिस्टको दुईतिहाइ स्थिर सरकार बनाउने, समृद्ध नेपाल बनाउने र संविधानअनुरूपको समाजवादउन्मुख देश बनाउने भनी नेकपा एक हुने सहमति भयो। त्यसलाई दलित समुदायले समेत स्वागत गरे।साँच्चिकै कम्युनिस्टहरू मिले भने त सर्वहारा वर्गको मुक्तिका लागि काम होला भनी अमूल्य भोट दिए। करिब दुईतिहाइ मतको नेकपाको सरकार भयो पनि। तर सरकारको नीति, कार्यक्रम र व्यवहार सर्वहारामुखी भएनकमरेड। हिजोको वाचा र आजको व्यवहार फरक प¥यो कमरेड।सहभोजहरूगरेका हिजोका गाउँहरूमा फेरि छुवाछूत चल्यो। जात फरक परेका अधिकांश जनवादी विवाह धमाधम बदर भए कमरेड। तपाईँहरूले बाँडेका सांस्कृतिकरूपान्तररणमा तीव्र गतिमा सेटब्याक (पश्चगमन) भयो कमरेड जसरी उकालो चढ्दा धेरै समय लाग्छ ओरालो झर्न रत्तिसमय लाग्दैन त्यसरी नै।  

यो दुई दशकमा बदलाव सर्वहारामा होइन तपार्इँहरूमा आयो कमरेड। हिजो सेल्टर दिँदा, आफ्ना लागि सुरक्षा चाहिँदा नवराज जस्तै दलित जवानहरू र उनका बाबुआमा भरपर्दा लाग्थ्यो तर अब वर्तमान जातिगत व्यवस्थामा आधारित मिलिभगत सत्तासँग घुलमिल भएपछि सँगै बसेर रोक्न नसक्ने पुलिस प्रशासनको सूचना, चुनावमा पैसा खन्याउन सक्ने दलाल, कमिसनखोर र आपराधिक पृष्ठभूमिको जोकोही धनवान भरपर्दो लाग्न थाल्यो कमरेड। फरक नवराजको प्रेम र उनलाई साथ दिन तम्सेका युवाहरूमा होइन कमरेड,फरक तपाईँहरूको विचारमा, नीतिमा, व्यवहारमा भयो। सोती र यसअगाडिका छुवाछूतका कारण भएका हत्याका घटना त केबल त्यसका उपजमात्र हुन्।  

यो घटनाले जाजरकोटका नवराजहरूका आफन्त मात्र होइन, देशका सबै सर्वहारा, न्यायप्रेमी र मानवताका पक्षधरहरूमा शोक छाएको छ। फेरि पनि समाजको अग्रगमन र रूपान्तरणका लागि समय सकिएको छैन। तपाईँ रुकुम जिल्लाको प्रतिनिधिमात्र होइन, नागरिकले आशा गरेको अनि वर्तमान नेकपाको रणनीतिमा प्रभाव पार्न सक्ने र सुविधाको पदमा रहँदा हालसम्म त्यति धेरै विवादमा नपरेको नेतृत्व हो। त्यसैले तत्कालका लागि सो घटनाका दोषीहरूलाई अविलम्ब कानुनी कार्बाहीको दायरामा ल्याउन पहल गर्नु तपाईँको पहिलो दायित्व हो। अर्को महत्वपूर्ण सवाल यदि तपाईँ र तपाईँको पार्टीले लेखेको शोषण र विभेदमुक्त समाज बनाउने हो भनेनेपालमा सबैखालका शोषण र उत्पीडनविरुद्ध पछिल्लो एक दशकमा रोकिएको अग्रगमनको यात्राको पहलकर्ता बन्नु पनि उत्तिकै महत्वपूर्ण कर्तव्य हो।  

यसका लागि नेतृत्वको सोच, पार्टीको नीति, कार्यक्रम, सरकारको नीति र काम कार्बाही बदलौँ। समाज रूपान्तरणका लागि नेकपा पार्टीको प्रभावकारी परिचालन गरौँ। जसले रुकुमजिल्ला र तपाईँको नेतृत्वको उचाइ अझ बढाउनेछ। यसका लागि हिजो जस्तै तपाईँको कासन स्वीकार्न लाखौँ नवराज तयार रहने छन्।  

(वीरेन्द्रनगर, सुर्खेत)

 

प्रकाशित: २१ जेष्ठ २०७७ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App