३ आश्विन २०७७ शनिबार
ब्लग

कोरोना नियन्त्रण नीति : हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै भएको छ

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९)का कारण आज विश्व आक्रान्त छ । विश्वको अर्थतन्त्र धरापमा परेको छ । रेमिट्यान्स र पर्यटनमा निर्भर नेपालको अर्थतन्त्रको दियो निभ्न थालिसकेको छ । विश्वका सानादेखि ठुला देशहरु कसरी आफ्ना नागरिक जोगाउने भन्ने गम्भीर चिन्तामा छन् । 

महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट विश्वभर तीन लाख विस हजार नागरिकले ज्यान गुमाइसकेका छन् । करीब पचास लाख संक्रमित छन् । मानिसको ज्यानै लिने गरी आक्रमण गर्ने कोरानाको औषधि पत्ता लगाउन विश्व अझै सफल हुन सकेको छैन् ।तर प्रयास भने जारी राखिएको छ । यसरी मानव इतिहास नै तहसनहस पार्ने गरी उत्पन्न कोरोना भाइरसलाई सरकार र जनताले ठट्टा ठानेका छन् ।

सरकारको सोच

सरकारले कोरोना भाइरसलाई हात्ती जस्तै ठानेको छ । जसरी हात्तीलाई तवेलामा सानो साङ्लोमा बाँधेर नियन्त्रण गर्न सकिन्छ । त्यसैगरी कोरोनालाई पनि फलामे साङ्लोले बाँधेर नियन्त्रण गर्ने सक्ने कुचेष्टा भइरहेको छ । यही गम्भीर भुलले देशमा दिन प्रतिदिन कोराना संक्रमित बढिरहेका छन् । हालसम्म देशका ४ सय दुई जना (आर्टिकल तयार पारुञ्जेल)लाई कोरोना पुष्टि भइसकेको छ । कोरोनाकै संक्रमणबाट दुई जनाले ज्यान गुमाइसके । कोरोना आँखाले देख्न नसकिने खतरनाक जीवाणु हो, जसले एकै पटक हजारौं नागरिकको ज्यान लिन सक्छ भन्ने कुरा बुझ्न नसकेर सरकारको सोचमा अझै बिर्को लागेको प्रस्ट छ । सरकार आफैले लकडाउन घोषणा गरेको छ  ।

म्याद थप्दै लकडाउन लम्ब्याउँदै गरिएको छ । लकडाउनको अर्थ जो जहाँ छन् त्यहीं सुरक्षितसँग बस्ने र घरबाहिर ननिस्कने भन्ने हुन्छ । तर, सरकारको कोरोना नियन्त्रण नीति भने हिँड्दै छ पाइला मेट्दैछ भने जस्तै गर्न उद्धत देखिन्छ । जसको ज्वलन्त उदाहारणको रुपमा कोरोना नियन्त्रण गर्न अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा करोडौं घोटाला, सरकारले भर्खरै सम्मन्न गरेको नयाँ आवको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण बजेटलाई बेवास्ता गरिनु पनि हो । 

देशभर लकडाउन घोषणा गर्नु, एसइई रोक्नु, विद्यालय क्याम्पस बन्द गरेर मात्र कोरोनाको संक्रमण रोक्न सकिंदैन् । कोरोना नियन्त्रणका लागि सरकार योजनाबद्ध र गम्भीर भएर जुट्न जरुरी देखिन्छ । स्थानीय प्रशासन नागरिकलाई कोरोनाको जोखिमबाट जोगाउन जिल्ला शिल गर्ने, कर्फयु लगाउने लगायतका निर्णय गर्छ, अर्कोतिर आफ्नै संयन्त्रले गरेको निर्णयलाई पाखा लगाउँदै प्रदेश र संघीय सरकार निर्धक्क अनुमति दिएर नागरिकहरु जिल्ला पठाउन प्रतिस्पर्धा गर्छन् । नागरिक पठाउन पनि सांसद र मन्त्रीका निजी स्वार्थ जोडिएका छन् । चुनावमा पाउने भोटका आसमा आफैले रोपेको बीउ आफै‌ उधिन्न थालेका छन् । 

यिनै निजी स्वार्थका कारण आफ्नै जिल्लाका नागरिक पठाउन पनि पार्टी, बेपार्टी, आफ्ना र पराई भनेर विभेद भइरहेको छ । के सांसद र मन्त्रीका मान्छेलाई कोरोना नलाग्ने हो र, उनीहरुलाई लागेको कोरोना अरुलाई नसर्ने हो र ? होइन भने आफैले गरिएको निर्णय उल्लंघन गरेर रातारात किन नागरिकहरु गाउँ पठाइन्छ त जनजनको प्रश्न सांसद र मन्त्रीलाई ? यी सबै कुरालाई सतही रुपमै नियाल्ने हो भने राज्यको कानुनभन्दा पनि माथि सांसद र मन्त्री भएको कुरा सहजै प्रष्ट हुन्छ ।

 प्राकृतिक प्रकोप र महामारीले पद एवं प्रतिष्ठा चिन्दैन ढुक्क हुनुस सांसद र मन्त्रीज्यु । यसरी राज्य संयन्त्रको बाझिँदो नीतिले कोराना भाइरसलाई कसरी नियन्त्रण गर्न सक्ला र । सरकारको कटाक्ष शैलीले नियन्त्रण होइन जोखिम बढाइरहेको छ । नागरिक ल्याउने सवालमा गाउँगाउँका सिंहदरबार (स्थानीय सरकार) लाई पनि उर्लदो करुणा भाव पैदा भएकै हो । 

जुन भावका कारण सुरक्षित गाउँमा बसेकालाई पनि जोखिम बढेको छ भने उनीहरु पुग्ने गाउँ घरमा समेत थप जोखिम निम्तिएको छ । करोडौं रकम चलाउने अख्तियारी पाएका स्थानीय तहले बुद्धिमता नपुर्याएर अलपत्र नागरिक उद्धार गर्ने नाममा लाखौं खर्च गरेर नागरिक भित्रयाउँदा शहरको जोखिम गाउँमा पुगेको बुद्धिजीवीहरुको बुझाइ छ । तीनै तहको सरकारसँग थोरै भए पनि बुद्धिविवेक भएको भए लकडाउन घोषणा गरे यता मात्रै लाखौं नागरिकहरु उद्धार गरेर गाउँगाउँमा किन पु¥याइन्थ्यो होला । सबैभन्दा धेरै दुर्गम र विकटका स्थानीय तहले नागरिक उद्धार गरे । उद्धार गरिनेमा सबैभन्दा धेरै शहर पढन गएका विद्यार्थीहरु छन् । 

उनीहरुलाई जहाँ छन् त्यहीं व्यवस्थापन गर्नुपर्ने कतिपयको धारणा थियो । जसबाट गाउँघरको जोखिम कम हुने बताइन्छ । उद्धारको क्रम जारी छ । स्थानीय तहले गतिला क्वारेन्टिन र आइसोलसन बनाएका छैनन् । नाम मात्रका स्वास्थ्य उपचार संरचनाले थप जोखिम बढाएका छन् । यदि कोरोना जोखिम कम गर्ने हो भने प्रभावकारी व्यवस्थापन गर्न जरुरी देखिन्छ । दुर्गमतिरका स्थानीय तहमा त स्वास्थ्यकर्मीहरु पिपिईबिना नै सामान्य थर्मोमटर एकपछि अर्को घुसाएर कोरोना जाँच गर्न बाध्य छन् । स्वास्थ्यकर्मीसँग न पर्याप्त इन्फायर थर्मोमिटर छ, न त पिपिई सेट र औषधि नै ।  

दुर्गमका स्वास्थ्य संस्थामा सामान्य कोरोना लक्षण जाँच गर्ने तयारी समेत गरिएको छैन । पर्याप्त दु्रत परीक्षण किट नहुँदा क्वारेन्टिनमा बसेका नागरिकहरु पनि जाँचबिना नै घर फर्केको पाइन्छ । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई सामान्य हेरफेर गरेर पठाउँदा एकातिर स्वास्थ्यकर्मीहरु नै जोखिममा छन भने अर्कोतिर कोरोना जोखिम पहिल्याउन सकिएको छैन् । जसले गर्दा बाहिर नदेखिए पनि गाउँघरमा संक्रमण फैलिन सक्ने खतरा बढदो क्रममा छ ।

बिनातयारी असुरक्षित भएर काममा होमिंदा कसरी स्वास्थ्यकर्मीले भरपर्दो सुविधा प्रदान गर्लान् । पर्याप्त औषधि उपकरण दिएर मात्र काममा खटाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । स्थानीय सरकार औपचारिकता जनाउन मात्रै ठिक्क छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतबाट समेत नागरिक ल्याउने क्रम चलिरहेको छ । उक्त कार्यले संक्रमण दिन रात फैलिंदै गएको छ । तीनै तहको सरकारको ढुलमुले कोरोना नियन्त्रण नीतिका कारण आज देशैभर कोरोनाको जोखिम र सन्त्रास बढेको छ । यसलाई नियन्त्रण गर्न सरकार तीन वटै सरकार थप गम्भीर बन्नुपर्ने देखिन्छ ।

जनताको सोच  

सञ्चार माध्यमहरुबाट विभिन्न देशमा कोरोनाले मृत्यु भएका खबरहरु सुनिन्छन् । केही दिनअघि मात्रै नेपालमा कोरोना भाइरसकै कारण दुई जनाको मृत्यु भएको खबर पनि सुनेका छौ । तर, यस्तो क्रुर कोरोनालाई ख्यालठट्टामै लिएका छौं । कोरोनालाई नजिकबाट चिन्न सकेका छैनौं । 

जसको शिकार हामी, हाम्रो परिवार र गाउँ समाज भइरहेको छ । कोरोनाले विश्व रोइरहँदा समेत हामी अझै ठट्टाको रुपमा लिइरहेका छौ । कोरोनाले नेपालमा मान्छे धेरै नमर्लान ? नेपालमा त वृद्ध नागरिक पनि सञ्चो भएर घर फर्कछन् भने हामीलाई के होला र । लकडाउन शहरीया मान्छेलाई मात्र हो, हामीले किन डर मान्नु जस्ता अड्कलबाजी गरेर छाडा भइरहेका छौं । कोरोनालाई झाडापखाला लगाउने ब्याक्टेरियासँग तुलना गर्दै बसेका छौं । देशका कुनाकन्दरामा सहजै उपलब्ध हुने सिटामोलझैं कोरोनाको औषधि पाइन्छ जस्तै ठानेको छौं । त्यसैले पनि आफ्नो मृत्युको खाडल आफैले खनिरहेका छौ ।तर,हामीलाई पत्तो भने छैन् ।

कोरोना महामारीका बेला हाम्रो जन्मभुमिप्रतिको स्नेह बढदै छ । कुनै बेला त्यहीं गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रंगीन शहरीया जीवन बिताउने सोचमा हानिएका हामीलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ पस्न मन लाग्दैछ । कुनै बेला एक टुक्रा जमिन समेत नजोगाएर बिक्री गरेर हिँडेका हामीलाई महामारीका बेला त्यहीं गाउँ अति प्यारो किन ? हामी जहाँ छौं, त्यहीं सुरक्षित बस्न सक्दैनौ र । 

महामारीले गरीब, धनी, दुखी, सुखी, डुलुवा, बटुवा, मन्त्री, प्रधानमन्त्री, निर्धो, बलियो चिन्नेवाला छैन् । गाउँ फर्कनकै लागि आफु निकट एवं भोट दान गरेका नेतासँग हारगुहार गर्दैर्छौं, उद्धारको सवालमा सरकारलाई सामाजिक सञ्जालबाट अमानवीय दबाब दिइरहेका छौ । हामीलाई किन सोच आउँदैन् होला कि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने महामारी हो भनेर । बरु उद्धारको हारगुहार गर्ने हाम्रो पुकारलाई अलि वैज्ञानिक बनाऊ न । हामी जहाँ छौं त्यहीं बस्छौ भनौं  न । 

शहरको जोखिम गाउँमा पु¥याउन चाहान्नौ किन भन्न सक्दैनौं । जहाँ बसेका छौं त्यही बसेर आइपर्ने समस्या सुल्झाउन लगाऊँ न । कोरोनालाई नाथे सम्झने नागरिक स्तरको सोच कहिले सकारात्मक होला । लकडाउनको पुर्ण पालना गरौं, उच्च सतर्कता अपनाउ ।  गलत सुचनाबाट जोगिऔं, अत्यावश्यक कामबिना घर बाहिर निस्कने नगरौं अनि मात्र कोरोनाको महामारीबाट आफु पनि जोगिउँला अरु पनि जोगिएलान । होइन भने कोरोनाको कहरले विश्व रोइरहेका बेला सरकार र जनता ठट्टे बने हाम्रै अस्तित्व धरापमा पर्ने निश्चित प्रायः छ ।             

प्रकाशित: ७ जेष्ठ २०७७ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App