बेलायतमा चार बर्षको बीचमा तेस्रो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले अत्यधिक बहुमत सहित यूरोपसंग पारपाचुके गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको अभियानमा पूर्ण समर्थन पाएको छ। जम्माजम्मी ६५० सिट मध्ये कञ्जरभेटिभ पार्टीको पोल्टामा ३६४ र निकटतम प्रतिद्वन्दी लेबर पार्टीको भागमा २०३ सिट परेका छन्।
तत्कालीन प्रधानमन्त्री डेविड क्यामरूनको नेतृत्वको कन्जरभेटिभ पार्टीले सन् २०१५ मा बहुमतकोलागि आवस्यक हुने ३२६ सिट मध्ये ३३१ सिट जितेको थियो। उनी हस्किएर निर्वाचन घोषणापत्रको बाचा पुरा गर्न यूरोपियन यूनियनसंग संगै बस्ने कि छाड्ने भन्ने जनमतसंग्रहको घोषणा गरे अनुरूप सन् २०१६ मा भएको जनमत संग्रहमा ५१.९ प्रतिशत बेलायतीले यूरोप छाड्ने मत जाहेर गरेदेखि उब्जिएको अनिश्चितता यो निर्वाचनले समाप्त गरेको मानिँदैछ।
जनमतसंग्रहको परिणाम सोँच विरित भएका कारण राजिनामा दिएका क्यामरूनको पद ग्रहण गरेकी पूर्व प्रम टेरेसा मेले हुँदाहुँदाको कञ्जरभेटिभ पार्टीको बहुमत सन् २०१७ को अनावस्यक निर्वाचन घोषणाबाट गुमाउन पुगेर उत्तरी आयरल्याण्डको यूनियनीस्ट डेमोक्र्याटिक पार्टी (यूडिपी) को समर्थनमा सरकारको नेतृत्व गर्दै ब्रेग्जिट सम्झौता पास गर्न असफल भएकी थिइन। मे को असफलतालाई बोरिस जोनसोनले नेतृत्व गर्दै ब्रेग्जिटकै लागि आवस्यक भनेर गरिएको निर्वाचन घोषणामा विपक्षी दलका नेता जेरमी कोर्विनले आफ्नो निर्वाचन क्षेत्रमा त जित हासिल गरेका छन्। तर लेबर पार्टीले ठूलो क्षति बेहोरेको छ। परिणाम स्वरूप कोर्विनले पार्टी नेतृत्व छाड्ने घोषणा गरिसकेका छन्।
यो निर्वाचनको अल्पकालीन परिणाम अन्तर्गत यूरोप छाड्ने डिल (सम्झौता) अगाडि बढ्ने छ। सत्ता साझेदार उत्तरि आयरल्याण्डको यूनियनिस्ट पार्टीको विरोधले गर्दा यूरोपियन यूनियनसंगको सम्झौता पार लाग्न नसकेर विलखबन्धनमा परेका जोनसोनले अन्तिम अस्त्रका रूपमा घोषणा गरेको निर्वाचनले उनलाई अल्पकालीन रूपमा पुरै सफल हुने अवसर प्रदान गरेको छ।
बेलायतमा उधोगहरु रहेका एवं श्रमिकहरू धेरै बस्ने क्षेत्रमा लेबर पार्टीको परम्परागत बर्चस्व रहँदै आएकोमा यस निर्वाचनमा कञ्जरभेटिभ पार्टीले लेबर पार्टीका मजबुत किल्लासमेत भत्काउन सफल भएको छ। मार्गरेट थ्याचरको फलामे स्वभाव 'आइरन लेडी' बाट विकास भएको नीति मानिने कञ्जरभेटिभ पार्टीको बर्चस्व ढालेर सन् १९९७ मा उर्जाशील मानिएका टोनि ब्लेयरले उदारवादी पुँजीवादलाई अघि बढाउँदै एक दशकसम्म प्रधानमन्त्री बन्न सफल रहे। उनको यूगलाई बेलायती राजनीतिमा मात्र नभएर ओरालो लाग्दै गरेको पुँजीवादी अर्थ ब्यवस्थालाई उदारवादी नीतिबाट जोगाउने श्रेय दिने गरिन्छ। उनको नीतिबाट एकातिर बामपन्थी नीतिमा ह्रास अएकोमा सम्भ्रान्तहरूले राहत महसुस गरिरहेका थिए भने लेबर पार्टीका अनुयायीहरूले आफ्नो पार्टीको सरकार पाएकोमा रनभुल्ल परिरहेका थिए। अन्ततोगत्वा अमेरिकी राष्ट्रपतिको पछि लागेर इराकमाथि आक्रमण गरेको उनको कदमले उनलाई बदनाम बनायो र उनको यूग समाप्त भएपछि लेबर पार्टी दह्रो नेतृत्व स्थापना गर्न लामो समयसम्म असमर्थ भयो। ब्लेयरको उदारनीतिबाट समाजवादी अवधारणाबाट टाढा पुगेको पार्टी भित्र कट्टर बाम नीतिका अनुयायी संसदभित्र सवैभन्दा पछाडिको बेञ्चमा बस्दै सिध्दान्त जोगाउँन कटिबध्द जेरेमी कोरबिनले पार्टीको लगाम समाएको कम्युनिस्ट विरोधी समुदायलाई पचेको थिएन। टोनी ब्लेयरलाई प्रयोग गरेर बामपन्थीहरूलाई उदारवादी पुँजीवादमा झार्न सफल भएका सम्भ्रान्तहरू कोर्विन पन्थको उदयबाट चिन्तित भएका थिए। यो निर्वाचनले ती सम्भ्रान्तहरूलाई सवै भन्दा ठूलो राहत मिलेको छ। श्रमजिविहरू ब्रेग्जिटको ज्वरोबाट छट्पटाउँदा छट्पटाउँदै नजानिकनै समाजबादबाट झन टाढा हुँदै गएका छन्। कोर्विन पन्थ परास्त भएको छ। लेबर पार्टीको नेतृत्व फेरि टोनी ब्लेयरको नीति अवलम्बन गर्ने जमातको हातमा पुग्ने सहजै अनुमान गर्न सकिन्छ।
यो निर्वाचनको अल्पकालीन परिणाम अन्तर्गत यूरोप छाड्ने डिल (सम्झौता) अगाडि बढ्ने छ। सत्ता साझेदार उत्तरि आयरल्याण्डको यूनियनिस्ट पार्टीको विरोधले गर्दा यूरोपियन यूनियनसंगको सम्झौता पार लाग्न नसकेर विलखबन्धनमा परेका जोनसोनले अन्तिम अस्त्रका रूपमा घोषणा गरेको निर्वाचनले उनलाई अल्पकालीन रूपमा पुरै सफल हुने अवसर प्रदान गरेको छ। निर्वाचन परिणाम सङ्गै बजारले सकारात्मक संकेत गर्दै पाउण्ड (मुद्रा) को भाउ बढेको छ। शेयर बजार पनि ह्वात्तै बढेको छ। यो मुद्रा र बजारको बढोत्तरी हुनुको कारण अनिस्चितताको अन्त्य र दह्रो सरकार बन्ने निर्बाचन परिणाम हो। लगानीकर्ताहरू उत्साहित भएका छन्।
यो बेलायती निर्वाचनको प्रभाव विश्व बाजार र राजनीतिमा पनि पर्छ। संसारको छैठौ ठूलो अर्थतन्त्र हुनका साथै उपनिवेश यूगको प्रभावलार्इ बोरिस नेतृत्वको बलियो सरकारले अवसरका रूपमा उपयोग गर्ने नै छ। यसको प्रभाव विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन रूपमा पर्ने छ।
यो निर्वाचन परिणामले घरायसी राजनीति र एकतामा भने दीर्घकालीन रूपमा सकारात्मक सन्देश दिन सकेको छैन। उत्तरी आयरल्याण्डको शसस्त्र विद्रोह सन् १९९८ मा गुड फ्राइडे एग्रिमेन्ट पछि सान्त भएको छ। विद्रोहीहरू पनि सत्ता साझेदारी गर्दै शान्ति अगाडि बढेकै अवस्थामा ब्रेग्जिट सम्झौतामा त्यही गुड फ्राइडे एग्रिमेन्टले टेरेसा मे र बोरिस जोनसोन दुवै प्रधानमन्त्रीहरूलाई ब्यवधान खडा गर्यो। परिणाम स्वरूप यूरोपियन यूनियनसंगको सम्झौता संसदबाट पास हुन सकेन।
निर्वाचन परिणामबाट बलियो बनेको कञ्जरभेटिभ सरकारलाई ब्रेग्जिट पार लगाउन सहज बनेसंगै दीर्घकालीन परिणाम स्वरूप वेस्ट मिनिस्टरसंग अलग हुन स्कटल्याण्ड र उत्तर–आयरल्याण्ड अब झन उग्र हुनेछन्। आयरिस गणतन्त्र र उत्तरी आयरल्याण्डको जोडिएको सिमाना वेस्टमिनिस्टरसंगको ब्रेग्जिट सम्झौताका लागि मुख्य अन्तरविरोध देखिएको छ। यसले करिब सुल्झिसकेको समस्या बल्झाउने निस्चित जस्तै भएको छ।
उता सन् २०१४ मा स्कटल्याण्ड छुट्टिने सम्बन्धको जनमतसंग्रहबाट नछुट्टिने भनेको परिणामले सान्त पारेको विवाद ब्रेग्जिटले पुनः बल्झाएको छ। यस निर्वाचनमा स्कटल्याण्ड संयुक्त अधिराज्यबाट छुट्टिने नीति अन्तर्गतको राजनीति गर्दै आएको स्कटीस पार्टीले झन धेरै सिट हात पारेको छ। स्थानीय संसदमा उक्त पार्टीको एकलौटी बर्चस्व त बनाएकै छ त्यस माथि वेस्ट मिनिस्टर संसदमा पहिलेको संख्यामा अझै १३ सीट थपेर कुल संख्या ४८ पुर्याएको छ। स्कटिस पार्टी झनै मजबुत भएको र ब्रेग्जिट जनमतसंग्रहमा स्कटल्याण्डमा यूरोपियन यूनियन नछाड्ने मत बढि भएको तर्कका आधारमा पुनः छुट्टिने जनमतसंग्रह माग गरिरहेको आवाज अब झन् चर्किने छ र त्यसले वेस्टमिनिस्टर र स्कटल्याण्डको स्थानीय संसदबीच अन्तरविरोध बढाउने निस्चित नै देखिन्छ।
उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड संगको वेस्ट मिनिस्टर सरकारको अन्तरविरोध बढ्दै जानुको परिणाम स्वरूप बेलायत झन सागुँरिने सम्भावना अत्यधिक देखिन्छ। उपनिवेशहरू स्वतन्त्र हुँदै सांघुरिँदै जाने क्रम अझै नरोकिने हो कि भन्ने आशंका गर्ने ठाउँ प्रसस्त देखिन्छन्।
बेलायतका चिन्तक तथा विश्लेषकहरू थ्याचर नीति अन्तर्गत मजदुर संगठन (यूनियन)को शक्ति क्षीण पार्न काञ्जरभेटिभ पार्टी सफल हुँदै गएको बताउँछन्। मजदुर संगठनको नेतृत्वदायी भूमिका गरे बापत विभेद गर्न नपाइने कानून परिवर्तन भैसकेको छ। रोजगारदाताले यूनियन नेतालाई कारवाही गर्दा विभेद नहुने गरी कानून संशोधन गर्नु मार्गरेट थ्याचरको सवै भन्दा बढि सफलता मानिन्छ। त्यस नीतिबाट सम्भ्रान्तहरू प्रसन्न भएका छन् भने श्रमिकजगत झन् पछि झन् शोषीत हुने बातावरणा बनेको छ। यावत नीतिका कारण बेलायतमा कञ्जरभेटिभ पार्टी सम्भ्रान्त पोषक र लेबर पार्टी श्रमिक पक्षधरका रूपमा परिचित छन्।
बेलायतको श्रमिकका लागि अनुदारबादी बलियो सरकार विश्व राजनीतिमा दख्खल दिन अल्पकालीन रूपमा फलदायी हुने हुनाले बोरिस नेतृत्वको बर्चश्व बढ्ने छ। श्रमिक पक्षीय उदार नीतिहरू विश्व बजारमा नै निस्तेज हुँदै जाने हुनाले धनी र गरीब बीचको दुरी झन् बढ्ने छ। परिणाम स्वरूप दीर्घकालीन रूपमा श्रमजिवी र ग्लोबल वार्मिङ पक्षधरहरूको एकता बढ्दै गएर विद्रोह जन्मने सम्भावना अत्यधिक छ।
प्रकाशित: २७ मंसिर २०७६ १२:२८ शुक्रबार