उहाँ कमरेड बोल्नु होला । अध्यक्षको रूलिङ्गपछि उहाँ अर्थात उज्यालो कमरेडको पालो आयो । अलिअलि कुम हल्लाउनु भो । उज्यालो कमरेडको दश वर्षे जनयुद्धमा सामेल नभएकाले सबैले टुलुटुलु मुखमा हेरे । उज्यालो कमरेडमा यस्तो रगत उम्लेर आयो । बाहिर सुरक्षाका लागि बसेको जनमुक्ति सेनाले पनि यसो ढोका खोलेर पुलुक्क हेरे ।
सर्वप्रथम त यो महान जनयुद्धमा साहदात प्राप्त गर्ने महान जनताका छोराछोरीलाई हृदयदेखि नै क्रान्तिकारी लालसलाम । दश वर्षे महान जनयुद्धको आँधीवेहरी सृजनाबाट १९ दिने जनआन्दोलनपछि स्थापित यो गणतन्त्रका पहिलो प्रधानमन्त्री श्रद्धेय ...पथका महानायक लगायत अन्य पीवी (पोलिटव्युरो) सदस्यहरूमा संग्रामी अभिवादन । धेरै कुरा श्रद्धेय अध्यक्ष कमरेडको यो अत्यन्तै महत्वपूर्ण दस्तावेज, उहाँका क्रान्तिकारी महावाणीबाट हामीलाई प्रस्टै भएको कुरा हो, अहिले मुलुक अत्यन्तै तरल अवस्थाबाट गुजि्ररहेको छ ।
यतिबेला मुख्य भनेको नागरिक सर्वोच्चता । त्यसबारेमा श्रद्धेय अध्यक्षले भनिसक्नु भएको छ । म धेरै भन्न चाहन्नँ । तर, पनि युद्धका कालमा जसरी हामीले एउटा रणनीतिक प्रत्याक्रमण गरेका थियौं । त्यही ढाँचाले अहिले एउटा महान आन्दोलनको तयारीका साथ हामी एक ढिक्का भएर अघि बढ्नुपर्छ । आवश्यक पर्यो भने कमरेड माओवादीले भने झैं 'विद्रोह जनताको अधिकार' भन्ने भनाईलाई छोड्नु हुन्न । सारमा श्रद्धेय अध्यक्षको प्रतिवदेनको मूल स्पिरिट पनि यही हो । यसलाई क्रियान्वयन गर्न अर्को बलिदानका लागि तपाईंहरु तयार हुनुहोला ।
उज्यालो कमरेडका भनाई अन्तसँगै एक कुनामा बसेका अर्का सदस्य झसङ्ग भए । हो उज्यालो कमरेडले भनेको महान १० वर्षे जनयुद्ध जिन्दावाद । यतिकैमा उज्यालो कमरेडको मोवाइलमा रिङ्ग बज्यो । रिङ्ग थियो 'जनयुद्ध जिन्दावाद, जिन्दावाद... ।' उनले खुसखुस स्वरमा भने- 'अहिले हामी भावि विद्रोहको कुराका लागि व्यापक छलफलमा छौं । मैले पनि महान जनयुद्धका उपलब्धीलाई आत्मासात गरेर अब, जनगणतन्त्रका लागि तयार हुनुपर्छ । अन्य साथीहरुलाई पनि खुट्टा नकमाउनु होला आन्दोलनमा क्षति हुनसक्छ । हाम्रो कार्यभार यही हो भनेको छ । यति भए पुग्ला नि ।'
कमरेड जंगी बोल्दै थिए । उज्यालो कमरेडले त्यसलाई वास्तै गरेनन् । बैठकमा आफ्नो कुरा पनि राखे । फोनबाट बाहिर आफ्ना साथीहरुलाई निर्देशन पनि गरे । जंगीले भने आफ्नो कुरा धाराप्रवाह राख्दै गए । 'साथी हो । क्रान्तिका ती दिन सम्झेर अहिले व्याज खानु भन्दा पनि यर्थात धरातलमा जाऔं । हिजोका दिनमा हामीले भोगेको पींडा भन्दा पनि ती महान सहिद परिवारको पीडा । घाइतेहरुको बिचल्ली । माओवादीलाई माओवादी बनाउने ती शिविरमा बसेका जनमुक्ति सेनाका अवस्था । र, हामीलाई मत दिएर मुलुकको ठूलो पार्टी बनाउने महान जनता । अब, उनीहरूका लागि वास्तविक जनगणतन्त्र लिनु आवश्यक छ । यो विहारी गणतन्त्रमा रुमलिएर संसदीय खेलमा नजाऔं । अब, हामीले बरु एक्काइसौं शताब्दीको जनवादलाई कसरी संशलेषण गर्ने भन्ने विषय साथीहरूको मानसपतालबाट हराए जस्तौ छ ।
हामीले सत्तामा हुँदा सत्ताको मात्रै कुरा । क्रान्तिको कुरा गर्दा कुरामा मात्रै क्रान्ति भन्दा त्यो अन्तत : सारसंग्रवादी र अबसरवादी भइयो कि भइएन भनेर हेर्नु जरुरी छ । अहिले हामी सरकार बाहिर छौं । कमरेड लेनिनले भने जस्तै हामी अहिले 'एक कदम अगाडी, एक कदम पछाडी'को नीतिमा छौं । हामी लेनिवादी संगठनात्मक प्रक्रिया अंगालेको पार्टी । जनवादी केन्द्रीयतालाई कसरी आत्मसात गर्ने विषय पनि उत्तिकै छ । जनयुद्ध शब्दमा नहुादो रैछ । अन्ततः युद्ध आखिर युद्ध नै हो । तर, अहिले पार्टीको नीति शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने, नयाँ संविधान लेखन र सेना समायोजनको कुरा उत्तिकै जटिल बन्दै आएको छ ।
अन्य एकीकृत माओवादीले पनि जंगीको कुरा सुनेपछि मुखामुख गरे । अब, पालो आउने भो । त्यसैबीचमा उज्यालो कमरेड कोट हातमा राखेर जुरुक्क उठेर म अर्को मिटिङ्गमा गएा भने । बाहिर सुरक्षामा बसेको जनमुक्ति सेनाका लाल रक्षकहरुले भने दह्रो हात उठाएर लाल सलाम गरे । एउटा कमाण्डरले भने 'हो कमरेड, जुन महान जनयुद्धको कुरा बारम्बार उठाउनु भो । यसका लागि धन्यवाद । पार्टीको नीति यही हुनुपर्छ कमरेड हामी पनि भन्न तयार छौं । महान जनयुद्ध जिन्दावाद, जिन्दावाद......।'
प्रकाशित: १० असार २०६६ ०४:३८ बुधबार





